नाटक : एक त्यान्द्रो सागको चमत्कार
स्थान– काम्यक वन
समय– मध्याह्न
पात्रहरू– द्रौपदी, युधिष्ठिर, भीमसेन, महर्षि दुर्वासा, वासुदेव कृष्ण
नेपथ्यमा जङ्गलको बीचमा ठूलो चौर देखिन्छ । चौरको एउटा छेउमा कलात्मक सानो कुटी छ । घरको छानो खरले छाइएको भए पनि गारो, भुईँ सबै काठका छन् । वन्यजन्तुबाट वचावटका लागि घरलाई काठको बारले घेरिएको छ । छेउछाउमा कतै ताल, तलैया छन् कतै स–साना नदी बगेका देखिन्छन् । आसपासमा देखिने वन बुट्यानले वातावरण स्वच्छ र सुन्दर हुन पुगेको छ । मञ्चमा महर्षि दुर्वासाको प्रवेश हुन्छ र ढोकातर्फ फर्केर बोलाउन लाग्छन् ।
दुर्वासा– कुन्तीपुत्र युधिष्ठिर ! कता छौ ? बाहिर आउन सक्छौ ?
युधिष्ठिर– (कुटीबाट निस्केर हात जोर्दै) आज्ञा होस् ऋषिवर ! सेवक हाजिर छ, के सेवा गरौँ ?
दुर्वासा– खासै केही होइन । युवराज दुर्योधनको आग्रह अनुसार आजको भोजन तिमी कहाँ गर्नुपर्ने भएको छ । साथमा केही शिष्यहरू पनि छन् । मध्याह्न सन्ध्या गरेर आउँछौ । भोजन तयार पारेर राखनू ।
(यति भनेर दुर्वासा नदीतिर लाग्छन् । युधिष्ठिर ऋषिको आदेश द्रौपदीलाई सुनाउन भित्र जान्छन् । त्यतिबेला द्रौपदी भरखर खाना खाएर आराम गर्न लागेकी हुन्छिन् । युधिष्ठिरको कुरा सुनेर द्रौपदी धर्मसङ्कटमा पर्छिन् । किनकि त्यस दिन उनले भोजन गरिसकेकी थिइन् । उनको ताउलोको विशेषता नै त्यस्तै थियो । उनले खाना खाइसकेपछि त्यस दिन केही पाक्दैनथ्यो । यही थाहा पाएर नै उनीहरूलाई अफ्ठेरो परोस् भनेर त्यस्तै समय पारी दुर्योधनले दुर्वासालाई पठाएका थिए । जे भए पनि अब दुर्वासा निम्ति भोजन तयार पार्नुको विकल्प थिएन । अन्यथा ऋषि रिसाएर सर्वनाश गर्न सक्थे । त्यसैले उनी वासुदेव कृष्णलाई सम्झन लागिन्)
द्रौपदी– (आँखा चिम्लिएर मनमनै) धर्मसङ्कटमा परेँ द्वारकावासी वासुदेव कृष्ण ! चाँडै आएर बचाऊ । मेरा लागि तिमी बाहेक न जाने ठाउँ छ भन्ने ठाउँ नै ।
वासुदेव कृष्ण त्यतिबेला खान बसेका थिए । तत्कालै द्रौपदीको मनको पुकारा मनबाटै थाहा पाए र उचालेको गाँससमेत छाडेर दौडिए ।
वासुदेव कृष्ण– (आउनासाथ) भोकै छु द्रौपदी ! केही खान दिन्छ्यौ ?
द्रौपदी– क्षमा पाऊँ वासुदेव ! आजका लागि त केही पनि छैन ।
वासुदेव कृष्ण– यो हुनै सक्दैन । मलाई नराखी खायौ भनेर कसरी पत्याऊँ । खोइ ताउलो ल्याऊ त ।
(द्रौपदी लाज मान्दै ताउलो देखाउँछिन् । भित्र कुनामा सागको त्यान्द्रो अड्केको देखिन्छ । वासुदेव कृष्ण त्यसलाई मुखमा राखी डकार्छन् । त्यत्तिकैमा संसारभरिकै प्राणी अघाएर डकार्न लाग्छन् । अचानक पेट फुलेर डकार आउन लागेपछि शिष्यसहित दुर्वासाले त्यतैबाट आश्रमतिर लाग्ने विचार गर्छन् । यो थाहा पाएर भीमसेन बोलाउन जान्छन्)
भीमसेन– ऋषिवर ! भोजन तयार छ । जाऊँ कुटीमा । वासुदेव कृष्ण प्रतीक्षा गर्दै हुनुहुन्छ ।
(वासुदेव कृष्णको कुरा सुन्नासाथ महर्षि दुर्वासालाई कुरा बुझ्न बेर लाग्दैन । उनी दुर्योधनलाई सत्यनाश होस् भन्ने श्राप दिएर आश्रमतिर हिँड्छन् । यसरी दुर्योधन अर्काको सत्यनाश गराउन खोज्दा आफ्नै सत्यनाश गराउन पुग्छन्)
यत्तिकैमा पर्दा खस्छ । सबै आ–आफ्ना क्षेत्रमा लाग्छन् ।