मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

संसदमा ठाकुर गैह्रेलाई राजन केसीको काउन्टर नारा : ‘यति ओम्नी घोटालालाई कारबाही गर’

मङ्गलबार, १२ भदौ २०८०, १५ : १३
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ ।  प्रतिनिधि सभाको बैठकमा एमाले सांसद ठाकुर गैह्रे र कांग्रेस सांसद राजन केसीबीच दोहोरी चलेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद गैह्रेले सुन तस्करी प्रकरणमा सरकारले बनाउने भनेको उच्चस्तरीय छानबिन समिति प्रमुख प्रतिपक्षी दलको मुख बनाएको रातो रुमाल भएको टिप्पणी गरे । उनले प्रचण्डले बहुमतको प्रधानमन्त्री पाए जातीय राज्य दिन्छु भनेको भनाइ प्रति आपत्ति जनाउँदै नारा लगाएका थिए । 

गैह्रेले 'सुन तस्करका नाइकेहरूलाई कारबाही गर, भ्रष्टाचारीहरुलाई कारबाही गर, नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर विदेशमा बेच्ने र अर्बौँ डलर कमाउने व्यक्तिहरूलाई कारबाही गर । ललिता निवासका निर्णयकर्तामाथि कारबाही गर, जातीय सद्भाव तथा धार्मिक सद्भाव कायम गर' भन्ने नारा लगाएका थिए । 

सांसद गैह्रेपछि बोलेका कांग्रेस सांसद राजन केसीले संसदमा प्रतिपक्षी दलका सांसदको नारा सुन्न पाएको बताउँदै थप दुईचार वटा नारा छुटेको भन्दै कटाक्ष गरे । त्यसपछि सांसद केसीले नारा लगाउन थाले–‘गिरीबन्धु टी स्टेट घोटालालाई कारबाही गर, यति होल्डिङ्सलाई कारबाही गर, ओम्नीलाई कारबाही गर । यस्ता नारा चाहिँ छुट्यो सभामुख महोदय । सबै नाराहरू एकमुस्ट भयो भने राम्रो हुन्छ कि भनेर म सभामुखमार्फत भन्न चाहन्छु ।’

सांसद केसीले गिरीबन्धु टी स्टेटको ३४० बिगाहा जग्गामा ५ खर्ब रुपैयाँ घोटाला भएकोले त्यसमा छानबिन गर्न माग गरे । उनले यसबारेमा पत्रपत्रिकामा पनि यसबारे खबर आएकोले सुन तस्करी प्रकरणका लागि बनाउने उच्चस्तरीय छानबिन समितिभित्र गिरीबन्धु जग्गा घोटाला प्रकरणलाई पनि राखेर छानबिन गर्न माग गरे । 

उनले एमालेलेलाई लक्षित गर्दै भने–‘२०७६ सालमा को सरकारमा थियो म यहाँ उल्लेख गर्न चाहन्न । नयाँ कानुन बनाएर झापाको धुलाबारी र अर्जुनधाराको हाइवेमा भएको ३४० बिगाहा जग्गालाई कुनै एउटा अनकन्टार विकट ठाउँमा सट्टाभर्नाको कानुन ल्याएर घोटाला भएको छ, भ्रष्टाचार भएको छ । त्यसको म घोर विरोध गर्न चाहन्छु । एकजना विष्णुबहादुर राई र दीपक मलहोत्रा भन्ने दुइटा व्यक्तिलाई जिम्मा लगाएर एउटा अमूल्य हाइवेमा पर्ने जग्गा, जुन एक धुर जग्गाको ५ लाखदेखि १० लाख पर्ने, आज ३ सय ४० बिगाहाको कुरा गर्दाखेरी ५ खरब रुपैयाँको घोटाला भएको छ । त्यसको छानबिन होस, सत्य तथ्य पत्ता लागोस् भन्न चाहन्छु ।’

सांसद केसीले यति, ओम्नी, गिरीबन्धु, वाइड बडी सबै भ्रष्ट्राचार प्रकरणमा छानबिन गर्न आवश्यक रहेको बताए । भ्रष्टाचार यो देशको शत्रु रहेको बताउँदै सांसद केसीले विपक्षी दलले आफू सरकारमा हुँदा सधैँ चोखो र सरकारबाहिर भएपछि सुशासनको कुरा गर्ने मनोरोगबाट मुक्त हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप