नोबेलमा गरियो पेटको सबैभन्दा ठुलो शल्यक्रिया
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पेटको सबैभन्दा ठुलो शल्यक्रिया गरिएको छ । मोरङको लेटाङ नगरपालिका–२ खैरेनीकी ५३ वर्षीया मनरानी कुरुङवाङको पेटको सबैभन्दा ठुलो र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
कुरुङवाङको पित्त नली सानो आन्द्रामा जोडिने ठाउँमा क्यान्सर भएको थियो । पेटमा गरिने शल्यक्रियाहरु मध्ये सबैभन्दा ठुलो मानिने यो शल्यक्रियाका क्रममा सानो आन्द्रा, आमासयको तल्लो भाग, प्याङ्क्रियाजको केही भाग, पित्त थैली र पित्त नली वरिपरिका ग्रन्थिहरू काटेर निकालिएको छ । अप्रेसन गरी क्यान्सर भएको भागलाई फालेर प्याङ्क्रियाजको नली, पित्त नली र आमाशयलाई सफलतापूर्वक सानो आन्द्रासँग जोडिएको नोबेल अस्पतालका हेपाटोबिलियरी सर्जन डा.विनितकुमार यादवले जानकारी दिए ।
जटिल र अफ्ठेरो ठाउँको अप्रेसन भएकाले चिकित्सकीय विधामा यो अप्रेशनलाई पेटको सबैभन्दा ठुलो अप्रेसन मानिने डा.यादव बताउँछन् । ‘पेटमा जति अप्रेसन हुन्छन्, ती मध्ये यो सबैभन्दा ठुलो अप्रेसन हो, चिकित्सकीय विधामै यसलाई पेटको सबैभन्दा ठुलो अप्रेसन भनिन्छ,’ डा.यादव भन्छन्, ‘संवेदनशील अंगहरू एकै ठाउँमा भएकाले यो अप्रेसन गर्दा थोरै त्रुटि भयो वा अरु अङ्गमा असर परेमा बिरामीको ज्यानै जाने जोखिम हुन्छ, तर हामीले सफलतापूर्वक अप्रेसन गरेका छौं ।’
नोबेलका शल्यचिकित्सक डा.सचिदानन्द शाह, डा.विनितकुमार यादवसहितको टोलीले झण्डै छ घण्टा लगाएर यो अप्रेसन गरेको हो । सामान्यतयाः अधिकांश अप्रेसन २÷३ घण्टामा सकिन्छ । तर, यसमा धेरै अंगहरू काटेर पुनः जोड्नुपर्ने भएकाले अप्रेसन गर्न पनि धेरै समय लागेको शल्यचिकित्सक डा.सचिदानन्द शाह बताउँछन् । एनेस्थेसियोलोजीजिष्ट डा.बन्दना पौडेलले अप्रेशनमा साथ दिएकी थिइन् । चिकित्सकहरूका अनुसार समयमै अप्रेसन नभएको भए क्यान्सर फैलिएर छ महिनाभित्रै बिरामीको ज्यान जानसक्ने जोखिम थियो ।
तर अब कुरुङवाङको शरीरबाट क्यान्सर निर्मूल भएकाले तत्कालका लागि यो जोखिम टरेको चिकित्सकहरूको भनाई छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण नोबेल अस्पतालमा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित