बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

युवा संघको प्रश्न : एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाप्रति अमेरिका किन बोल्दैन ?

बुधबार, १३ भदौ २०८०, १४ : ४७
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालले एमसीसीबारेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिका किन नबोलेको भन्दै प्रश्न गरेको छ । संघका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै एमसीसीबारे अमेरिकाले स्पष्ट नपारेसम्म कार्यान्वयनमा जान नसक्ने स्पष्ट पारेका छन् ।

संसद्ले एमसीसी सम्झौता अनुमोदन गरेको करिब डेढ वर्ष समय बितेको छ । अमेरिकाको समय तालिका अनुरुप यही अगस्ट ३० बाट उक्त सम्झौता लागू गर्ने तयारी भइरहेको छ । त्यसबेला १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरिएको थियो । तर आम सम्झौता कार्यान्वयनको बिन्दु सम्म आउँदा पनि उक्त व्याख्यात्मक घोषणाको बारेमा अमेरिकी सरकारले औपचारिक रुपमा केही बोलेको छैन ।

‘एमसीसी सम्झौता आफैमा एउटा असमान सम्झौता हो । त्यसबारेमा कार्यदल समेत बनाएर विस्तृत अध्ययन भइसकेको छ । यो सम्झौता र त्यसका पूरक सम्झौताका अनेकौँ दस्तावेजहरु छन् । ती दस्तावेजहरूमा दर्जनौं अपमानजनक र असमान ढङ्गका शर्तहरु रहेका छन्’, युवा संघले भनेको छ,‘अमेरिकाले हाम्रो देशलाई अनुदान दिन्छ भने हामी जति पनि लिन तयार छौं । तर हाम्रो देशको स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानमा आँच पुर्‍याउने खालका कुनैपनि स्वार्थहरु मान्न तयार छैनौँ ।’

एमसीसीका अमान्य शर्तहरु धेरै भएको भन्दै तिनीहरुमध्ये कमसेकम १२ वटा शर्तहरुलाई ‘व्याख्यात्मक घोषणा’ बाट सोझ्याउने प्रतिबद्धता नेपालको संसद्ले गरेको थियो । ‘आजसम्म तिनै बार बुँदेको मात्र पनि अत्तोपत्तो केही नहुनु आश्चर्यजनक विषय बनेको छ । त्यसबारेमा ठोस सहमति नगरी र १२ बुँदेलाई सम्झौताको अंग घोषणा नगरी उक्त सम्झौता लागू हुनै सक्दैन भन्ने कुरा अमेरिकीहरुले राम्ररी बुझ्नु जरुरी छ’, युवा संघको चेतावनी छ । 

युवा संघले अमेरिका संसदको घोषणा मान्न तयार नहुने हो भने ३० दिने सूचना दिएर खारेज गर्न माग समेत गरेको छ । ‘अन्यथा हाम्रो युवा संघ नेपाल सम्पूर्ण नेपाली जनतालाई गोलबन्द गरेर विरोध आन्दोलनमा उत्रिन बाध्य हुनेछ भन्ने कुरा पनि हामी सरकारलाई सूचित गर्न चाहन्छौँ र युवा संघ नेपाल द्वारा आह्वान गरेको देशभक्तिपूर्ण आन्दोलनमा सहभागिताका लागि सम्पूर्ण जनसमुदायहरुलाई हार्दिक अपिल गर्दछौ’, युवा संघले भनेको छ । 

y

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप