६० किलो सुनको अनुसन्धान गर्न सीआईबीको अधिकृतलाई भारत पठाइँदै
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले एकजना अधिकृतलाई भारतमा पठाउने भएको छ । सूचना संकलनका लागी एकजना अधिकृतलाई भारत पठाउने तयारी भइरहेको केन्द्र्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । ब्यूरो स्रोतकाअनुसार बिहिबार नै अनुसन्धान अधिकृतलाई भारत पठाउने तयारी छ ।
हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि भारतमा पठाउन लागिएको हो । भारतमा गएर ती अधिकृतले नयाँ ‘इन्टरपोल भारत’ सँग समन्वय गरेर सूचना संकलन गर्नेछन् ।
दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीलाई पनि सुन प्रकरणको अनुसन्धान टिममा सामेल गरिएको छ । चतुर्वेदीले भारतबाटै अनुसन्धानमा सघाइरहेको ब्यूरोका अधिकारीहरु बताउँछन् ।
चतुर्वेदीसँग समन्वय गरेर ब्यूरोले सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ । बुधवार बस्नेतलाई काठमाडौँ ल्याइएको हो । सीआईबीले सूचना संकलनका लागि प्रहरी बरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको छ । साउन १२ मा राति उनी हङकङ प्रस्थान गरेका हुन् ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् । हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।
अनुसन्धानका लागी इन्टरपोलको सहयोग माग्दै सीआईबीले प्रहरी प्रधान कार्यालयमार्फत यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । बरामद सुन ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर काठमाडौँमा ल्याएको थियो । नेपालमा ल्याएपछि सुनलाई गालेर गिरोहले भारत पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशी मन्त्रिपरिषद्बाट १३ वटा निर्णय
-
मिसिङ : केटी हराएको सूचना’को आज प्रिमियर, तस्बिरहरू
-
पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा