ललितपुरमा हाटको अभ्यास : २०१६ सालमै मेला प्रदर्शनी पुस्तिका, ललितपुर महानगरसँग छैन कार्यविधि
प्रायः मंगलबार मनु केसी हाट भर्न भनिमण्डल छिर्छिन् । विगत चार वर्षदेखि हरेक मंगलबार हाटबजारमा बदलिने गर्छ, ललितपुर महानगरपालिका — ४ भनिमण्डलस्थित बास्केटबल ग्राउन्ड । यो हाटमा अहिले २२ वटा स्टलमार्फत कृषि उपजदेखि अचार लगायत घरेलु उत्पादन बिक्रीका लागि राखिन्छ ।
मनु यो हाटको ग्राहक भएको वर्ष दिन हुन आँट्यो । गएको मंगलबार (३० साउन) साँझ उनले तरकारी, गेडागुडी र केरा किन्दै थिइन् । ‘म डिल्लीबजार बस्छु, नख्खुमा मेरो कार्पेट फ्याक्ट्री छ । फ्याक्ट्रीबाट फर्कंदा प्रायः मंगलबार मैले यहीँबाट सामान लैजाने गरेकी छु,’ उनले भनिन्, ‘मुस्ताङको स्याउ, जुम्लाको दाल वा गेडागुडी भनेर बेचिन्छ, यी चिजको क्वालिटी फरक छ । विश्वसनीय लागेरै किन्ने गरेकी हुँ । सहरमा यस्ता हाट ठाउँठाउँमा हुनुपर्छ ।’
संखुवासभाका ५० वर्षीय प्रकाश राईको परिवारले चन्द्रागिरीमा १५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएको छ । उनीहरूले आफ्नो उत्पादन बिक्रीका लागि भनिमण्डल हाटमा ल्याउने गर्छन् । अघिल्लो मंगलबार प्रकाश दम्पती तरकारी बेच्न व्यस्त थियो । ‘उत्पादन गरेर मात्रै भएन, बजार चाहियो,’ अनुहारमा आत्मसन्तुष्टिका तरंग ल्याउँदै प्रकाश भन्छन्, ‘यहाँ दिनभरिमा १५ हजार हाराहारीको तरकारी बिक्री हुन्छ, महिनाका चार–पाँच दिन यस हाटबाट ६०–७० हजार रूपैयाँ बराबरको तरकारी बेच्छौँ भनौँ ।’
संखुवासभाबाट २०६० सालतिर नसा च्यापिएको उपचार गर्न प्रकाश काठमाडौं आएका थिए । उपचारसँगै आराम गरेर बस्नुपर्ने भएकाले उनले सुरुमा गोल्फुटारमा किराना पसल चलाएका थिए, अन्ततः उनी चन्द्रागिरीमा तरकारीखेती गर्न पुगे । सुरुसुरुमा उनले बल्खु तथा कालीमाटीका व्यापारीलाई तरकारी दिन्थे, सधैँ राम्रो मूल्य आउँदैनथ्यो ।
बानेश्वरको घराना रेस्टुरेन्टमा हरेक शनिबार यस्तै प्रकृतिको हाट लाग्छ, प्रकाशले त्यहाँ पनि तरकारीको स्टल राख्ने गरेका छन् । यस्तै चन्द्रागिरी वरिपरि सडकमा राखेर उनको परिवारले तरकारी बेच्दै आएको छ र उनीहरूका लागि बजारको अभाव छैन ।
भनिमण्डल हाटमा भनिमण्डल महिला समूहका पाँच सदस्यले सेलरोटी पकाएर बेच्ने गर्छन् । गत मंगलबार मन्दिरा नेपाल, अमला केसी, मीरा कुँवर, भद्रु राना र पद्मा मगर सेलरोटी, चना र झोल तरकारी पकाउन र बेच्न व्यस्त थिए । ग्राहक आउँदा उनीहरू कुनै स्थानीय भोजमा स्वयंसेवकका रूपमा खटिएका महिलाजस्तै प्रस्तुत हुन्छन् — सेलरोटी र चना मात्रै हजुर, झोल तरकारी लिइसिन्न ? उनीहरूको सम्मानजनक बोलीव्यवहारका कारण होला सायद, स्टलअगाडि राखिएका केही प्लास्टिकका कुर्सी खासै खाली हुँदैनन् ।
‘हप्ताको एक दिन भए पनि हामीले काम पाएका छौँ । केही खर्च पनि जुट्छ,’ मन्दिरा नेपाल भन्छिन्, ‘ठाउँठाउँमा यस्ता हाट बजार अलि ठूलो ठाउँमा चल्नुपर्छ । मान्छेहरूले काम पाउँछन् ।’
ललितपुर महानगरपालिका– ११ को ‘नारी जागृति महिला समूह’का चार सदस्यले यस हाटमा घरेलु उत्पादन अचार लगायत बेच्ने गर्छन् । अचार लगायत सामग्री उत्पादन गर्न उनीहरूले ललितपुर नगरपालिकाबाट तालिम लिएका हुन् । उनीहरूको स्टलअघि ब्यानर राखिएको हुन्छ — ललितपुर महानगरपालिकाबाट तालिम प्राप्त उद्यमीहरूद्वारा उत्पादित सामग्रीहरू ।
आफूले तालिम दिएकाहरूको उत्पादन बेच्नका लागि महानगरपालिकाले आफ्नो कम्पाउन्डभित्र हरेक शुक्रबार र शनिबार स्टल राख्न दिन्छ, अहिले बर्खामा त्यहाँको स्टल नचले पनि आफूहरूलाई बजारको समस्या नभएको समूहकी सदस्य मैया न्यौपाने बताउँछिन् । ‘हाम्रो सम्पर्कमा नियमित ग्राहक हुनुहुन्छ । कमाइ ठीकै छ, बढी कमाउनेभन्दा पनि स्वस्थ र व्यस्त रहन पाइएको छ,’ उनले भनिन् ।
यस हाटमा इलाम साखेजुङकी गीता बम ठकुरीले विभिन्न प्रकारका चियाको स्टल राखेकी छन् । उनको स्टलमा ब्यानर लेखिएको छ — फ्री टी टेस्टिङ (चिया निःशुल्क चाख्नुस्) । आफ्नो स्टल अगाडि पुग्नेलाई उनले मुस्कानसहित सोध्छिन्, ‘चिया पिउनुहुन्छ ?’
उनले ‘बीजी अर्गानिक अर्थ’ कम्पनीमार्फत चार प्रकारका उत्पादन बेच्छिन् — विभिन्न प्रकारका चिया, कफी, घिउ र मह । काठमाडौंंको नयाँबजारमा उनको पसल छ ।
उनका आमाबुवाले इलाममा चियाखेती गर्छन् । गीताका लागि चियाको स्वाद र ज्ञान नौलो होइन । सरस्वती कलेजमा एमबीएस गर्दै गरेकी गीताले काठमाडौंमा चियाको बजार देखेरै यो व्यवसायमा लागेकी हुन् । उनले इलामका स्थानीय कारखानाबाट गुणस्तरीय चिया–कफी, मह र घिउ ल्याउने गरेकी छन् । हरेक शुक्रबार र शनिबार उनले सिटी सेन्टरमा पनि स्टल राख्छिन् । ‘मेरा खास ग्राहक विदेशी हुन् । तर नेपाली ग्राहक पनि चियाको नयाँ नयाँ स्वादमा आकर्षित हुन थाल्नुभएको छ,’ उनले भनिन्, ‘विभिन्न स्वादका चियाको मार्केटिङका लागि नै मैले यहाँ स्टल राखेकी हुँ । यहाँ निःशुल्क चिया चाख्न पाइन्छ, किनिहाल्नुपर्दैन ।’
हाट किन ?
भनिमण्डल हाटको आयोजक ‘भनिमण्डल क्लब’ हो भने व्यवस्थापक हुन्, राजन खड्का अर्थात ‘स्मार्ट एग्रिकल्चर आउटलेट’का सञ्चालक ।
खड्काले ‘बिल्ड नेपाल म्यानेजमेन्ट’ कम्पनी समेत चलाउँदै आएका छन् । उनको ‘कम्पनी’ र ‘आउटलेट’ दुवैको काम अनलाइन वा पसलबाट नेपाली उत्पादनको बिक्री गर्नु हो ।
२०७४ को चुनावमा वडाध्यक्ष र २०७९ को चुनावमा उपमेयरको स्वतन्त्र उम्मेदवार रहेका ४३ वर्षीय खड्का स्वदेशी उत्पादनले स्वदेशमै बजार पाउनुपर्छ भन्नेमा दृढ छन् । ‘आयात बढ्यो, किसानले मूल्य पाएनन् भन्ने सुन्दा त्यति राम्रो लाग्दैनथ्यो,’ ललितपुर महानगरपालिका–४ बागडोलका खड्का भन्छन्, ‘त्यसैले हाट बजार चलाउने रहर जाग्यो । हाटबजार हाम्रा लागि नयाँ होइन, पछिल्लो समय सहरमा पनि विभिन्न रूपमा यसको अभ्यास हुन थालिसकेको छ ।’
यसअघि भनिमण्डल नजिकै युवा व्यवसायी सौरभ ढकालको समूहले हाट सुरु गरेको थियो । त्यसबाटै प्रभावित भएर खड्काले केही साथीसँग मिलेर भनिमण्डलमा मंगलबारे हाट चलाएका हुन् । अहिले भने यस हाटको व्यवस्थापक उनी मात्रै हुन् । ‘हामी यो बजारलाई स्वदेशी उत्पादनको स्थानीय बजार भन्छौँ । यसमा तरकारीजन्य वस्तु बेच्न किसान स्वयं आउनुपर्छ अर्थात् तरकारी उत्पादन गरेको मान्छेले मात्रै यहाँ स्टल राख्न पाउँछ । यसमा पनि विषादीरहितलाई जोड दिइएको छ,’ उनी भन्छन्, ‘बारा, यमरी, सेलरोटीजस्ता स्थानीय परिकारलाई प्राथमिकतामा राखिएको छ । यस्तै हस्तकला, मूर्तिकला, काष्ठकला, चित्रकला आदि समेट्दै जाने हाम्रो योजना छ ।’
भनिमण्डल क्लबका कोषाध्यक्ष मधुकर कार्की स्वदेशी उत्पादनले बजार पाउने भएका कारण आफूहरूले हाटबजारको आयोजना गरेको बताउँछन् । ‘हाटबजारका लागि स्थानीय सरकारले नै खासखास सार्वजनिक स्थान दिनुपर्ने हो,’ उनी भन्छन्, ‘तराईतिर जस्तो अलि ठूलै क्षेत्र हाटबजारका लागि उपलब्ध गराइयो भने स्वदेशी उत्पादनले बजार पाउँछ । स्वदेशी भनेर मात्रै हुँदैन, गुणस्तरलाई ध्यान दिनुपर्छ ।’
२०१६ सालतिरको मेला
संस्कृतको ‘हट्ट’ शब्दबाट हाट शब्द बनेको हो । हाट शब्दले ‘तोकिएको बार वा समयमा गाउँहरूमा लाग्ने सानो बजार, अस्थायी दुकान वा पसल’को अर्थ दिन्छ । प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत शब्दकोश’ अनुसार, मेला शब्दले पनि ‘खास अवसरमा लाग्ने बजार वा ठुलो हाट’को अर्थ दिन्छ ।
हाट वा मेलाको इतिहास यकिनका साथ भन्न सकिँदैन, वस्तु विनिमयको अभ्याससँगै खासगरी मुद्राको उत्पत्तिपछि हाट वा बजारको अभ्यास हुँदै आएको अनुमान गर्न सकिन्छ । व्यापारीहरूले आफ््ना वा अरुका खास उत्पादनलाई एक ठाउँबाट अर्को ठाउँ अर्थात् एक गाउँ, एक देश, एक महादेशबाट अर्को गाउँ, देश, महादेशमा पुर्याउन थालेको धेरै पुराना इतिहास भेटिन्छ ।
हामीकहाँ सरकारी स्तरबाटै हाट वा मेलाप्रति चासो दिन कहिलेदेखि थालियो होला ? यस प्रश्नको जवाफ खोज्दा २०१६ सालमा प्रकाशित एउटा पुस्तिका भेटियो । त्रिभुवन ग्राम तथा जिल्ला विकास विभाग, सिंहदरबारको ‘समाज शिक्षा सेक्सन’ले प्रकाशन गरेको ‘मेला प्रदर्शनी’ नामक पुस्तिकामा मेला आयोजना सम्बन्धमा केही सुझाव उल्लेख छन् । यस पुस्तकको सुरुमै लेखिएको छ, ‘यस पुस्तिकाको मुख्य लक्ष्य विकास मेला आयोजनाका सम्बन्धमा केही सुझाव दिनु हो ।’
यस पुस्तिकामा मेलाको आकार–प्रकारदेखि मेला लाग्ने स्थान कस्तो हुनुपर्ने, मेलामा मनोविनोदका कार्यक्रम केकस्ता हुनुपर्ने आदि उल्लेख छ । यस्तै, कृषि, पशुहरू, सुधारिएका पशुहरू, हस्तकला, शिल्पकला आदि मेलामा प्रदर्शन गर्नुपर्ने समेत पुस्तकमा उल्लेख छ ।
पुस्तिका भन्छ, ‘व्यापारिक दृष्टिकोणबाट फाइदा हुने हुनाले अन्य गाउँलाई समेत त्यो फाइदा दिलाउन मेला आयोजकले बेला–बेलामा मेला लगाउने स्थान बदल्नुपर्छ । मेला जहिले पनि ऐतिहासिक वा धार्मिक स्थानको नजिकै लगाउनु राम्रो हुन्छ । अरु नै स्थान पनि छान्न सकिन्छ तर स्थान धेरै मानिसको उपस्थिति सम्भव हुने र पाइक परेको हुनुपर्छ ।’
यस पुस्तिका अनुसार, मेला तीन प्रकारका छन् — सानो (ग्रामीण मेला), मझौला (प्रोजेक्ट मेला) र जिल्लाव्यापी ।
पुस्तिकाले मेलामा स्वास्नी मानिस र केटाकेटीलाई भाग लिन दिनुपर्नेमा जोड दिएको छ । मेलामा कस्ता मनोरञ्जनका कार्यक्रम हुने भन्ने सम्बन्धमा पुस्तिका भन्छ, ‘मनोरञ्जनले पनि मेलामा एक महत्त्वपूर्ण स्थान लिन्छ । यस्ता मनोविनोद सुस्वस्थ हुनुपर्छ । भट्टी वा जुवा खेल्ने घरहरू राख्नु हुँदैन । मनोविनोद कार्यक्रममा विकाससम्बन्धी नाटक, संगीत, चलचित्र आदि राख्नुपर्छ । ग्रामीण वाद्यवादन, लोकनृत्य, कठपुतलीको तमासा र अरु यस्तै किसिमका मनोरञ्जन दर्शाउनुपर्छ ।’
मेला ऐतिहासिक वा धार्मिक स्थानको नजिक लगाइएको छ भने विकास योजनाको प्रसंगमा ऐतिहासिक वा पौराणिक कथाहरूको व्याख्या गर्ने काम पनि मनोविनोद कार्यक्रममा राख्नु उचित हुने पुस्तिकामा उल्लेख छ ।
त्यतिबेला मेला प्रायः रातमै लाग्ने गरेको बुझिन्छ । उज्यालोका कारण गाउँलेहरू आकर्षित हुने हुनाले मेलामा उज्यालोको प्रबन्ध गर्नुपर्नेमा पुस्तिकामा जोड दिइएको छ । पुस्तिका भन्छ, ‘बिजुली बत्ती भएको ठाउँ भए त मेला साह्रै रमाइलो हुन्छ । तर जहाँ बिजुली बत्ती छैन त्यहाँ ग्यासबत्ती, पेट्रोमेक्स आदिको व्यवस्था गर्नुपर्छ । बत्तीका चमकले ग्रामीणहरूलाई साह्रै आकर्षित गर्दछ र मेला समितिले प्रशस्त उज्यालाको व्यवस्थामा लाग्ने खर्च गर्न गाह्रो मान्नु हुँदैन ।’
यस सरकारी पुस्तिका ऐन–कानुन त होइन, तैपनि कता–कता नियमन गर्न खोजेजस्तो पनि बुझिन्छ । ‘मेला समितिमा ब्लक अन्तर्गत गाउँका पञ्चहरू त रहन्छन् नै, अरु उनीहरूले आफ्ना–आफ्ना क्षेत्रका मानिसलाई विश्वास दिलाउनुपर्छ कि यस मेलामा सर्वसाधारण मानिसले उत्साहपूर्वक भाग लिन पाउँछन् । केन्द्रीय ग्राम विकास अन्तर्गतको प्रचार विभागले मेला लगाउने कुराको पूर्व सूचना दिनुपर्छ,’ पुस्तिकामा उल्लेख छ ।
सागरबहादुर प्रधानले २०१७ सालमा गरेको एक अध्ययन (धरानमा सुन्तला बजारको अध्ययनको रिपोर्ट)लाई कृषि विभाग अन्तर्गतको ‘एगृ एकोनोमिष्ट सेक्सन’ले प्रकाशन गरेको थियो । त्यस रिपोर्टमा भनिएको छ, ‘धरानको नयाँ बजार र पुरानो बजारमा हप्तामा दुई दिन शुक्रबार र शनिश्चरबार आलोपालो हाट लाग्दछ । यहाँ सुन्तलाका भारीहरू धनकुटा भोजपुरका विभिन्न इलाकाहरू मुख्यतः चौबिसे खोकु, छिन्टाङ, सभाउत्तर, दिंग्ला, छिनामाखु आदिबाट आउँछन् । टाढामा मान्टेबा र धरानबाट ६ दिनको बाटोबाट पनि केही भारीहरू आउँछन् । सुन्तला किन्ने महाजनहरू भारतको जोगबनी तथा आसपासका केन्द्रबाट मुख्यतः फार्बेसगन्ज, डुमरिया, पुर्निया र भागलपुर देखिन आउँछन् ।’
यसले दर्शाउँछ, हाम्रा किसानले बजार खोज्न कम्ता दुःख गरेनन् । कृषकलाई बजारको दुःख अद्यापि छँदै छ, फरक यही हो, अचेल अधिकांश क्षेत्रमा सडक सुविधा पुगेको छ ।
कानुनी व्यवस्था
संविधानको अनुसूची ८ अनुसार, स्थानीय बजार व्यवस्थापनको अधिकार स्थानीय तहलाई छ । संविधानको यही व्यवस्थालाई ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’मा ‘नियमन कार्य’ अन्तर्गत समेटिएको छ, ‘हाट बजारको व्यवस्थापन गर्ने, गराउने’ । यही ऐनलाई टेकेर केही पालिकाले ‘हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि वा निर्देशिका’ ल्याएको देखिन्छ ।
भनिमण्डल मंगलबारे हाटका व्यवस्थापक राजन खड्का ‘स्थानीय सरकार सञ्चालन ऐन’मा टेकेर हरेक पालिकाले हाट व्यवस्थापनको कार्यविधि बनाउनुपर्ने र सार्वनिक स्थानमा हाट सञ्चालन गर्न पालिकाहरुले सहजीकरण गर्नुपर्ने बताउँछन् ।
उनकै ‘बिल्ड नेपाल म्यानेजमेन्ट’को व्यवस्थापन र जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको आयोजनामा संघकै कार्यालय महालक्ष्मी स्थानमा यही भदौ १ देखि हरेक शुक्रबार र शनिबार ‘साझा सहकारी हाट बजार’ सञ्चालन हुँदै आएको छ ।
यता, ललितपुर महानगरपालिकाले अहिलेसम्म हाटबजार व्यवस्थापनको कार्यविधि बनाएको छैन । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार, ललितपुर महानगरपालिकाले हस्तकला वा घरेलु उत्पादनलाई भने प्रोत्साहन गर्दै आएको छ । ‘अहिलेसम्म महानगरपालिकाको सामुदायिक शाखामा चार सय २७ वटा महिला समूह दर्ता छन् । उनीहरूका लागि हामीले सीप विकास तालिम लगायत कार्यक्रम गर्दै आएका छौँ । उनीहरूको उत्पादनको बजार तथा प्रदर्शनीका लागि हामीले महानगरपालिकाको प्रांगणमै हरेक शुक्रबार र शनिबार ठाउँ उपलब्ध गराउँछौँ,’ आइतबार साँझ प्रवक्ता महर्जनले टेलिफोनमार्फत भने, ‘महिला समूहलाई समेट्न हामीले सामान्य मापदण्ड बनाएका छौँ, कार्यविधि भनेर पास भएको छैन ।’
स्थानीय उत्पादनलाई नै बजार दिने उद्देश्यले हाटबजार चलाउन कार्यविधि आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन
-
अपडेट: अन्डरवेयरमा लुकाएको विदेशी मुद्रा बरामद
-
मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि