आज मिति २०८० साल भदौ महिनाको १४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–
जनैपूर्णिमा मनाइयो
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । आजै गाइजात्रा पनि मनाइएको छ।
सुन तस्करी प्रकरण
हङकङबाट तस्करी गरेर ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करी अनुसन्धान गर्न प्रहरीले पुरै शक्ति लगाएको छ । अनुसन्धानमा काविल मानिने प्रहरी अधिकारीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ मा झिकाइएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले कमाण्ड गरेको अनुसन्धान टिमलाई प्रहरी अधिकृतहरु अहिले सम्मकै ‘उत्कृष्ट’ टिम भन्छन् । अनुसन्धानमा सिआईबीका डिआईजी यज्ञविनोद पोखरेल र विशेष ब्यूरोका डिआईजी रामदत्त जोशी छन् । अनुसन्धान टोलीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ३ जना छन् ।
माओवादीको विशेष अभियान
नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान चन्द्रागिरि–२ घट्टेडाँडा पार्कबाट गर्ने भएपछि व्यवस्थापनको तयारीमा नेताहरू जुटेका छन् ।
शनिवार प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष प्रशारणकाबीच अभियान सुरु भएको घोषणा गर्नेछन् ।
राप्रपाको पार्टी कार्यालय जोगियो
उच्च अदालत पाटनले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश सुभाष पौडेल र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन भत्काउने कार्य नगर्न नगराउन काठमाडौँ महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
बालेनको चीन भ्रमण रद्द
हालै चीनले प्रकाशन गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएर चीनले आफ्नो देशको नक्सा प्रकाशन गरेपछि काठमाडौँ महानगर प्रमुख बालेनले ५ दिने चीन भ्रमण रद्ध गरेका छन् ।
समितिको तयारी
प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न संसदीय समितिहरूले आफ्नो कार्यक्षेत्रभित्र रहेका निकायसँग ब्रिफिङ लिने तयारी थालेका छन् । भदौ ११ गते संसदीय समितिले सभापति पाएसँगै समितिहरूले आफ्नो कार्यक्षेत्रका निकायहरूलाई समितिमा बोलाएर भइरहेका काम कारबाहीबारे जानकारी दिन लागेका हुन् ।
यो पनि....
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको सैनिक अस्पताल छाउनीमा प्रोस्टेटको शल्यक्रिया भएको छ । उनी बुधबार सोही अस्पताल भर्ना भएकामा सफलतापूर्वक प्रोस्टेटको शल्यक्रिया भएको हो ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको बताएका छन् ।
वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने पनि बताएका हुन् । यसमा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ । मार्क पोकनको नेतृत्वमा आएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विकसित पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने स्थायी कमिटी सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।
समाजवादी मोर्चाको कर्णाली प्रदेश कमिटी घोषणा भएको छ । प्रदेशस्तरीय समाजवादी मोर्चामा विमला केसी, कृष्ण जिसी, अमरबहादुर थापा लगायतका नेताहरु रहेका छन् ।
भदौ दोस्रो साता पुनः सुनको मूल्य १ लाख १२ हजार माथि उक्लिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
थप समाचार
प्रतिक्रिया