शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
माओवादी विशेष रुपान्तरण अभियान

त्यो माओवादी, यो माओवादी : पहिले राज्यसत्तासँग विद्रोह, अहिले जनतासँग हारगुहार !

शुक्रबार, १५ भदौ २०८०, २२ : ०२
शुक्रबार, १५ भदौ २०८०

काठमाडौं । २०५२ सालमा देश र जनताको अवस्था रूपान्तरण गर्न तत्कालीन राज्यसत्ताविरूद्ध सशस्त्र विद्रोह गरेको माओवादी २८ वर्षपछि आफैँ रूपान्तरणका लागि जनतामा जान लागेको छ ।

अशिक्षा, बेरोजगारी, विभेद, कुशासनको बेथितिले जकडिएको त्यति बेलाको सामाजिक व्यवस्था र राज्यव्यवस्थामाथि माओवादीको विद्रोह सुकेको खरबारीमा लागेको डढेलोजस्तै बन्यो ।

माओवादीको शक्तिको स्रोत ग्रामीण दुरदराजका बहिस्करणमा परेका जनता थिए । सिङ्गो माओवादी जनताकोबिच एकाकार भएकाले माओवादीमाथि त्यतिबेला जनताको विश्वास रहेको देखिन्छ ।

देशमा आमूल परिवर्तनसँगै जनवादी गणतन्त्र स्थापना गर्ने आश्वासन बाँडेको माओवादीले विद्रोह गरेको १० वर्षमै राज्यसत्ता कमजोर बनाउन सफल भयो । १९ जना केन्द्रीय सदस्यको सानो टिमले सुरूवात गरेको सशस्त्र विद्रोहले छोटो समयमै राज्यसत्तालाई घुँडा टेकाउला भन्ने विश्वास न तत्कालीन शासकलाई थियो, न त माओवादी नेतृत्व स्वयंलाई नै थियो ।

विकट जिल्ला रुकुम, रोल्पा, जाजरकोट, गोरखा जस्ता जिल्लामा खुम्चिएको माओवादी विशाल पार्टी बन्नुमा प्रचण्डको नेतृत्व क्षमता, मोहन वैद्यको विचार, बाबुरामको योजना, बादलका सैन्य कौशलता लगायत सिङ्गो टिमको लगाव र जनताको साथ थियो ।  जनशक्तिको जगमा जागेको माओवादी र तत्कालीन संसदवादी सात दलबिच २०६२ मा १२ बुँदे सहमति भयो । सोही जगमा उठेको २०६२÷६३ को जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढल्यो ।

सशस्त्र विद्रोहको दौरानमा १७ हजार नागरिकले ज्यान गुमाए । सयौँ बेपत्ता भए । हजारौँ अङ्गभङ्ग भए । भयानक युद्धपछिको शान्तिले नेपालको व्यवस्था परिवर्तनसहित आम नागरिकको अवस्था परिवर्तन हुनेमा विश्वास राखेका थिए ।

सायद काहालीलाग्दो युद्धको त्रास र माओवादीमाथि विश्वासको कारण हुनसक्छ २०६४ मा भएको संविधानसभा निर्वाचनमा माओवादीले प्रत्यक्षमा १२१ सिट (संयुक्त जनमोर्चा)सहित २३८ सिट जित्न सफल भयो । माओवादीले दाबी गरेकोजस्तै जनवादी गणतन्त्र स्थापना नभए पनि संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता जस्ता राष्ट्रिय मुद्दा स्थापित गराउन सफल भयो । यद्यपि सफल कार्यान्वयन हुन बाँकी छ ।

संविधानसभा निर्वाचनपछि माओवादीकै नेतृत्वमा शक्तिशाली सरकार बन्यो । प्रचण्ड गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री भए । विद्रोही नेता सरकार र विद्रोही सेनाका प्रमुख एकैपटक भएको संसारकै विरलै घटनामध्ये एक मानिन्छ ।

धक्का खाएपछि जनतासँग हारगुहार

तिनै माओवादी सत्ता राजनीतिमा आएको १६ वर्षमा ३२ सिटमा खुम्चिएको छ । कांग्रेस–एमालेको सहयोगबिना सरकार नै बनाउन नसक्ने अवस्थामा छ । त्यत्रो विशाल पार्टी छिन्नभिन्न भएको छ । विभिन्न प्रकरणमा नजोडिएको नेता भेट्न गाह्रो छ । सत्ता राजनीतिबाट सदाका लागि किनारामा पुग्ने र पार्टीको अस्तित्व नै समाप्त हुने खतरा देखिएपछि अहिले फेरि गुमेको शक्ति आर्जन गर्न माओवादीले जनतासँग हारगुहार गरिरहेको छ ।

संसदीय राजनीतिमा आएपछि आफूहरू बिग्रिएको, विगतमा कमजोरी गरेको, सत्तामा रहेर जनतालाई विगतमा गरेको बाचा पूरा गर्न नसकेको स्वीकार्दै माओवादी केन्द्रले शानिबारदेखि ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान थालेको छ ।

सानो पार्टीलाई विशाल बनाउने तिनै जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्ड अहिले देशको कार्यकारी भूमिका अर्थात् प्रधानमन्त्री छन् । पहिलो र दोस्रो कार्याकालमा जनपक्षीय काम गर्न नसकेका प्रचण्डले सरकार, संसद र सडक तीन वटै मोर्चाबाट पार्टीलाई पुनः जगाउने घोषणा गरेका छन् ।

आफूसहित सम्पूर्ण नेताहरूलाई वडा तहमा उतारेका छन् । जीवनको उत्तरार्द्धमा तेस्रोपटक प्रधानमन्त्री भएका उनी माओवादीलाई बलियो शक्ति बनाउने दाउमा देखिन्छन् । शनिबारदेखि हुने विशेष अभियान उनले ७५३ पालिकाको ६ हजार ७४३ वडामा एकसाथ जुममार्फत उद्घाटन गर्दैछन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा वडास्तरको उद्घाटन गरेपश्चात् प्रचण्ड आफैँ चन्द्रागिरि–२ स्थित घट्टेडाँडा पार्कमा खटिएका छन् ।

‘जनताकै बलमा हामी जनयुद्धमा बलियो भएका हौँ । जनदबाबको बलमा संघीय गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता जस्ता मुद्दा स्थापित भएको । अहिले फेरि व्यवस्थामाथि गम्भीर प्रहार भएको छ । यसको रक्षाका लागि माओवादी फेरि बलियो हुन जरुरी छ’, प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘हामी शक्ति आर्जनका लागि फेरि जनतामा विशेष अभियान लिएर गएका छौँ । यो मुखले मात्र भनेका होइनौँ । जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्छौं । जनताले हामीलाई अथाह शक्ति दिनुपर्छ । माओवादी नभए प्राप्त उपलब्धि नै खतरामा पर्छ ।’

प्रवक्ता सापकोटाले संकेत गरेजस्तै आशंका अध्यक्ष प्रचण्डको पनि छ । आफैँले ल्याएको व्यवस्थामा माओवादी आन्दोलन समाप्त हुने र व्यवस्था नै उल्टिन सक्ने भयले उनलाई खाएको देखिन्छ । त्यही भय शुक्रबार समाजवादी मोर्चाले पोखरामा गरेको कार्यक्रमा पुनः उनले दोहो¥याए ।

‘वामपन्थी र समाजवादी धार एक ठाउँमा आउन जरूरी छ । मोर्चा कुनै निर्वाचन जित्नका लागि बनेको होइन । वामपन्थीहरूलाई बलियो बनाउन गठन गरेको हो । समाजवादी शक्तिहरूबिच सहमति, सहकार्य र एकता नभए कम्युनिस्ट आन्दोलन धरापमा पर्ने देखिन्छ’, उनले भने ।

साउनको तेस्रो साता राजधानीमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा नीति र नेतृत्वको कमजोरीबारे नेताहरूले खुलेर बहस र छलफल गरे । नीति र नेतृत्व रुपान्तरण नभए पार्टी रूपान्तरण नहुने, पार्टी रुपान्तरण नभए देश रुपान्तरण नहुने निष्कर्ष बैठकले निकालेको थियो । २१८ जना केन्द्रीय सदस्यले प्रत्यक्ष राखेको अभिव्यक्ति र अन्य सदस्यहरूले बुझाएको लिखित धारणाको निष्कर्ष अनुसार माओवादी जनतामा जाने निर्णय भएको हो ।

अभियान लगत्तै विधान सम्मेलन गरी राजनैतिक, सांगठनिक अस्पष्टतालाई हल गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैवर्ष विशेष महाधिवेशन गरी सुस्पष्ट विचार, कार्यदिशा, कार्यक्रम बनाउने र आन्तरिक प्रतिस्पर्धाबाट चुस्त दुरूस्त संगठन निर्माण गर्ने माओवादी केन्द्रको दाबी छ ।

सत्ता र शक्तिको स्वार्थले खुम्चिएको माओवादी  

मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी रक्षात्मक अवस्थामा तेस्रो दल बन्यो । यो पटक तेस्रो स्थानमा अडिनकै लागि रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकै संघर्ष गर्नुपर्यो । कांग्रेससँग तालमेल गरी निर्वाचनमा होमिएको भए पनि गठबन्धनको सोझो फाइदा यो पटक कांग्रेसले लियो ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादीले १८ सिट जितेको छ । प्रदेशसभामा सातै प्रदेशबाट जम्मा ५३ सिट जितेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा १४ सिट जित्यो ।

अघिल्लो निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३८ र समानुपातिकतर्फ १७ सिट जितेको थियो । प्रदेशसभामा प्रत्यक्षतर्फ ७३ र समानुपातिकतर्फ ३५ सिट जित्न सफल भएको थियो ।

अघिल्लो निर्वाचनको तुलनामा माओवादीले यो पटक संघीय संसदमा १८ सिट र प्रदेश सभामा २० सिट गुमाएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ३ र प्रदेश सभामा ६ सिट गुमाएको छ । अघिल्लो निर्वाचनमा खसेको कुल सदर मतमध्ये १३.६६ प्रतिशत मत पाएकोमा यो पटक ११.१७ प्रतिशतमा खुम्चिएको छ ।

सत्ता राजीतिको १६ वर्षमै माओवादी यो अवस्थामा आइपुग्नुमा सत्ता स्वार्थ र शक्ति संघर्ष मुख्य देखिन्छ । माओवादीको अवस्थाबारे केही समय पहिले नेकपाका महासचिव विप्लवले भनेका थिए, ‘माओवादी पहिला जनतासँग नजिक थियो, राज्यसत्तासँग टाढा थियो । त्यसैले बलियो थियो । अहिले पुँजीवादी सत्तासँग नजिक छ तर जनतासँग टाढियो । त्यसैले  माओवादी कमजोर भयो । माओवादी सुतेको सुहाएन । फेरि जाग्नुपर्छ ।’

विप्लवले संकेत गरेजस्तै माओवादी केन्द्र सत्ता राजनीतिको वरिपरि घुम्न थाले । नेताहरू सत्ता स्वार्थ र शक्ति संघर्षमा ध्यान दिन थाले । पार्टी कमजोर हुँदै जाँदा नेताहरू देश र जनताको भन्दा पनि आफू र आफ्ना परिवारका सदस्यहरूको भविष्यको चिन्तामा बढी समय गुजारे । २०६३ बाट सत्ता आरोहण गरेको माओवादी २०६४, २०६७, २०७३, २०७४, २०७८ र अहिलेसम्म पनि सरकारमै छ । माओवादीबाट प्रचण्ड तीन पटक र बाबुराम एक पटक प्रधानमन्त्री भए ।

यो अवधिमा माओवादीबाट सयभन्दा बढी मन्त्री भइसकेका छन् । प्रदेश सभा र स्थानीय तहमा धेरैले अवसर पाए । संवैधानिक निकाय, कुटनीतिक नियोग लगायत राज्यका धेरै ठाउँमा राजनीतिक नियुत्तिी पाए तर देश र जनताको पक्षमा देखिने गरी परिवर्तन ल्याउन माओवादीले सकेन ।

विगतमा आफैँले बाँडेको आश्वासन पूरा गर्न नसक्दा माओवादी र नेताहरूमाथि विस्तारै जनतामा वितृष्णा जाग्न थाल्लो । पार्टीभित्र टोबहादुर–महरा प्रवृत्ति हाबी भएको देखिन्छ । पार्टी नेतृत्व विस्तारै परिवारवाद, सत्ता स्वार्थ र शक्ति संघर्षमा फस्यो । त्यसकै साइड इफेक्टको रूपमा अहिले माओवादी निकै कमजोर हुन पुगेको नेताहरू स्वयं स्वीकार्छन् ।

‘जनयुद्धमा माओवादीले जुन उचाइँ हासिल गरेको थियो, त्यो विचारमा स्पष्टता, सही कार्यादिशा, कार्यक्रम र नेतृत्व क्षमता थियो’, सचिव सुरेन्द्र कार्कीले भने, ‘शान्ति प्रक्रियामा आएपछि पार्टीको विचार भुत्तो भयो । नीति र नेतृत्वको कार्यक्षमतामाथि प्रश्न उठ्यो । हामी विस्तारै जनताबाट टाढिँदै गयौँ । पार्टी र सरकारले गरेका राम्रो कामसमेत प्रचार गर्न सकेनौँ ।’

उनका अनुसार परिस्थिति यस्तो आयो कि माओवादीले लडेर ल्याएको परिवर्तन विपक्षीले लाभ लिने र माओवादीलाई बदनाम गर्ने स्थितिमा आइपुग्यो । अब यी सबै भ्रम चिर्न पनि जनतामा जानुपर्ने उनको भनाइ छ ।

त्यस्तै पार्टीभित्र देखिएको गुटगट प्रभाव, शक्ति संघर्ष, अन्तर्घात र पटक पटक विभाजनले समेत माओवादीलाई कमजोर बनाउन मद्दत गरेको छ ।

फेरि जाग्छ त माओवादी ?  

माओवादी र उसको नेतृत्वले गरेको काम जनतामा लिएर गएमा आन्दोलन फेरि जाग्ने कार्कीको दाबी छ । माओवादी ल्याएको व्यवस्थामा माओवादीकै नेतृत्व नभएसम्म सुरक्षित नरहने जिकिर गर्दै उनले जनतालाई यी सबै परिस्थिति बुझाउन विशेष अभियान लिएर गएको बताए । तीन महिने अभियानपछि पार्टी रूपान्तरण हुने विश्वास उनको छ ।

‘शान्तिपूर्ण राजनीतिमा आएको १६ वर्षसम्म हामी सत्ता राजनीतिको वरिपरि घुमिरह्यौं । त्यसले हामीलाई क्षति पुर्याएको छ । माफी माग्दै जनतामा गएमा हामीलाई साथ दिन्छन् । यो माओवादीका लागि अन्तिम मौका हो’, कार्कीले भने ।

माओवादीमा पछिल्लो समय चर्चामा आएका युवा नेता लेखनाथ दाहाल, माधव सापकोटा, सरल सहयात्री पौडेल लगायत नेताहरूले पनि तीन महिने अभियानपछि पार्टी रूपान्तरण हुने विश्वास लिएका छन् । पार्टी रुपान्तरणको आधार आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व छान्ने, जनताको बिचमा गएर काम गर्ने, पार्टी र सरकारले गरेको राम्रा कामको प्रचार गर्ने र जनयुद्धको स्वामित्व लिँदै नेताहरूले उच्च नैतिकता कायम राखेको खण्डमा माओवादी फेरि उठ्ने उनीहरूको दाबी छ ।  

यस्तो छ माओवादीको आरोलो यात्राको ग्राफ

पार्टीबाट वैद्य समूह अलग भएपश्चात भएको २०७० दोस्रो संविधानसभा निर्वाचनमा माओवादीलाई ठूलो धक्का लाग्यो । वैद्य समूहले निर्वाचन नै बहिस्कार गरी माओवादीलाई हराउन भूमिका खेल्यो । विभाजनकाबिच माओवादी प्रत्यक्षतर्फ २६ सिटमा खुम्चियो । समानुपातिकतर्फ ५४ सिट जित्यो । कुल खसेको सदर मतमध्ये उसले १५.२१ अर्थात् १४ लाख ३९ हजार ७२६ मत पायो ।

चार वर्षको बिचमा माओवादीले १७ लाख ४ हजार ४७८ मत गुमायो । राजनीतिक खिचातानीका बिच २०७२ साल असोज ३ गते संघीय गणतन्त्रको नयाँ संविधान जारी भयो । संविधान कार्यान्वयन गर्नका लागि २०७४ साल मंसिरमा पहिलो आम निर्वाचन भयो । एमाले र माओवादीबिच तालमेल गरी उम्मेदवारी दिइएको थियो ।

२७५ प्रतिनिधिसभा सदस्यमध्ये माओवादीले प्रत्यक्षतर्फ ३६ र समानुपतिकतर्फ १७ गरी जम्मा ५३ सिट जित्यो । माओवादीले कुल खसेको सदर मतमध्ये १३.६६ प्रतिशत अर्थात् १३ लाख ३ हजार ७२१ मत पायो । यो बिचमा एमाले र माओवादीबिच पार्टी एकता भए पनि लामो समय टिकेन ।

२०७९ को निर्वाचनमा ओलीविरुद्ध प्रचण्ड, माधव, शेरबहादुर देउवाले गठबन्धन बनाए । भद्रगोल संगठन, नेताहरूको गुटगत स्वार्थ र निर्वाचनमा एकलाई अर्कोले हराउन गरेको अन्तर्घातका कारण माओवादी सानो आकारमा खुम्चियो । प्रतिनिधिसभामा समानुपातिकतर्फ माओवादीले ११.१७ प्रतिशत अर्थात् ११ लाख ७५ हजार ६८४ मत प्राप्त गर्यो ।

के छ अभियानको लक्ष्य ?

यसरी प्रत्येक निर्वाचनमा माओवादीको जनमत खुम्चिदै गएको अवस्थामा मिसन २०८४ लाई लक्ष्ति गरी पार्टी रुपान्तरण अभियान चलाएकोमा नेता तथा कार्यकर्ताहरू उत्साहित देखिन्छन् । पार्टी रुपान्तरण हुनेमा उनीहरू आशावादी देखिन्छन् ।

कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने अभियानको लक्ष्य छ । सदस्यता नवीकरण र संगठन विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने दाबी गरिएको छ ।

आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरुले कम्तीमा १÷१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने, संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिस बमोजिम ७ वटै प्रदेशमा एक÷एक वटा आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने अभियानको कार्यक्रम छ ।

अभियान अवधिभर केन्द्रीय पदाधिकारीहरु, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुलाई माओवादी केन्द्रले वडास्तरमा उतारेको छ । पार्टी केन्द्रीय सदस्य÷आयोग सदस्य÷सल्लाहकार सदस्यहरुको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस/मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारीहरु सम्मिलित वडा केन्द्रित अभियान टिम बनाएको छ ।

अभियानभर जनतासँग बसेर सम्बन्धित स्थानमा जनताले भोगेका समस्या सुन्ने, काम गर्ने, उनीहरूसँग बस्ने जिम्मेवारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप