गाईजात्रा र जनैपूर्णिमाबारे उपप्राध्यापक र विद्यार्थीका धारणा
नेपाल कृषिप्रधान मुलुक हो । प्रायः खेतीपातीको काम सकेर फुर्सदको समयमा चाडपर्व तथा जात्रा मनाइन्छ ।
पूर्वजले बनाएका कतिपय चलन वैज्ञानिक र तर्कपूर्ण छन् । केही पुराना परम्पराले समाजलाई खोक्रो बनाए पनि केहीले समाजमा मेलमिलाप, एकता, सद्भाव र सदाचार कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यस्तै चाडपर्वमध्ये जनैपूर्णिमा वा रक्षाबन्धन पनि हो ।
क्षत्री, बाहुन समुदायका पुरुष सदस्यले यसै दिन जनै फेर्ने हुनाले यसलाई जनैपूर्णिमा भनिन्छ, साथै यस दिन ब्राह्मणद्वारा हातमा पवित्र डोरो बाँध्ने गरिन्छ ।
यस पवित्र डोरोले रोग, भय इत्यादिबाट रक्षा गर्छ भन्ने जनविश्वास छ । जनैपूर्णिमाकै दिन विभिन्न गेडागुडी मिसाएर बनाएको ‘क्वाटी’ खाइन्छ । नेपाल भाषामा ‘क्वा’को अर्थ तातो र ‘टी’को अर्थ झोल भन्ने हुन्छ । त्यसैले कसै–कसैले यसलाई क्वाटी पूर्णिमा पनि भन्छन् ।
क्वाटी नौ प्रकारका गेडागुडी मिलाएर तयार पारिन्छ । यो एक स्वस्थकर खानाको रूपमा परिचित छ । यसमा शरीरलाई अत्यावश्यक विभिन्न प्रकारका तत्त्व प्रशस्त मात्रामा पाइन्छ । असारको पानीमा भिजेर काम गर्दाको थकाइ र सर्दीलाई क्वाटीले ठीक पार्छ भनी बुढापाका बताउँछन् । क्वाटीले रुघाखोकीबाट पनि बचाउँछ ।
ख्वप कलेजमा समाजशास्त्र विषय लिई स्नातक चौथो दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग मैले सोधेकी थिएँ, गाईजात्रा र जनैपूर्णिमाबारे तिमीहरूको धारणा के छ ? प्रस्तुत छ, उनीहरूले लिखित रुपमा पठाएको जवाफ ः
‘मानिसमा मेलमिलाप र सद्भाव जगाउँछ’
आस्था कार्की, समाजशास्त्र चौथो वर्ष
जनैपूर्णिमा एक पवित्र पर्व हो । यसै अवसरमा विशेषगरी जनै लगाउने समुदायका मानिसले जनै फेर्ने गर्छन् । यस पवित्र सूत्रले मानिसलाई विभिन्न रोगबाट बचाउने विश्वास गरिन्छ । मानिसलाई शारीरिक र मानसिक रूपमा पनि स्वस्थ राख्ने कुरामा धेरै मानिस विश्वस्त रहेको पाइन्छ ।
जनैपूर्णिमाका दिन गुरु–पुरोहितद्वारा मन्त्रजप गरी तयार पारेको पवित्र सूत्र जनैलाई विशेष गरी बाहुन, क्षेत्रीका साथै अन्य जनै धारण गर्नेहरूले लगाउने गर्छन् । यसै अवसरमा देशका विभिन्न तीर्थस्थलमा मेला पनि लाग्ने गर्छ । यस्ता मेलापर्व तथा नयाँ–नयाँ ठाउँको यात्राले शरीरमा स्फूर्ति र जाँगर पनि जगाउने गर्छ । सामाजिक र वैज्ञानिक महत्त्व बोकेका यस्ता पर्वले मानिसमा मेलमिलाप र सद्भावको भावना जगाउने गर्छ ।
‘परिवार, समुदायमा एकता कायम गर्छ’
ममता बुढाथोकी, समाजशास्त्र चौथो वर्ष
नेपाल विभिन्न जातजातिको साझा फूलबारी हो । सबैको आ–आफ्नै वेशभूषा रहनसहन, बोलीचाली चाडपर्व छन् । एउटै पर्वलाई पनि विभिन्न ठाउँमा विभिन्न नामले मनाउने चलन प्राचीनकालदेखि रहेको पाइन्छ ।
जनै पूर्णिमामा कतिपयले रक्षाबन्धन पर्वको रूपमा हातमा डोरो लगाउँछन्, जनै लगाउने समुदायले नयाँ जनै फेर्छन् । यस्तै तराईतिर दिदीबहिनीले दाजुभाइलाई राखी बाँधी दिने गर्छन्, यो परम्परा अन्य समुदायमा फैलँदो देखिन्छ । यस दिन स्वस्थकर परिकार क्वाटी समेत खाइन्छ । यसरी आ–आफ्नो संस्कार अनुसार यो पर्व मनाएको देखिन्छ ।
यस्ता पर्वले परिवार, समुदायमा एकता र मेलमिलाप कायम गर्छ भने विभिन्न किसिमका सामाजिक समस्याको न्यूनीकरण गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । मानिसको जन्म र मृत्युबीचको समयलाई सही र सकारात्मक रूपमा बिताउन यस्ता चाडपर्वले मार्गनिर्देशन गर्दछ ।
‘जनैपूर्णिमाले सबैमा सकारात्मक प्रभाव पारेको महसुस हुन्छ’
सन्दीप खड्का, समाजशास्त्र चौथो वर्ष
जनै पूर्णिमालाई धार्मिक तथा सांस्कृतिक पर्वको रूपमा मनाइन्छ । मानिस जति नै पढे–लेखे पनि आफ्नो धर्म–संस्कारलाई भुल्न सक्दैन । हाम्रा चाडपर्व तथा संस्कृतिका सकारात्मक कुरालाई हामीले अँगाल्दै जानुपर्छ भने नकारात्मक कुरालाई त्याग्दै जानुपर्छ ।
जनैपूर्णिमा पर्वले सबैमा सकारात्मक प्रभाव पारेको महसुस हुन्छ । भर्खर खेतीपातीको काम सकिएको अवस्थामा मनाउने यो पर्वले सहअस्तित्व पनि जगाएको हुन्छ । यस्तै, गाईजात्राले सबैमा मनोरञ्जन प्रदान गर्छ ।
‘गाईजात्रा पर्वले मृतकको सम्झना गराउनुको साथै व्यवस्थाप्रति व्यंग्य गर्छ’
सुनिता मगजू, समाजशास्त्र चौथो वर्ष
गाईजात्रा पर्वले मरेका मानिसको सम्झना गराउनुको साथै वर्तमान राजनीति र व्यवस्थाप्रति तिखो व्यंग्य गर्छ, जसले गर्दा सामान्य मानिसले पनि आफ्नो देशकाल राजनीतिका बारेमा बुझ्ने मौका पाउने गर्छ ।
गाईजात्रामा एकातिर मनोरञ्जन त अर्कोतिर राजनीतिक प्रशिक्षण पनि एकै समयमा भएको अनुभव हुन्छ । यस्ता पर्वले मानिसमा देशको अवस्थाप्रति चिन्तन गर्ने भावनाको विकास गराउँछ भन्ने लाग्छ । जहिले समाचारमा सुनेको वा पत्रिकामा पढेको भन्दा आँखाले देखेका कुरा हाम्रो मनमा धेरै समय रहने गर्छन्, त्यसैले यस्ता चाडपर्व आवश्यक रहेको मान्छु ।
‘अमूल्य छन् हाम्रा संस्कृति र चाडपर्व’
सरस्वती घलान, समाजशास्त्र दोस्रो वर्ष
गाईजात्रा पर्व विशेष गरी नेवार समुदायमा मनाइन्छ । यस पर्वमा मृतक आफन्तको सम्झनास्वरूप बाँसको वा कसै कसैले माटोको गाई स्वरूप बनाई नगर परिक्रमा गर्ने गरिन्छ । यसको मुख्य आकर्षण घिन्ताङघिसि बाजा हो । यस जात्राले जीवनलाई निराशाको भुमरीबाट केही समय भए पनि आशा, खुसी र सन्तोष प्रदान गर्दछ ।
समाजमा भइरहेका विकृति–विसंगतिमाथि तिखो व्यंग्य प्रहार गर्ने काम पनि यसै जात्राले गर्दछ । जसले गर्दा गलत आचरण भएका मानिसलाई सही बाटोमा ल्याउन वा सचेत गर्न पनि यस्ता पर्वले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । आजकलका पढे–लेखेका मानिसले यस्ता संस्कृतिको बेवास्ता गर्ने परम्परा पनि केही देखिन थालेको छ । यसबाट हाम्रो जात्रापर्वलाई बचाउनुपर्छ । यसमा युवा वर्गको विशेष भूमिका रहने गर्दछ । समाजमा शान्ति र अमनचयन पनि यस्ता पर्वले कायम गर्दै आएकामा दुई मत छैन ।
वास्तवमै हाम्रा धर्म–संस्कृति र चाडपर्व अमूल्य छन् । यिनीहरूको जगेर्ना र प्रवद्र्धन गर्न आवश्यक छ । यस्ता चाडपर्व मानिसमा मेलमिलाप, सद्भावको भावना बढाई देशको समग्र विकासमा टेवा पु¥याउने गर्दछ ।
९लेखक गाइसी भक्तपुरको ख्वप कलेजमा समाजशास्त्र विषयको उपप्राध्यापक छन् ।०