मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

खुवालुङ, गाई र धार्मिक सहिष्णुता

मङ्गलबार, १२ भदौ २०८०, १३ : ५६
मङ्गलबार, १२ भदौ २०८०

धर्म फरक हुनु भनेको आस्था फरक हुनु हो । जीवनशैली र वे अफ लाइफ भिन्न हुनु हो । मान्छेको यो भिन्नता सामाजिक रूपमा आफ्नो समुदायसँग रहँदा हुन्छ । तर समग्र समाजमा यो भिन्नता हुँदैन । समाजमा आफ्नै नियमित कानुनसम्मत लय हुन्छ भने समुदायको आआफ्नो लय । आफ्नो जातिगत, धार्मिक र परम्परागत लय समाजको मूल लयलाई विच्छेद नगरी सञ्चालन गर्नु, गराउनु आआफ्नो समुदायको कर्तव्य र दायित्व हो । समाजको मूल लय डोर्याउने मियो भनेको वर्तमान कानुन र सोअन्तर्गत रहेका अन्य नियमहरू हुन् । 

देशको मूल कानुन संविधान भएकाले संविधानको अधीनस्थ बस्नु बसाउनु राज्यको कर्तव्य हो । जब समुदायको लय समाजको लय भत्काउने र भड्काउने स्थितिमा आइपुग्छ त्यहाँ स्वतः समुदाय समुदायबिच अविश्वास अन्योल र विरोधाभास पैदा हुन्छ । देशको मूल कानुन आकर्षित हुने विषय बन्छ । धर्म भनेको सारमा मानवताको रक्षा र मानवीय मूल्यको स्थापना भए पनि धर्म अवलम्बन गर्ने विधि र तौरतरिकामा एकअर्काप्रति विरोधाभाषपूर्ण रहन्छ ।

धर्ममा विविधता रहेको कुरा पनि एकअर्काको अस्तित्वमाथि प्रश्न उब्जिएर नै हो । असहमत भएर नै हो । हामीले असहमतिको पक्ष भुल्यौँ भने फरक फरक धर्म, संस्कार र संस्कृतिले पैदा गर्ने समय समयको कटुता, वैरभाव र असमञ्जस्य स्थितिलाई नियन्त्रणमा राख्न किमार्थ सक्दैनौँ । धर्म व्यक्ति, जाति र समुदायको निजी आस्थाको मामला हो यद्यपि यो राष्ट्रको जीवन पद्धति कानुन र व्यवहारमा चाहेर, नचाहेर प्रतिविम्बित भएको हुन्छ । 

समाजमा समुदाय धर्म र जातको सम्बन्ध अन्योन्याश्रित हुन्छ । यसलाई यो धर्मको, यो जातको र यो वर्गको भनेर छुट्याउँदै छिन्नभिन्न पारेर ध्वस्त पार्न असम्भव हुन्छ ।

धार्मिक आस्था, विश्वास, विषय अति नै जटिल संवेदनशील र पेचिलो छ । धर्मको नाममा मान्छे मर्न र मार्न अरू कारण र परिणामभन्दा छिटो तयार हुन्छ । जस्तोसुकै जोखिम उठाउन र मोल्न धर्मले मानसिक रूपमा नै तयार गरेको हुन्छ । अतः यसको संवेदशीलतालाई मध्यनजर गरेर सम्बन्धित धर्मका गुरु, पुरोहित मठाधीश र अगुवाले सामाजिक सद्भावको नेतृत्व लिनु पर्छ । 

समाजमा समुदाय धर्म र जातको सम्बन्ध अन्योन्याश्रित हुन्छ । यसलाई यो धर्मको, यो जातको र यो वर्गको भनेर छुट्याउँदै छिन्नभिन्न पारेर ध्वस्त पार्न असम्भव हुन्छ । बरु संसारलाई नै पलभरमा एकै पटक ध्वस्त पार्ने शक्ति छ । तर कुनै धार्मिक सम्प्रदाय र समुदायलाई छानेर ध्वस्त पार्ने कुनै अस्त्र छैन । किनभने समाजमा गुजुल्टो परेको सामाजिक धार्मिक संरचना छन् । हामी त्यहीँ मिलेर जुधेर बस्ने पद्धतिमा अभ्यस्त छौँ तर कसैलाई निमिट्यान्न पार्ने अचुक औषधी छैन । 

बलको सामथ्र्य आज कसैको पुग्छ भने भोलि अर्काको पुग्न सक्छ ? तर कुनै पनि समुदायले एकले अर्काेको अस्तित्व मान्दिनँ भनेर निषेध गरेर जाने छुट छैन । एकअर्काको फरक अस्तित्व स्वभाव जीवनशैली धार्मिक पद्धति र विश्वाससहित नै हामी असमान भएर पनि समान छौँ । बेग्लै भएर पनि एकै ठाउँ छौँ । किनभने हामी आजका सर्वश्रेष्ठ चेतना भएका मान्छे हौँ । हामीलाई मान्छे हुनुको अर्थमा हाम्रा कमजोरी, बाध्यता र सीमा थाहा छन् । फरक अस्तित्व धर्म र जातबिच पनि हामीसँग मिलेर बस्ने गुण र सामथ्र्य पनि छ । त्यो हाम्रो ज्ञान विवेक र अनुभव सिर्जित अवस्था हो । फरक धर्म, संस्कार र संस्कृतिका सीमा रेखाभन्दा बाहिर हामी मानव हौँ । एकै भूगोलमा बस्छौँ र यो देश हाम्रो हो भन्छौँ । यसर्थ हाम्रो सामूहिक र पारस्परिक दायित्व पनि छ । यतिबेला गलतलाई गलत र सहीलाई सही भनेर एन्टी करेन्ट उभिने साहस बुद्धिजीवी र सचेत वर्गले गर्नु पर्छ । 

आआफ्ना धर्म र सम्प्रदायका अगुवाले परिस्थितिलाई काबुमा राख्न पहल गर्नु पर्छ । अपिल गर्नु पर्छ । सङ्कट र असहज परिस्थितिमा आफ्नो विवेक प्रदर्शन गर्ने नै सच्चा अर्थमा विवेकी र नेतृत्व क्षमता भएको मान्छे हो । धार्मिक गुरुहरूले हिंसाको होइन, शान्ति र सद्भावनाको नेतृत्व गर्नु पर्छ । अन्तिम युद्ध लड्न परे मात्र स्वधर्मको रक्षार्थ रण सङ्ग्राममा जानु युक्तिसङ्गत देखिन्छ । धार्मिक गुरुहरू यतिबेला अलि बढी नै संयमित रहन र संयमको अपिल जारी गर्न तल्लीन रहनु पर्छ । आफ्ना अनुयायी र भक्तहरूलाई आवेश उत्तेजना र अभद्र नबन्न सम्झाउनु पर्छ । धरान अशान्त भएको सन्दर्भमा थुप्रै तर्क वितर्क आएका छन् । हामीले समस्याको चुरो खोज्नु पर्छ । समाधान निस्कन्छ । 

दूधकोसी, अरुण र तमोरको त्रिवेणी तथा उदयपुर, धनकुटा र भोजपुरको सिमानामा रहेको खुवालुङ (ढुङ्गा) जसरी एउटा कोसीको ढुङ्गो मात्र होइन त्यो सिङ्गो किराँत सभ्यताको प्रस्थानविन्दु हो त्यसरी नै नेपालको राष्ट्रिय जनवार गाई पनि एउटा अमुक मासुजन्य पदार्थ मात्र होइन, त्यो सिङ्गो हिन्दु सभ्यताको आस्था र विश्वासको पूज्य जनवार हो । खुवालुङ्गलाई ढुङ्गो होइन भन्नेले गाईलाई मासुजन्य पदार्थ मात्र देख्ने छुट छैन । कुनै पनि विषय र मुद्दामा दोहोरो मापदण्ड ठिक हुन्न । खुवालुङ्को सभ्यता चाहनेले गाईको सभ्यतालाई असभ्य भन्न मिल्ला र ? 

पहिले– तिमीलाई एउटा ढुङ्गा होला तर हाम्रा लागि विश्वासले पुज्ने एउटा देउता हो, प्राण भएको वस्तु हो ।

अर्कोतिर गाई, गोरुको मासु आज हामीले कुनै धर्म विशेषको देवता भएका कारण खाएका होइनौँ । यो धर्म आउनुभन्दा अघिदेखि खाँदै आएका हौँ ।

अहिले– गाई तिम्रो देउता होला ? हाम्रो खान्की हो ? उस्तै विषयमा उही मान्छेले कसरी दोहोरो कुरा गर्छ । फरक फरक मानदण्डको राजनीति गर्छ । 

बजारमा तर्कहरू यसरी पनि आएका छन् । आस्थामा चोट पर्दा ढुङ्गो चलाउँदा पनि दुख्छ गाई मार्दा नदुखोस् किन ? 

अर्कोतिर गाई, गोरुको मासु आज हामीले कुनै धर्म विशेषको देवता भएका कारण खाएका होइनौँ । यो धर्म आउनुभन्दा अघिदेखि खाँदै आएका हौँ । हामीले च्वाट्ट काटेर खाँदा लाग्ने पाप दूध दिन र जोत्न छाडेपछि भिरबाट खसालेर मार्दा र दूध खान नदिई बाछाबाछी भोकभोकै मार्दा र नदीमा हेलिदिएर मार्दा लाग्ने कि नलाग्ने ? पाँच तारे होटेलमा बिफ बेच्न दिने कानुन किन गाई खाँदै आएकाहरूको चुलो चियाउन र सुकुटीमा ल्याब टेस्ट गर्न पुग्छ ? भीरबाट लडेर मरेको गोरु खाँदा पनि गाई मारेको आरोप खेपेर थुनिनेको स्वाभिमानले तिम्रो कानुनलाई मान्छ कि औँलो देखाउँछ ? यो समाजको चित्र पनि बडो भयानक लाग्छ । जातका कारण मान्छेको हत्या गर्दा नउम्लिने रगत गोरु मार्दा बेहद उम्लन्छ । कुकुरलाई घरमा लैजाँदा नास नभएको धर्म दलित समुदायको मान्छे लैजाँदा नास हुन्छ । मान्छेले छोएको पानी चल्दैन तर गाईको पिसाब र गोबर पवित्र मानिन्छ । यी र यस्तै प्रतिनिधि घटना र विषयमा तर्क वितर्क भएको छ । बौद्धिक विमर्श गरौँ । समाधान खोजौँ । परस्परमा लडेर हार्ने मानवताले मात्र हो । जटिलताको गाँठो फुकाउने मन्त्र भनेको एकअर्काको अस्तित्वको स्विकारोक्ति र अहम्को त्याग नै हो । हामी अरूका गोटी बनेनौँ भने हाम्रो समस्या आफैँ बसेर सामाधान गर्न सक्छौँ ।

अतिवाद र उग्रता जुनसुकै कुराको पनि अभिशाप हो । संयम, धैर्य र परिस्थितिलाई काबुमा राख्ने ल्याकत धर्मभित्रका विशिष्ट गुण हुन् । धार्मिक द्वन्द्वले कहिल्यै अगाडि बढाउँदैन । धार्मिक द्वन्द्वले विनाशमै लैजान्छ । धार्मिक द्वन्द्व र वैमनश्यताको अन्तिम समाधान कानुन होइन विवेकपूर्ण निर्णय र परिपक्व दृष्टिबोध मात्रै हो । कानुन केवल साधन हो, साध्य होइन । साध्य बुद्धिमता र दूरदृष्टिसहितको समन्वय हो । एकले अर्काको अस्तित्व नामेट पार्ने सामथ्र्य हामी कसैसँग छैन । विश्वमा कहीँ पनि छैन र हुँदैन । किनभने विविधताबिच नै समाज रहेको हुन्छ । समाज त्यस्तो साङ्लो हो जो एकार्कामा कतै न कतै जेलिएको हुन्छ । धार्मिक र जातीय अतिवादको चक्रव्यूहबाट छिटो निस्कने उपाय नै शान्तिको आँगनमा रम्ने मौका हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप