बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय चलचित्र पुरस्कारमा ‘उत्कृष्ट फिल्म’को विधा नै गायब !

बुधबार, १३ भदौ २०८०, १० : ३३
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा मंगलबार वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’ पनि विवादरहित बन्न सकेन । अवार्डको सबैभन्दा महत्त्वपूर्ण मानिने र विगतमा समेत बाँडिएको ‘उत्कृष्ट फिल्म’को विधा गायब भए पनि पुरस्कार विवादित बनेको छ ।

गाईजात्राको छेकोमा वितरण गरिएको पुरस्कारमा ‘उत्कृष्ट फिल्म’को विधा गायब गरेर चलचित्र विकास बोर्डले  गाईजात्रा देखाएको प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत कलाकर्मीले व्यक्त गरिरहेका छन् । यसले राष्ट्रिय चलचित्र पुरस्कारको गरिमा र अस्तित्वमाथि ठुलो प्रश्न उठाएको टिप्पणी फिल्मकर्मीहरूले गरिरहेका छन् । ‘उत्कृष्ट फिल्म’ बाहेक अन्य विधामा अवार्ड बाँडिएको सम्भवतः  यो नेपालमै पहिलो हो ।

चलचित्र पुरस्कार समारोहमा जुरी टिमका संयोजक राजेन्द्र सलभ समेत अनुपस्थित थिए । ‘उत्कृष्ट फिल्म’ विधामा अवार्ड वितरण नहुने भएपछि उनले असन्तुष्टि जनाउँदै कार्यक्रममा उपस्थिति नजनाएको बताइन्छ । यस विषयमा सलभसँग पटक पटक सम्पर्क गर्न खोज्दा हुन सकेन ।

कार्यक्रममा उपस्थित अवार्डका एक जुरी सदस्यले नाम नखुलाउने सर्तमा ‘उत्कृष्ट फिल्म’को नाम बोर्डलाई बुझाएको भए पनि अवार्ड वितरण नहुँदा आफू नै अचम्ममा परेको बताए । ‘हामीले बोर्डलाई ‘उत्कृष्ट फिल्म’को नाम बुझाएका थियौँ । तर, अहिले नाम नआउँदा आफैँ अचम्मित भएको छु । ‘उत्कृष्ट फिल्म’ बिना अवार्ड कसरी सम्भव हुन्छ ? यसको जवाफ बोर्डले अनिवार्य दिनुपर्छ ।’

जुरी सदस्यका अनुसार  बोर्डलाई ‘उत्कृष्ट फिल्म’मा ‘प्रकाश’को नाम पठाएको थियो । तर, उक्त फिल्मलाई अवार्ड नदिन बोर्डले चलखेल गरेको बताइछ । माओवादी युद्धले पारेको प्रभावको कथामाथि बनेको ‘प्रकाश’लाई ‘उत्कृष्ट फिल्म’को अवार्ड नदिनु माथिबाटै खेल भएको अनुमान गर्न सकिन्छ । जसले गरे पनि एउटा सृजना माथि हस्तक्षेप हुनु राम्रो भने मान्न सकिन्न ।

राष्ट्रिय चलचित्र पुरस्कारमा ‘प्रकाश’बाटै दिनेश राउतलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरियो भने यही फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड दिया मास्केले प्राप्त गरिन् । तर, जुरीले सिफारिस गरेको ‘प्रकाश’लाई उत्कृष्ट फिल्मको अवार्ड दिन दिइएन ।

यस विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग पटक पटक सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप