शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
माओवादीको विशेष रुपान्तरण अभियान

जनयुद्धको केन्द्र कर्णालीमा जनाधार गुमाइरहेको माओवादी !

तीन महिने अभियानले रुपान्तरणको झिनो आशा
बिहीबार, १४ भदौ २०८०, ११ : १२
बिहीबार, १४ भदौ २०८०

सुर्खेत । यतिबेला नेकपा माओवादी केन्द्र ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सहित गाउँ फर्क अभियानमा सक्रिय छ । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारा बनाई तीन महिने अभियानमा सक्रिय हुन नेताहरु गाउँ केन्द्रित बनेका छन् ।

माओवादीले आफ्नो आधार इलाका मान्दै आएको कर्णालीमा अभियानको चहल–पहल ज्यादै देखिन थालेको छ । भदौ २ र ३ गते राजधानी वीरेन्द्रनगरमा तयारी स्वरुप पार्टी निर्माणको उच्चस्तरको बहस गरिएको थियो । त्यस पश्चात् कार्य जिम्मेवारी तोकिएका नेता जिल्लामा पुगिसकेका छन् ।

हरेक जिल्लामा फरक जिल्लाको नेतालाई कमाण्डर तोकिएको छ भने ७९ वटै पालिकामा फरक–फरक जिल्लाबाट इञ्चार्ज तोकिएको छ । वडा–वडामा पनि नेता, कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँट गरिएको प्रदेश इञ्चार्ज मातृका यादवले रातोपाटीलाई जानकारी दिए ।

जिल्लादेखि पालिका इञ्चार्जहरुले कार्य क्षेत्रमा पुगेर पार्टीका गतिविधि अघि बढाइसकेका छन् । केन्द्रीय सदस्यको कार्य विभाजन अनुसार सुर्खेतका झकबहादुर मल्ल (सुदीप) लाई हुम्ला जिल्लाको कमाण्ड इञ्चार्ज दिइएको छ । जुम्लाकी गोमा गौतमलाई मुगु, हुम्लाका छिमी लामालाई जुम्ला, सल्यानका टेकबहादुर बस्नेतलाई कालिकोट र रुकुम पश्चिमका गोपाल शर्मालाई दैलेखको जिम्मेवारी दिइएको छ ।

यस्तै, रुकुमपश्चिमका बसन्त शर्मालाई जाजरकोट, जुम्लाका नरेश भण्डारीलाई सल्यान, रुकुमपश्चिममा गगन खड्का र सुर्खेतका नरबहादुर विष्ट डोल्पाको कमाण्ड गर्ने गरी खटिएका छन् । कालिकोटका महेन्द्रबहादुर शाहीलाई सुर्खेतको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यको रुपमा पूर्व मन्त्री विन्दमान विष्टलाई सुर्खेतमै राखिएको छ ।

१० जिल्लामध्ये माओवादी केन्द्र सबैभन्दा कमजोर दैलेख र सुर्खेतमा छ । प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा नेताहरु धेरै भए पनि सांगठनिक र वैचारिक रुपमा पार्टी निकै कमजोर छ । पार्टीभित्र प्रभावशाली नेताको छवि बनाएका पूर्व मुख्यमन्त्री शाहीलाई सुर्खेतको जिम्मेवारी दिइसकेपछि जिल्लाको सांगठनिक अवस्थामा धेरै सुधार आउने अपेक्षा पार्टीले गरेको देखिन्छ ।

यद्यपि राजधानीसमेत रहेको वीरेन्द्रनगरको कमाण्डमा पार्टीले प्रतिनिधि छनोटमा कमजोरी गरेको स्थानीय नेताहरु बताउँछन् । वीरेन्द्रनगरको इञ्चार्जको रुपमा रुकुम पश्चिमका महेन्द्र केसी छन् । प्रदेशसभा सदस्यसमेत रहेका उनी पार्टीभित्र खासै परिचित नाम होइन । ‘चुनावमा एउटा पनि वडाको नेतृत्व नपाएको राजधानीको नगरमा पार्टीले बलियो नेतृत्व दिनुपर्थ्यो तर, केही कमजोरी गरेको देखिन्छ,’ वीरेन्द्रनगर कमिटीका एक नेताले भने, ‘सबैले प्रतिष्ठाको विषय बनाउने वीरेन्द्रनगरमा पार्टीलाई उचाइँ दिनुपर्छ । त्यसका लागि सांगठनिक रुपमा चिनिएकोे र सबैलाई मिलाउन सक्ने नेतालाई जिम्मेवारी दिनुपर्थ्यो ।’

सांगठनिक अवस्था कमजोर रहेको दैलेखमा रुकुमका गोपाल शर्माले कमाण्ड गरेका छन् । उनको कमाण्डमा दैलेखमा पार्टी संगठनको वर्तमान अवस्थामा रुपान्तरण आउनेमा जिल्लाका स्थानीय नेता, कार्यकर्ताहरु आशावादी छन् । शर्मा केही दिनअघि नै जिल्लामा पुगेर पार्टीका गतिविधि चलाइरहेका छन् । पछिल्लो समय दैलेखमा माओवादीको सांगठनिक अवस्थामा बदलाव आएको छ । ०७९ मंसिरमा भएको चुनावपछि माओवादीतर्फ संगठित हुनेको संख्या बढेको जिल्ला पार्टी कमिटीले जानकारी दिएको छ ।

बौद्धिक छवि बनाएका एमाले नेता योगेन्द्र शाही माओवादीमा लागेसँगै एमालेका कार्यकर्ताहरु माओवादीमा जोडिन थालेका छन् । हुम्लामा झकबहादुर मल्लले पार्टीका गतिविधि अघि बढिरहेको जानकारी दिए । त्यहाँ डा. दीपेन्द्र रोकायाजस्ता बौद्धिक नेताहरु प्रत्यक्ष रुपमा फिल्डमा खटिएको अवस्था छ ।

तीन महिने अभियानको क्रममा पार्टी सदस्यता नवीकरण र विस्तारको काम व्यापक रुपमा अगाडि बढाइने प्रदेश इञ्चार्ज मातृका यादवले बताए । अहिले कर्णालीमा माओवादीको शक्ति कति हो भन्ने कुराको लेखाजोखा छैन । अभियानको क्रममा माओवादीले आफ्नो शक्ति सन्तुलनको अवस्थालाई पनि लेखाजोखा गर्ने भएको छ ।

‘आधार क्षेत्रमा निरन्तर जनाधार गुमाइरहेको माओवादी’

जनयुद्धकालदेखि नै माओवादीको आधार इलाकाका रुपमा चिनिएको कर्णालीमा सांगठनिक रुपमा माओवादीको ‘पोजिसन’ तेस्रो स्थानमा छ । विशेषगरी रुकुमपश्चिम, कालिकोट लगायतका केही जिल्लाबाहेक माओवादीको अवस्था खस्किँदै गइरहेको छ ।

हुम्लामा अभियान चलाउँदै नेताहरु

संघीयतापछि भएका स्थानीय, प्रदेश र राष्ट्रिय चुनावको अवस्थालाई हेर्ने हो भने हरेक चुनावमा माओवादीले जनाधार गुमाइरहेको छ । ०७९ को प्रदेशसभा चुनावमा माओवादीले ०७४ कै सिट (९) सुरक्षित राख्यो, त्यो पनि गठबन्धनको सहयोगमा । ०७४ मा एमालेसँगको सहयोगमा चुनावमा सहभागी बनेको माओवादी ०७९ मा कांग्रेस, नेकपा एकीकृत समाजवादीसँगको अपुरो सहकार्यमा चुनावमा भाग लियो ।

०७४ को राष्ट्रिय चुनावमा नेकपा एमालेसँग वाम एकता गर्दा १२ वटा प्रतिनिधिसभा क्षेत्रमध्ये ५ सिटमा माओवादी केन्द्र सीमित रह्यो । जबकि एमालेले ६ वटा सिटमा आफ्नो वर्चश्व कायम ग¥यो । ०७९ मा १ सिट गुमाएर ४ सिटमा सीमित बन्यो ।

०७९ गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादीले नै घाटा व्यहोर्नुप¥यो । माओवादीको पोजिसन स्थिर रहे पनि ०७४ मा जितेका दुई वटा पालिका गुमायो । ०७४ कोे स्थानीय चुनावमा एमालेले ३८, माओवादीले ३२ र कांग्रेसले तेस्रो नम्बरमा २७ प्रतिशत जनमत पाएको थियो । तर ०७९ मा कांग्रेस, एकीकृत समाजवादीसँग अपुरो तालमेल गरेको माओवादी २३ पालिकामा सीमित हुन् पुग्यो । कर्णालीमा माओवादीको अवस्था कमजोर बन्दै गइरहेको माओवादीका नेताहरुको निष्कर्ष छ ।

माओवादीको आधार इलाका मै हरेक निर्वाचनमा सिट गुमाउँदै जाँदा कर्णालीका माओवादीको साख गुम्दै जाने खतरा बढेको निष्कर्ष ०७९ भदौमा तीन दिनसम्म चलेको बहृत प्रशिक्षण बैठकले नै निकालेको थियो । त्यसो हुनका पछाडि माओवादीभित्र चरम गुटबन्दी, प्रदेश सरकारको नेतृत्वमा गुटबन्दीका आधारमा मन्त्री बनाउने होडबाजी लगायत यावत् कारण छन् । माओवादी कर्णालीमा पहिलो दल नबने पनि पार्टी केन्द्रको पहलमा निरन्तर नेतृत्वमा छ ।

प्रदेशको नेतृत्वमा माओवादी हुने तर, जनताको मन जित्न नसकेको, सत्ता र पार्टीको भेट नहुने, जनताको मनोभावलाई सम्बोधन गर्न नसकेको निष्कर्ष यसअघिको विस्तारित बैठकले निकालेको छ । जसले गर्दा माओवादीप्रति वितृष्णा बढ्दै गइरहेको आम नेता, कार्यकर्ताको बुझाइ छ ।

रुपान्तरणको झिनो आशा !

हरेक हिसाबले पछि परेको कर्णालीका नागरिकले माओवादी जनयुद्धका क्रममा परिवर्तनका लागि बन्दुक मात्र उठाएनन्, १० वर्षे जनयुद्धलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । कर्णालीका नागरिकले ५० को दशकसम्म पनि काठमाडौँसम्म सम्पर्क सहज बनाउन सक्दैनथे । बहुदलप्रति असन्तोषको भावना बढ्यो र राज्यले पनि दमन थालेपछि माओवादीले जनयुद्ध सुरु ग¥यो । कर्णालीका नागरिकले सहजतापुर्वक युद्धमा भाग लिए र युद्धलाई सफल तुल्याए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदीप’ का विचारमा त्यो बेला कर्णाली जनयुद्धको तुफानी केन्द्र थियो । युद्धका क्रममा हजारौँ बहादुर योद्धा कर्णालीले गुमाएको मल्ल स्मरण गर्छन् । उनी भन्छन्, ‘पछाडि पारिएका वर्ग र समुदायका लागि हामीले क्रान्ति गरेका थियौँ, अझ कर्णाली तुफानी केन्द्र थियो । किनकि कर्णालीका जनता थुप्रै खालका कुप्रथा, वर्गीय विभेदको दुष्चक्रमा बाँचिरहेका थिए, त्यसैको मुक्तिका लागि हामीले संघर्ष गरेका हौँ ।’

यद्यपि शान्ति प्रक्रियापछि माओवादीले आफ्ना एजेण्डा भुल्यो, जनताका आशा निराशामा परिणत भए । युद्धमा घाइते, अपाङ्ग भएकाहरुका मागहरु सम्बोधन हुन सकेनन् । नेताहरु सहर केन्द्रित भए तर, जनयुद्धमा भूमिका निर्वाह गरेका कर्णालीवासीको अवस्था उस्तै रह्यो ।

माओवादीप्रति जनताको विश्वास गुम्दै गयो । अहिले माओवादीले थालेको विशेष रुपान्तरण अभियानले जनतामा गुमाएको विश्वास केही रुपमा फर्काउने विश्वास माओवादीका नेताहरुको छ ।

अहिले इञ्चार्ज भएर कर्णालीमा आएका नेता मातृका यादव भन्छन्, ‘अन्तभन्दा कर्णालीमा माओवादीको अवस्था ठिकै छ । रुपान्तरण अभियानले केही रुपान्तरणको आशा बटुल्ने छ ।’ उनका अनुसार माओवादीहरु अहिले बिग्रिएको अवस्था छ । जनताबाट माओवादीहरु टाढा भएको ठम्याई उनको छ । ‘नेताहरु कार्यकर्ताबाट टाढा भए, कार्यकर्ता नेताबाट,’ उनी भन्छन्, ‘यो अभियानले यी समस्या र ल्याकिङलाई हल गर्छ भन्ने विश्वास हाम्रो छ ।’

अभियानको उद्घाटन १६ भदौमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप