सुनथराली विमानस्थलको परीक्षण उडान स्थगित भएपछि कर्णालीका पूर्वमुख्यमन्त्री शाहीले जनाए असन्तुष्टि

सुर्खेत । कालिकोटका जनताको भाग्य र भविष्यसँग जोडिएको सुनथराली विमानस्थलको परीक्षण उडान स्थगित भएपछि कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असन्तुष्टि व्यक्त गरेका छन् ।
आगामी बुधबार परीक्षण उडान गर्ने भनिए पनि सोमबार उक्त कार्यक्रम स्थगित भएको जानकारी पर्यटनमन्त्री सुदन किरातीले दिएका थिए । कालिकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद समेत रहेका शाहीले भदौ १३ मा कोटबाडा (विमानस्थल स्थल) को आकाशमा जहाज उडेको देख्ने कालिकोटबासीको सपना रहेको र उक्त सपना अन्तिम समयमा आएर पूरा नभएकोमा आफू निकै लज्जित भएको बताएका हुन् ।
शाहीले ०७९ मंसिरमा भएको प्रतिनिधिसभाको चुनावताका जसरी पनि सुनथरालीमा जहाज उडाइ छाड्ने प्रतिबद्धता जनतामाझ जनाएका थिए । उक्त प्रतिबद्धता पूरा नभएको भन्दै शाहीले मतदाता समक्ष क्षमा मागेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘प्रधानमन्त्रीको चाहना र कालिकोटको जनताको प्रतीक्षा थियो, ३८ वर्षे इतिहास बोकेको सुनथराली विमानस्थलमा जहाज देखियोस्, अर्थात् कोटबाडाको आकाशमा जहाज उडोस् ! साथै पश्चिम नेपालकै धार्मिक इतिहास बोकेको महत्त्वपूर्ण सुन्दर पर्यटकीय क्षेत्र बडिमालिका, त्रिवेणी धाम अवलोकन होस् । तर, अपसोच ! अन्तिम घडीमा भाद्र १३ गतेको त्यो सपना पूरा भएन ।’
सम्पूर्ण तयारीका बाबजुद पनि त्यो सपना पूरा हुन नसकेकोमा आफू निकै लज्जित भएको भन्दै उनले सम्पूर्ण कर्णालीवासी र कालिकोटका आफ्ना मतदाताप्रति क्षमा मागेका छन् ।
साथै शाहीले जस्तोसुकै परिस्थिति दोहोरिए पनि आफूले बोलेका र गरेका प्रतिबद्धताप्रति अहिले पनि इमानदार र प्रतिबद्ध रहेर लागिपरेको बताएका छन् ।
पर्यटन मन्त्री किरातीले भने आफ्नो बुबाको निधन र केही प्राविधिक कारण कार्यक्रम स्थगित भएको बताएका छन् । यद्यपि प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण कार्यक्रम स्थगित भएको बताइएको छ । किरातीले असोज १३ गतेका लागि पुनः परीक्षण उडान कार्य हुने जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा
-
मुग्लिङ–पोखरा सडक खण्ड विस्तार धमाधम (तस्बिरहरू)
-
रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?
-
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
-
२०८२ सालमा कुन-कुन राशिलाई शनिको अढैया तथा साढेसाति दशा छ ? हेर्नुहोस्
-
पञ्जाबका लागि नायक बनेका चहलले बनाए नयाँ रेकर्ड