मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष समाचार

मङ्गलबार, १२ भदौ २०८०, २० : ५०
मङ्गलबार, १२ भदौ २०८०

आज २०८० भदौ १२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

सांसदको प्रश्न, प्रधानमन्त्रीको जवाफ

संघीय संसद् अन्तरगत प्रतिनिधि सभामा मंगलबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको आयोजना गरिएको छ । सांसदहरु सदनमा उठाएका प्रश्‍नहरूको जवाफ दिने नियमित कार्यतालिका अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सदनमा उपस्थित भएका हुन् । ‘सार्वजनिक जनसरोकारका विषयमा अत्यन्त उत्साह र चासोका साथ यस सम्मानित सदनमा भएका छलफलहरूमा सक्रियतापूर्वक सहभागी भई तथा महत्त्वपूर्ण प्रश्‍न¸ जिज्ञासा¸ विचार तथा सूझावहरु राख्‍नुभएकोमा म सबै माननीय सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँहरूले विभिन्‍न समयमा उठाउनुभएका प्रश्‍न, जिज्ञासा, सुझाव तथा धारणालाई सरकारले गम्भीरताका साथ लिँदै आएको छ,’ प्रधानमन्त्री दाहालले भने । 

समाजवादी मोर्चाको सन्देशसभा

झण्डै दुई महिना अगाडि घोषणा भएको समाजवादी मोर्चाले मंगलबार बुटवलमा सन्देशसभा आयोजना गरेको छ । साझा कार्यक्रमका साथ समाजवादी यात्रा तय गर्न मोर्चाको घोषणा भए पनि बुटवलमा भएको कार्यक्रममा मोर्चाकै घटकबिच मतभिन्नता प्रकट भएको छ । माओवादी केन्द्र नेतृत्वको सरकारले एमसीसी कार्यान्वयनको जिम्मेवारी निर्वाह गरिरहेको समयमा मोर्चामै आबद्ध केही घटकले भने यसको विरोध गरेका छन् ।

संसद् बैठक

 गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सांसदहरूको राम्रै उपस्थिति रहेपनि ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक पर्ने एक चौथाइ सङ्ख्या समेत पुगेन । 

सुन तस्करी प्रकरण

 ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका दावा छिरिङको नागरिकताबारे छानबिन गर्न समिति गठन गरिएको छ । तिब्बती मूलका बेल्जियन नागरिक छिरिङले लिएको नेपाली नागरिकता बारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको हो । 

एसिया कप

एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करण बुधबार पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदै छ । एसिया कप सकिएको करिब एक महिनापछि नै भारतमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औँ संस्करण सुरु हुँदै छ ।

भूकम्पले भत्केको थियो नेपालकै अग्लो मन्दिर

आजकै दिन अर्थात् १२ भदौ १८९० को राति काठमाडौँदेखि उत्तर वा उत्तरपूर्वतिर ५० किलोमिटर टाढा इपिसेन्टर पारेर विनाशकारी भूकम्प गएको थियो । ७.७ मोमेन्ट म्याग्निच्युडको त्यस भूकम्पमा परी काठमाडौँमा पाँच सय जनाको ज्यान गयो ।

शान्त धरान

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले सोमबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘धरानमा शान्ति छ ! शान्ति विथोलिन कहिल्यै दिइने छैन ।’ नगर प्रमुख साम्पाङले लेखेजस्तै शनिबार निषेधाज्ञा जारी गरिएको धरान अहिलेसम्म शान्त छ । उग्र बन्दै गएको धार्मिक र जातीय द्वन्द्वका संकेतहरु मत्थर भइरहेका छन् । 

१० अर्ब असुल्दै आन्तरिक राजस्व विभाग

सरकारले मूल्य अभिवृद्धि कर अर्थात् भ्याट लिन थालेको लामो समय भयो । वस्तु वा सेवा खरिदमा १३ प्रतिशत भ्याट लिने गरिए पनि उक्त भ्याट अन्तिम उपभोक्ताका लागि मात्रै हुन्छ । आयातकर्ता, डिलर र विक्रेताले भ्याटबापतको रकम सरकारसँग फिर्ता लिने वा तिर्नुपर्ने भ्याटबाट घटाउने गर्छन् । 

फाइलमा चलखेल

संघीय निजामती ऐन अर्थ र कानुन मन्त्रालयसँगै लोकसेवा आयोगको परामर्शपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको डेढ साता बित्दा पनि अझै संसदमा पुगेको छैन ।

बेरुजुको प्रदेशजस्तो भयो कर्णाली

कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले बेरुजु न्यूनीकरणका लागि प्रदेश सरकारलाई निर्देशन दिने र छलफल गर्ने कार्य गरिरहेको छ । तर, प्रदेश सरकारले बेरुजु न्यूनीकरणमा कुनै चासो दिएको पाइँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप