‘ऐँचो पैँचो’को प्रिमिएरमा को– को पुगे ?
काठमाडौँ । कृषा चौलागाईको डेव्यु निर्देशन रहेको फिल्म ‘ऐँचो पैँचो’ को बुधबार भव्य प्रिमियर भएको छ । काठमाडौँमा आयोजित प्रिमिएरमा चलचित्रकर्मी, रंगपत्रकारको अलवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस नेता प्रदीप पौडेल, एमाले नेता महेश बस्नेत, सांसद ज्ञानेन्द्र शाही, सोभिता गौतमलगायतको उपस्थिति थियो ।
प्रिमियरमा सहभागी अधिकांशले फिल्म तथा अभिनेत्री वर्षा राउत र स्वस्तिमा खड्काको अभिनयको प्रसंसा गरे । अभिनेता सुशील सिटौलाको अभिनय समेत धेरैले राम्रो भएको बताए ।
निर्देशक शोभित बस्नेतले ‘ऐँचो पैँचो’को कथावस्तुले नेतालाई दुखी र आफ्नो पीडा देखाएकोमा कार्यकर्तालाई खुसी बनाउने बताए । सबै राजनीतिकर्मीले फिल्म हेर्नेपर्ने उनको धारणा रहेको थियो ।
त्यस्तै, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्म रहेको राजनीतिले समाजमा पारेको प्रभावलाई सशक्त ढङ्गले प्रस्तुत गरिएको बताइन् ।
नेकपा एसका नेता तथा सांसद् प्रेम आलेले फिल्मले मन छोएको बताए । सांसद सोभिता गौतमले फिल्मले समाजको राम्रो ऐना प्रस्तुत गरेको तर्क गरिन् । अर्का सांसद् ज्ञानेन्द्र शाहीले फिल्मले अहिलेको नेपालको यथार्थ पक्ष देखाएको बताए ।
स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी आदिको अभिनय रहेको फिल्म आज बिहीबारबाट देशभर प्रदर्शनमा आएको छ । पूर्वी नेपालमा रमणीय स्थानमा खिचिएको फिल्म केपी फिल्मको ब्यानरमा निर्माण भएको हो ।