लण्डनको नेपाली मेलामा हजारौँको सहभागिता (तस्बिरहरू)
_4GxGy7rOgA.jpg)
लन्डन। लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार सम्पन्न नेपाली मेलामा करिब सात हजारको उपस्थिति रह्यो । तमुधिं यूकेले नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजना गरेको नेपाली मेलामा यस पटक कोभिड १९ पछिकै सबैभन्दा बढी सहभागिता भएको आयोजकको दाबी छ ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ आयोजना गरिएको नेपाली मेलामा दुई दर्जन बढी संघसंस्थाहरुले आ(आफ्ना मौलिक परम्परा झल्किने खालका झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए । यसका साथै नेपाली व्यापार
व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला, पोसाक, गरगहना र खाद्य सामाग्री जस्ता विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन विक्री स्टलहरू राखिएका थिए ।
नौमती बाजालगायत ढोलक, डम्फु, झ्याम्टा, मादललगायतका नेपालमा लोप हुँदै गएका विभिन्न प्रकारका परम्परागत बाजागाजाको गुन्जन र नेपाली परम्परागत पोसाकमा नाचगान गर्नेको भिडले मिनी नेपालको झझल्को महसुस हुन्थ्यो ।
नेपालबाट बेलायत आएका दर्जनौँ नेपाली कलाकार, पत्रकार तथा पर्यटकहरू मेलामा नेपालको झल्को मेटाएको भन्दै हर्षित देखिन्थे ।
बेलायतस्थित नेपाली संघसंस्थाबीचको सम्बन्ध प्रगाढ बनाउन, आपसमा कला संस्कृतिको परिचय र युवा पुस्तामा नेपाली भाषा एवं कला संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले सन् २००९ देखि सुरु गरिएको नेपाली मेला १४औँ संस्करणमा पुगिसकेको छ ।
तमुधिं यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य थिए।
सो अवसरमा सांसद खामवीर गर्बुजा, बेलायतस्थित बङ्गलादेश र श्रीलङ्काका कूटनीतिक प्रतिनिधि, बेलायतका विभिन्न काउन्टी तथा बरोका मेयर तथा काउन्सिलरहरु, विभिन्न बेलायती च्यारिटी तथा समुदायका प्रतिनिधिलगायतका विशिष्ट अतिथिको सहभागिता रह्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान, संस्कृति र परम्परालाई बिर्सिन सक्दैनन् भन्ने सन्देश मेलाले दिएको बताए । नेपाली संस्कृति, कला, भेसभुसा र परम्परालाई प्रवर्द्धन गर्दै आपसी सद्भाव र भाइचारा बढाउनसमेत मेलाले योगदान गरेकोमा उनले प्रशंसा गरे।
तमुधिं यूके अध्यक्ष हरि गुरुङले बेलायतस्थित सबै नेपालीबीचको सद्भाव बढाउने र नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग नजिक गराउने मेलाको प्रमुख लक्ष्य रहेको उल्लेख गरे।
मेलामा सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुतितर्फ सर्वोत्कृष्ट बन्दै किरात राई यायोख्या यूकेले ११ सय पाउण्ड नगदसहित एम्बासडर कप जित्यो । विजेता संस्थालाई तीन सय पाउण्ड नगदसहित एनआरएनए कप पनि प्रदान गरियो ।
त्यस्तै, दोस्रो र तेस्रो स्थान हासिल गर्ने घान्द्रुक समाज यूके र पासा पुचः गुथि यूकेले क्रमशः सात सय र पाँच सय पाउण्ड नगदसहितका पुरस्कार प्राप्त गरे।
झाँकीतर्फ किरात राई यायोख्याले प्रथम, पासा पुचः गुथिले दोस्रो र घान्द्रुक समाज यूकेले तेस्रो स्थान हासिल गरे । नृत्यतर्फ घान्द्रुक समाज यूके प्रथम र किरात राई यायोख्खा दोस्रो भए। दुवै विधामा पहिलो हुनेले सात सय, दोस्रोले पाँच सय र तेस्रोले तीन सय पाउण्ड नगदसहितको पुरस्कार प्राप्त गरे।
मेलामा यस पटक सुरु गरिएको दुई सय पाउण्ड नगदसहितको प्रेसिडेन्ट च्वाइस पुरस्कार पासा पुचः गुथि यूकेले पायो।
निर्णायकको भूमिका साहित्यकार एकेन्द्र गुरुङको संयोजकत्वमा सङ्गीतकार विक्रम गुरुङ, कलाकार माओत्से गुरुङ, ताराबहादुर गुरुङ, चन्द्र कोई राई, कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, नृत्यकार बालकाशी गुरुङ र नायिका रजनी गुरुङले निर्वाह गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली
-
उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ नामक पुस्तक लोकार्पण
-
ह्वात्तै घट्यो मूल्यवृद्धि, कहाँ कस्तो छ अवस्था ?
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबाट किन झस्कियो माओवादी ?