बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय
सन्दर्भ : जनै पूर्णिमा

जनै किन र कसरी लगाउने ?

बिहीबार, १४ भदौ २०८०, ०९ : १४
बिहीबार, १४ भदौ २०८०

रक्षाबन्धन अर्थात् ऋषितर्पणी हिन्दु तागाधारीहरूको धार्मिक तथा सांस्कृतिक पर्व हो । यो पर्व श्रावण शुक्ल पूर्णिमाका दिन पर्छ । यस दिन नयाँ यज्ञोपवित तथा रक्षासूत्र धारण गरी धुमधामका साथ मनाइन्छ । नेपालमा यो वर्ष भाद्र १४ गते बिहिबार (अगस्ट ३१, २०२३) का दिन परेको छ । नेपाली जनजिब्रोले यसलाई जनैपूर्णिमा भन्ने गरिन्छ । यसमा तीन पक्ष रहेका पाइन्छ । ती हुन्– यज्ञोपवित एवं ऋषितर्पणी, रक्षाबन्धन (धागो बाँध्ने) र राखी बाँध्ने । 

वैदिक सनातन धर्म मान्ने तागाधारीहरूले यसको अघिल्लो दिनदेखि नै चोखोनितो गरी एकछाक खाने, त्यस बिहानै अपामार्ग (दतिवन) लगाउने, गाईको गोबर तथा चोखो स्थानको माटो वा कुशपानीले स्नान गर्दछन् । प्रातः सन्ध्योपासना आदि गर्दछन् । यसपछि व्यक्तिगत वा सामूहिक रूपमा नयाँ जनै, नयाँ रक्षाबन्धन राखेर तल दिएका मन्त्रोच्चारण गरी अरुन्धतीसहित सप्तर्षिहरूको स्तुति गरिन्छ ।

अरुन्धति सहित सप्तर्षिको स्तुति : ॐ वशिष्ठ, कष्यपो, अत्रि, जमदग्निश्च गौतम । विद्वामित्र भारध्वज सप्तर्षि च रुन्धती ।

११ जना प्रजापति ऋषिहरूको स्तुतिः भृगुर्वशिष्ठः क्रतुरङ्गिरश्च मनुः पुलस्त्यः पुलहश्च गौतमः । रैभ्यो मरिचिच्यवनश्च दक्षः, कुर्वन्तु सर्वे ममः सुप्रभात । 

यसै गरी गोत्र तथा प्रवर प्रवर्तक ऋषिहरू र अन्य १०८ ऋषिहरूलाई सम्झेर वैदिक मन्त्रोच्चारण गर्दै तर्पण दिँदै यज्ञोपवित (जनै) र रक्षासूत्रको मन्त्रणाका साथै पूजा पनि गरिन्छ । तर्पण दिँदा र पूजा गर्दाका यी वैदिक मन्त्रहरूको अर्थ हो– तपाईं देवता तथा ऋषिहरू हामीले गरेको पूजा र तर्पणबाट सन्तुष्ट हुनुहोस् र हाम्रो रक्षा गर्नुहोस् भनिन्छ । यसैले यस पूर्णिमालाई यज्ञोपवित एवं ऋषितर्पणी भन्ने गरिन्छ  । संयोगले त्यस दिन सूर्यसङ्क्रान्ति वा ग्रहण लागेमा ऋषितर्पणीका सम्पूर्ण काम नागपञ्चमीमा गर्ने परम्परा रहेको छ ।  

यस दिन व्रतबन्ध गरेका सनातनी तागाधारीहरूले वैदिक विधिपूर्वक मन्त्रिएको यज्ञोपवितं वा नयाँ जनै फेर्ने चलन छ । वैदिक कालमा विवाहित महिलाहरूले पनि जनै लगाउने चलन थियो रे, पछि यो चलन हराएर गएछ । 

जनै मन्त्रणा गरेपछि पुरानो जनैफेर्दा यो मन्त्र उच्चारण गडरिन्छ– “यतावद्दीन पर्यन्तं ब्रह्मत्व धारितंमया । जीर्णत्व तत् परितेज्जे गच्छ सूत्र यथा सुखम्” भन्ने र नयाँ जनै लगाउँदाः ॐ यज्ञोपवितं परमं पवित्रं प्रजापतर्यस्य सहजं परस्तात् । आयुष्य मग्रम् प्रतिमुच्च शुभ्रं यज्ञोपवितं बलमस्तु तेजम्’ । 

व्रतबन्ध नगरेका र महिला तागाधारीहरूले रक्षासूत्र मात्र नाडीमा बाँध्ने चलन छ । यसै दिन नेपालको तराई भागमा दिदीबहिनीले दाजुभाइलाई नमन्तरेको, देख्दा आकर्षक राखी हातमा बाँधिदिने चलन छ । 

हिन्दु धर्मका वैदिक ग्रन्थअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादन गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । जनैमा रहेका तीन डोराले ब्रह्मा, विष्णु र महेश्वर  तथा तीन शिखाले कर्म, ज्ञान र उपासनाको योग मानिन्छ । 

पहिला जनै सङ्लँदा तीन डोराको एक पोया हुने गरी तयार गरिन्छ । यसरी ९ डोराको एक पोया हुन्छ । एउटा जनैमा ६ पोया र ६ शिखा रहेका हुन्छन् । ती ९ डोरालाई ॐकार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम र विश्वेदको  प्रतीक सम्झिन्छ भने ६ पोया र शिखालाई तन्तुदेवता र ग्रन्थिदेवता सम्झेर पूजा गरिन्छ । हातको नाडीमा बाँधिने तीन डोराको धागोमा पनि शक्ति, शान्ति र सद्भावले पूर्णहवस् भनी मन्त्रणामा गरिएको हुन्छ । यसैले यज्ञादि अनुष्ठानमा यी जनै वा रक्षसूत्रलाई “नमस्तु निलग्रीवाय सहस्रक्षाय मीढुषे । अथोयऽअस्य सत्वानोऽहन्तेभ्यो करन्नमः” । भनी ब्रह्मा, विष्णु महेश्वर र गणेश आदिलाई चढाइन्छ र जनै र रक्षासूत्र धारण गरिन्छ । 

यस पर्वका सम्बन्धमा विभिन्न कथन पाइन्छन् । पौराणिक एक कथाअनुसार देवराज इन्द्रले दैत्यराज वृत्तासुरसँग १२ वर्षसम्म भयङ्कर युद्ध गरे । त्यसमा असुरहरूले विजय प्राप्त गरे । पराजित देवगण धर्म एवं संस्कारविहीन भए र गैह्रदैविक जीवन विताउन लागे । यसो हुँदा देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिए । त्यो दिन श्रावण शुक्ल पूर्णिमाको दिन थियो । यसरी युद्ध गर्न जान लाग्दा देवगुरु वृहस्पतिले यही दिन इन्द्रको कल्याण एवं विजय होस् भनी शुभ मुहूर्तमा वैदिक मन्त्रले मन्त्रणा गरेको यज्ञोपवित लगाएर दाहिने हातमा रक्षा सूत्र बाँधिदिए ।  

रक्षा सूत्र धारण गर्दा : 

ॐ त्वं यविष्ठ दाशुषो नृं पाही शृणुधी गिरः । रक्षातोक मुतत्मना ।। १८।७ शु.य

ॐ स्वराडसी सपत्न्याहा सत्रराडस्य भिमातिहा । जनराडसि रक्षोहा सर्वराडसि मित्रहा ।। ५।२४ शु.य.

येन बद्धो बलिः राजा दानवेन्द्रो महाबलः । 

तेन त्वां प्रतिबध्नामि रक्षा मा चल मा चल । 

यो मन्त्र उच्चारण इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए रे । वास्तवमा त्यही पवित्र याज्ञोपवित धारण गरेका र रक्षासूत्र बाँध्नाले देवराज इन्द्र युद्धमा विजयी भएका थिए भन्ने पनि उल्लेख छ ।

त्यसैले आज पनि यो रक्षासूत्र बाँध्दा ब्राह्मण वा आचार्य वा गुरुहरूले शिष्य तथा यजमानहरूलाई माथिको ‘येन बद्धो... भन्ने मन्त्र उच्चारण गर्दै रक्षासूत्र बाँध्ने चलन छ । यस मन्त्रको भावार्थ जुन रक्षासूत्रले अत्यन्त बलशाली राजा बलि बाँधिएपछि सारा देवगण सुरक्षित भए, म त्यही रक्षासूत्रले बाँधी तिमीलाई सुरक्षित गर्दछु भनी रक्षासूत्र बाँधिन्छ । मानिसले आफ्नो आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्ना गुरु, पुरोहितबाट रक्षासूत्र बाँधिन्छ । यसले मन, वचन र कर्म (आचरण) लाई पवित्र बनाउँछ भनेको पाइन्छ । 

Janai Pic 1

Janai Pic2

तस्बिर : रसुवा जिल्लाको गोसाइकुण्डमा रक्षाबन्धन मेलाको एक झलक ।

जनैपूर्णिमाको दिन बाँधिएको रक्षासूत्रलाई कार्तिक कृष्ण चतुर्दशीका दिन गाईको पुच्छरमा बाँधी दिएमा मृत्युपछि वैतर्णी नदी सजिलै पार हुन सकिन्छ भन्ने जनविश्वास रहेको छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए भन्ने भनाइ पनि पाइन्छ । अतः यसैले होला यस दिनलाई वेद या संस्कृत दिवसका रूपमा पनि मानिन्छ ।

परम्पराअनुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार पारिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । नेवार समुदायमा यस दिनलाई गुन्हु–पुन्ही भनी मनाइने परम्परा छ । खेतमा राम्रो अन्न फलोस् भनेर सीमे, भूमे, देउराली आदिको पनि पूजा गर्ने चलन पनि पाइन्छ ।

यस दिन नेपालका विभिन्न स्थानहरू दोलखाको शैलुङ, काभ्रेको कालिञ्चोक, खोटाङको हलेसी महादेव, भक्तपुरको नगरकोट लगायतका स्थानमा मेला लाग्ने गर्दछ । काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, तिब्बतको मानसरोवर, धरानको बराहक्षेत्रधाम, गुल्मीको रुरु, रिडीको ऋषिकेश, जनकपुरधामको  गङ्गासागर  तथा धनुषसागर, जुम्लाको दानसाधु, परासीको त्रिवेणी आदि पवित्र स्थानमा स्नान गरी महादेवको पूजा अर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्छ । 

माथिको कथनअनुसार यस दिन ऋषिहरूको मन्दिर वा मूर्तिमा ऋषिलाई सम्झेर पूजा वा अर्चना गर्नुपर्ने हो । तर हालसम्म अलग्गै ऋषिको मन्दिर वा मूर्ति स्थापना गरेको पाइँदैन । ऋषिका ऋषि वा देवाधिदेव महादेवकै मन्दिर वा शिवलङ्गमा पूजा अर्चना गरिन्छ ।

राखी बाँध्ने कुराका विषयमा विभिन्न कथा सुन्न पाइन्छ । जसमा– सुदर्शन चक्रले कृष्णको हात काट्दा द्रौपदीले आफ्नो कपडा च्यातेर बाँधिदिएको र लक्ष्मीले दैत्यहरूलाई आफ्नो हातको धागो बाँधिदिएका कथा पनि छन् । यसै गरी स्कन्ध पुराणको एक कथाअनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासँग राखी बाँध्ने समयमा भनेका थिए– जो मानिसले यस पवित्रताको राखी तिमी जस्तै दिदीबहिनीहरूबाट बाँध्छ, त्यो मानिस यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्छ । यस कुराले राखी पनि एक धार्मिक उत्सवका साथै अध्यात्मिक बल दिने रक्षासूत्र हो भनिन्छ ।  

सनातनी हिन्दुका कथन अनुसार भनिन्छ– विश्वमा दुई प्रकारका बन्धनहरू हुन्छन् । सांसारिक बन्धन र ईश्वरीय बन्धन । आज हरेक व्यक्ति सांसारिक बन्धनदेखि छुट्न र ईश्वरीय बन्धनमा बाँधिन चाहन्छन् । किनकि ईश्वरीय बन्धन आध्यात्मिक, भावनात्मक र सुखदायी बन्धन हो । रक्षाबन्धन यसै कुराको प्रतीक हो । यस पर्वले आपूm स्वयंको रक्षा गर्नका लागि स्वच्छता र पवित्रताको बन्धनमा बाँधिनुपर्छ भन्ने सन्देश प्रवाह गर्दछ । 

बौद्ध धर्मावलम्बीहरूले पनि आजको दिनलाई भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाका रूपमा लिएको पाइन्छ । यसैले यस दिन बौद्ध तीर्थयात्रीहरू पवित्र तीर्थहरूमा गई मेला भर्ने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललित विस्तारमा यससम्बन्धी कुरा विस्तृत रूपमा व्याख्या गरिएको भन्ने पाइन्छ । यसै कारण यस दिन नेपालका विभिन्न बौद्ध मठहरूमा, काठमाडौँको स्वयम्भूमा र बौद्धमा विभिन्न धार्मिक प्रवचन तथा विशेष मेला लाग्ने गर्छ । यस कुराले नेपालका विभिन्न चाडपर्व र धर्म दर्शनमा हिन्दु तथा बुद्ध धर्मको गहिरो सम्बन्ध रहेको पुष्टि हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप