मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

सोमबार, ११ भदौ २०८०, २१ : ०७
सोमबार, ११ भदौ २०८०

आज २०८० भदौ ११ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा संसदीय समितिले बल्ल पाए सभापति, सुन तस्करी प्रकरणमा महराका बाबुछोरामाथि पनि अनुसन्धान हुने, एसिया कप खेल्न पाकिस्तान प्रस्थान गरे सन्दीप, धनगढीस्थित स्वस्तिक अस्पतालमा बिरामीको मृत्युपछि तनाव, यती तथा ओम्नीजस्ता काण्ड छानबिन गर्न ओलीको चुनौती, गौर हत्याकाण्डको विषयलाई हेगमा लैजाने प्रभु साहको चेतावनी लगायत छन् ।

१. संसदीय समितिले बल्ल पाए सभापति
प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । १० वटै समितिका सभापति निर्विरोध चयन भएका हुन् । 

२. सुन तस्करी प्रकरणमा महराका बाबुछोरामाथि पनि अनुसन्धान हुने
विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको तयारी गरिएको छ । २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो । सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले महराका बाबुछोरामाथि पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

३. एसिया कप खेल्न पाकिस्तान प्रस्थान गरे सन्दीप
नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तानतर्फ प्रस्थान गरेका छन् । उनी सोमबार बिहान पाकिस्तानतर्फ प्रस्थान गरेका हुन् ।

४. धनगढीस्थित स्वस्तिक अस्पतालमा बिरामीको मृत्युपछि तनाव
पत्थरीको अप्रेसनको क्रममा बिरामीको मृत्यु भएपछि धनगढीस्थित स्वस्तिक अस्पतालमा सोमबार बिरामीका आफन्तले विरोध प्रदर्शन गरेका छन् । अस्पताल र मृतकका आफन्तबिच वार्ता भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । उक्त अस्पताल अवैधानिक रहेकोसमेत खुलेको छ ।

५. यती तथा ओम्नीजस्ता काण्ड छानबिन गर्न ओलीको चुनौती
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समेत नाम जोडेर आएका भ्रष्टाचारका ठुला काण्डहरुको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार काठमाडौँमा आयोजित एमाले जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले कमिसनका लागि पछि कुद्ने पार्टी नभएको दाबी गरे ।

६. एमसीसी कार्यान्वयनविरुद्ध विप्लव नेतृत्वको नेकपाको अगुवाइमा अन्तरक्रिया
एमसीसी परियोजना कार्यान्वयन विरुद्ध विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा सत्तारुढ घटककै दलले समेत एमसीसी कार्यान्वयन गर्न नहुने तर्क गरेका थिए ।

७. मुन्धुममा गाईगोरु त के, किरा–फट्याङ्ग्रासमेत मार्ने कुरा छैन : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गैर लिम्बू समुदायले गाई गोरुको बलि चढाउने चलन किराँतको धर्मग्रन्थमै उल्लेख भएको भन्दै मुन्धुमको अपव्याख्या गरेकोप्रति आपत्ति जनाएका छन् । देशका धरान लगायत केही सहरहरूमा गाईगोरु हत्या गरेको विषयमा आन्दोलन चर्किरहेको बेला लिङ्देनले सामाजिक सञ्जालमार्फत लिम्बुहरूको पवित्र ग्रन्थ मुन्धुममा गाई गोरु त के किरा–फट्याङग्रा समेत मार्ने कुरा उल्लेख नरहेको जिकिर गरेका हुन् ।

८. गौर हत्याकाण्डको विषयलाई हेगमा लैजाने प्रभु साहको चेतावनी
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिएका छन् । सोमवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएको भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिएका हुन् ।  

९. सारुकको आत्महत्यापछि पहिलो पटक प्रतिक्रिया दिइन् नम्रताले
अभिनेत्री नम्रता श्रेष्ठले सारुक आत्महत्या प्रकरणबारे पहिलो पटक बोलेकी छन् । नम्रताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे लामो स्ट्याटस लेखेर धेरै समयपछि केही वास्तविक सूचना प्रवाह गरेको बताएकी छन् । उनले आफ्नोबारे मिडिया तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल गरेकी छन् ।

१०. माओवादीको तीन महिने अभियानको तयारी अन्तिम चरणमा
भदौ १६ गतेदेखि सुरू हुने नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । २५ लाख जनताबिच पुग्ने लक्ष्यसहित तीन चरणको अभियान सुरू गर्न लागेको माओवादी केन्द्रले सातै प्रदेशमा पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी सदस्यहरूको जिम्मेवारी टुङ्ग्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप