जनै बनाउने चलन कम हुँदै, जनै पनि आयात गरिन्छ
मध्यविन्दु । हिन्दु धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ ।
जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)कावासोती नगरपालिका–६ का खुमकान्त गौडेलले बताए । पाँच वर्ष अगाडिसम्म जनै बनाएर आफन्त सबैलाई पुर्याउँदै आएको भए पनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको गौडेलले बताए ।
“आजकालका युवाले नियमित जनै लगाउनै छाडे”, उनले भने, “पहिले घरमै धागो ल्याएर बाटोमा पनि बाट्दै हिँडिन्थ्यो, अहिले कसैलाई फुर्सद नै छैन ।”
गाउँमा अहिले जनै बाट्नै छाडिसकेको गौडेलले बताए । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उनले बताए । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा पाउन सकिन्छ । बजारमा मेसिनबाट बनाइएको जनै प्रतिगोटा मूल्य रु छ र हातले बनाएको जनै प्रतिगोटा रु १५ रहेको गणेश धार्मिक पसलका नारायण खनालले बताए । “जनैपूर्णिमाका दिन फेर्ने जनैको बजार पछिल्ला वर्षमा बढ्दो रहेको छ”, उनले भने, “अहिले बजारमा बुटवलबाट आयात गरिएको स्वदेशी उत्पादनदेखि भारतबाट आएका जनै र रक्षाबन्धन धागो आउने गरेको छ ।”
नयाँ जनै फेर्नुपर्ने हिन्दु संस्कारमा रहिआएको मान्यता अनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि ठूलै हुने गरेको पाइन्छ । मङ्गलबार र बुधबार जनै किन्नेको ठूलै भीडभाड रहेको व्यवसायी खनालले बताए । विगतका वर्षमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिले एक महिनाअघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो जनै नै उत्कृष्ट रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताए ।
“आफ्नै हातले धागो सङ्ग्ल्याएर, कत्वामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो”, उनले भने, “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त हुँदैन ।” पछिल्लो समय हिन्दु धर्मावलम्बीको पवित्र पर्वको रूपमा मनाइने जनैपूर्णिमाको महत्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित भण्डारीले गुनासो गरे ।
“रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उनले भने, “आधुनिकताको नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।”
शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति) को दिनका रूपमा जनैपूर्णिमालाई लिइने भण्डारीले बताए । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँ ठाउँमा पुरोहितले विधि पुर्याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने उनले बताए ।
जनैपूर्णिमा (रक्षाबन्धन) का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ । “तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ”, उनले भने, “हिन्दु धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोउच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु