शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

संसद्‍मा एमाले : सुन काण्डमा सत्तापक्षका नेतालाई जोगाएर भरियालाई समाउने काम भयो

मङ्गलबार, १२ भदौ २०८०, १२ : ४५
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाएर भरियालाई मात्र समातेको भन्दै आपत्ति जनाएको छ । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले सुन काण्डमा सत्तारुढ दलका नेता जोगाएकोमा आपत्ति व्यक्त गरे । उनले सरकारले एकातिर सुशासन कायम गर्छौँ, भ्रष्टाचारका फाइल खोलेका छौँ भनेर जनतालाई भन्ने र अर्कोतिर व्यवहारमा सत्तापक्षका भ्रष्टाचार नाइकेहरु, नेताहरूलाई जतिसुकै ठुलो अपराध गरे पनि अनुसन्धानको दायरामा नल्याएकोमा आपत्ति जनाए । 

उनले भने–‘सत्तापक्षका माथिल्ला ओहदाका नेताहरूले जतिसुकै अपराध गरे पनि उनीहरूलाई कानुनी दायरामा ल्याइँदैन । त्यस्ताहरूलाई उन्मुक्ति दिने काम भइरहेको छ । पछिल्लो समय जुन सुन तस्करी भयो, सुन तस्करीमा संलग्न भएका राजनीतिक तहका सत्तापक्षका नेताहरूलाई बोलाएर सामान्य सोधपुछको दायरामा ल्याउने काम समेत भएन । सोधपुछ गर्ने काम भएन । सत्तापक्षको नेता भएपछि जतिसुकै अपराध गर्न पनि छुट हुने, जतिसुकै तस्करी गर्न पनि छुट हुने तर भरियालाई समाएर जेलमा पठाउँदा यो देशमा सुशासन हुन्छ भन्ने कुरा कुनै हालतमा स्वीकार्य छैन ।’

प्रमुख सचेतक गिरीले माछा देखे दुलाभित्र हात, सर्प देखे दुलाबाहिर हात भनेझैँ सत्तापक्षका नेताहरू तस्करीमा भेटिए भने उनीहरूलाई छोडिदिनुपर्ने तर सामान्य नागरिक भयो भने उनीहरूलाई जेल पठाउनुपर्ने यही हो लोकतन्त्र भन्दै प्रश्न गरे । उनले अहिले भइरहेको सरकारको गतिविधिले विगतमा हासिल गरेका राजनीतिक उपलब्धीहरु पनि गुम्ने खतरामा रहेको बताएका छन् । उनले सिआइबीले सत्तापक्षका नेता तस्करीमा भेटिए पनि त्यता आँखा लगाउन नसक्ने गरी बीचमा पारिएको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप