शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भ : जनै पूर्णिमा

जनै, जातीयता र स्खलित संस्कार

बिहीबार, १४ भदौ २०८०, ०९ : ०५
बिहीबार, १४ भदौ २०८०

जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी या रक्षाबन्धन । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । जुन हिन्दू धर्मावलम्बीको विशेष पर्व हो । ब्राह्मण, क्षत्री, वैश्य, शूद्र सबैले यस दिन रक्षासूत्र बाँध्छन् भने ब्राह्मण, क्षत्री र वैश्यले जनै पनि धारण गर्छन् । संस्कारसँग जोडिएका कारण सनातनीका लागि यो दिन विशेष महत्त्वको छ । सनातन परम्पराका सोह्र संस्कारमध्ये जनै धारण या व्रतबन्ध एउटा महत्त्वपूर्ण संस्कार हो । यज्ञ गर्ने अधिकार प्राप्त गर्न यज्ञोपवित धारण अनिवार्य मानिन्छ । जब यज्ञोपवित धारण गर्छ, तब मात्र वेदाध्ययन र यज्ञादि गराउने कार्यमा योग्य मानिन्छ । 

यज्ञ–यज्ञादिले मानव जीवनलाई सरल र सहज बनाउँदै प्रकृति या परमात्मासँग जोड्छ भन्ने मान्यता छ । यस्तो कार्यमा कमी–कमजोरी नहोस् भनेर दक्ष र सक्षम व्यक्ति तयार गर्न व्रतबन्धको नियमले बनाइएको पाइन्छ । व्रतबन्ध गरी आफूलाई व्रतमा बाँधेर यज्ञोपवित धारण गरेपछि मात्र वेदाध्ययनमा लाग्ने परम्परा छ । यज्ञोपवित धारण गरेको व्यक्तिले वेद अध्ययन गरी मन, वचन र कर्मबाट देवताको शक्तिलाई मानवहितमा प्रयोग गर्ने अधिकार प्राप्त गर्दछ भन्ने मान्यता छ । त्यसैले हिन्दु धर्मअनुसार यज्ञको जिम्मेवारी लिनेले जनै लगाएकै हुनुपर्छ । यज्ञ–यज्ञादि तथा अन्य ब्राह्मण कर्मसँग सम्बन्ध राख्नेलाई जनै अनिवार्य छ । त्यसैले सबै तागाधारीले ऋषि तर्पणीका दिन वर्षभरिलाई पुग्ने जनैको षोडाशोपचारले पुजन गरी राख्ने गर्छन् । 

सत्य भन्ने हो भने ब्राह्मण, क्षेत्री र वैश्यहरूका लागि बाध्यता जस्तो बनेको छ, उपनयन संस्कार । यसको वैदिक मान्यता र महत्त्व दिन प्रतिदिन खस्कँदो अवस्थामा छ । जन्मजात ब्राह्मण भएकाले ब्राह्मण कर्म नगर्दा पनि ब्राह्मण नै रहने तर अन्य कुलमा जन्मेकै कारण जति शुद्ध भए पनि यज्ञोपवित नपाउने सामाजिक व्यवहारले विभेदको भाव पैदा गरिरहेको छ ।

यस दिनको अर्को महत्त्वपूर्ण पक्ष रक्षाबन्धन हो । सत्ययुगमा दावनबाट प्रताडीत देवताको रक्षार्थ देवगुरु बृहस्पतिले राक्षस राज बलिलाई बाँधेको भन्ने प्रसंगसँग रक्षाबन्धनको पौराणिक मान्यता स्थापित भएको छ । देव गुरुले रक्षाबन्धन गरेकाले आज पनि गुरुहरूको हातबाट डोरो बाँध्ने चलन छ । यस दिन ब्राह्मण या गुरुहरू आफ्ना यजमानहरूको रक्षार्थ घरघरमा गई निम्न मन्त्र पढेर रक्षा सूत्र बाँधिदिने चलन छ ।

‘येन बद्धो बलि राजा दानवेन्द्रो महाबलः ।

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’

उल्लिखित धार्मिक तथा पौराणिक मान्यतासँगै पछिल्लो समयमा जनै धारणको विषयमा शुद्धताको अभाव देखिन थालेको छ । यज्ञ–यज्ञादिको जिम्मा पाएका भनिएका ब्राह्मणमा पनि उपनयन पद्धति केवल परम्परा धान्न मात्र गरेको पाइन्छ । सयौँ बटुकलाई एउटै मण्डपमा व्रतबन्ध गरिदिने, मुख्य उपनयन कार्यभन्दा पार्टी र भोजलाई महत्त्व दिने प्रवृत्ति बढेको छ । उपनयन संस्कार र उपनयनपछि गर्नुपर्ने नित्य कर्ममा स्खलन देखिएको छ । व्रतबन्धपछि नित्य साधना गर्नुपर्ने गायत्री मन्त्र साधना लगभग लोप भइसकेको अवस्था छ । ब्राह्मण कुलमा जन्मेकै कारण उपनयन संस्कार केवल लोक लाजका लागि मात्र गरिने चलन बढिरहेको छ । 

वेद, पुराण, धर्मशास्त्र पढ्न जन्मदै ब्राह्मण हुनुपर्ने कुनै बाध्यता छैन, किनकि विश्वामित्र, गौतम बुद्ध जो जन्मदै ब्राह्मण थिएनन् । पछिल्लो समयका स्वामी प्रपन्नाचार्य आत्मिक शुद्धतासहित ब्राह्मणपथका ज्वलन्त उदाहरण हुन् ।

सत्य भन्ने हो भने ब्राह्मण, क्षेत्री र वैश्यहरूका लागि बाध्यता जस्तो बनेको छ, उपनयन संस्कार । यसको वैदिक मान्यता र महत्त्व दिन प्रतिदिन खस्कँदो अवस्थामा छ । जन्मजात ब्राह्मण भएकाले ब्राह्मण कर्म नगर्दा पनि ब्राह्मण रहने तर अन्य कुलमा जन्मेकै कारण जति शुद्ध भए पनि यज्ञोपवित नपाउने सामाजिक व्यवहारले विभेदको भाव पैदा गरिरहेको छ । यदि ज्ञान र कर्मका आधारमा सबै सनातन धर्मका अनुयायीले यज्ञोपवित अर्थात् जनै धारण गर्न पाउने या वैदिक तथा आध्यात्मिक ज्ञानको बाटो अँगाल्न पाउने व्यवस्था हुनुपथ्र्यो । त्यसो नभई सनातन धर्मलाई केवल जातीय आधार र छुवाछुतका रूपमा लिने चलनले समाजमा कुण्ठा सिर्जना गरेको छ । जसले गर्दा वैदिक सनातन संस्कार तीव्र रूपले स्खलित भइरहेको छ । 

यज्ञोपवित या जनै तात्कालीन ब्राह्मणपथमा लाग्नेहरूको परिचयपत्र थियो होला, तर कर्म, ज्ञान र संस्कारले ब्राह्मण भएको प्रमाणका लागि दिइने परिचय मात्र जन्मकै आधारमा प्राप्त गर्ने सहजताका कारण संस्कार लोप हुँदै गयो । यसलाई आत्मिक शुद्धता, वैदिक ज्ञान र अध्ययनका आधारमा सबैका लागि सहज गराइदिएको भए ब्रह्मज्ञान प्राप्तिका लागि सकारात्मक प्रतिस्पर्धा र ऊर्जा मिल्थ्यो । वेद, पुराण, धर्मशास्त्र पढ्न जन्मदै ब्राह्मण हुनुपर्ने कुनै बाध्यता छैन, किनकि विश्वामित्र, गौतम बुद्ध जो जन्मदै ब्राह्मण थिएनन् । पछिल्लो समयका स्वामी प्रपन्नाचार्य आत्मिक शुद्धतासहित ब्राह्मणपथका ज्वलन्त उदाहरण हुन् । 

जन्मना जायते शूद्र संस्काराद् द्विज उच्यते ।

वेद–पाठात् भवेत् विप्रः ब्रह्म जानाति ब्राह्मणः ।। 

मनुस्मृतिमा उल्लेख उपरोक्त श्लोकलाई लोक व्यवहारमा उतार्न जरुरी छ । तसर्थ सबै सनातनीले गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, छैटी, नामकरण, निष्क्रमण, अन्नप्राशन आदि संस्कारसँगै चूडाकर्म, विद्यारम्भ, कर्णवेध, यज्ञोपवीत, केशान्त, समावर्तन, विवाह र अन्त्येष्टि समेतका १६ संस्कारलाई विधिसम्मत पालना गर्ने हो भने पक्कै पनि त्यसले समाज सकारात्मकतातिर लैजान्छ । 

समस्त मानवको हित र कल्याणका लागि मानिसको संस्कार, ज्ञान र पुण्य कर्मका आधार मापन हुने पद्धतिको विकासमा लागौँ । जन्मका आधारमा कसैको विभेद नहुने, संस्कार, ज्ञान र कर्मले हरेक मानिस ब्राह्मणपथमा लाग्ने वातावरण सिर्जनामा जुटौँ । रक्षाबन्धन या जनै पूर्णिमालाई समस्त मानवहितको सकारात्मक बन्धन या पवित्रता र सुरक्षाको बन्धनका रूपमा उल्लासका साथ मनाऔँ । कसैको पनि जात या जन्मका आधारमा विभेद होइन, ज्ञान र ज्ञान, कर्म र संस्कारबाट परीक्षणको सुरुवात गरौँ । जनै पूर्णिमाको शुभकामना । 

(लेखक ज्ञवाली दक्षिण एसियाली ज्योतिष महासंघका कार्यवाहक महासचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप