नेपाल कहाँ पर्छ ? हिमवत्खण्डमा
जसरी हिमवत्खण्डले ओगट्ने भौगोलिक क्षेत्रफल अनेकौँ विविधतासहित विशाल छ, त्यसैगरी यसको गहनता अनि महत्ता व्यापक र विशाल छ । जसलाई आध्यात्मिक, ऐतिहासिक र भौगोलिक पाटाबाट बुझ्न जरुरी छ । यहाँ हिमवत्खण्डको परिचय र महत्त्वबारे केही उल्लेख गर्ने जमर्को गरिएको छ ।
आध्यात्मिक तथा ऐतिहासिक पाटो : पौराणिक ग्रन्थका अनुसार हिमवत्खण्ड भन्नेबित्तिकै प्राचीन ऋषिमुनिहरूको पवित्र तपोभूमि भन्ने बुझिन्छ ।
भौगोलिक पाटो : हिमवत्खण्ड भनेको हिमालय पर्वतद्वारा समाविष्ट भूगोलको एउटा खण्ड पनि हो । अब हिमवत्खण्डबारे अलि विस्तृत तवरले बुझौँ ।
हिमवत्खण्डबारे विभिन्न विद्वान् तथा लेखकले विभिन्न दृष्टिकोणसहित वर्णन गरेका छन् । वेदव्यासद्वारा रचित १८ पुराणमध्ये प्रमुख स्कन्द पुराणअन्तर्गत एउटा खण्डमा हिमवत्खण्डको महिमा उल्लेख छ । २०१३ सालमा योगी नरहरिनाथले स्कन्ध पुराणको संस्कृत भाषामा वर्णन गरिएको हिमवत्खण्डलाई संकलन र सम्पादन गरेका थिए । जसमा उनको भनाइ छ, ‘हिमालयपालित सिन्धु प्रदेशदेखि ब्रह्मपुत्रसम्म फैलिएको मानसरोवर समन्वित भूखण्ड नै हिमवत्खण्ड क्षेत्र हो ।’
हिमवत्खण्डबारे संस्कृतका महाकवि कालिदासद्वारा रचित ‘कुमारसम्भव’मा भनिएको छ, ‘सवा लाख पर्वतमाला समावेश रहेको हिमालय पर्वतको भूखण्ड, जसले पूर्व र पश्चिम दिशाका समुद्रलाई स्पर्श गर्छ ।’
यसरी हेर्दा हिमवत्खण्ड भन्नाले हिमाली भू–भाग मात्र नभई समुद्री सतहबाट करिब ६६०० मिटर उचाइमा अवस्थित कैलाश पर्वत, ४५०० मिटर उचाइमा रहेको मानसरोवर ताल आसपास करिब २५०० किलोमिटर पूर्व र पश्चिमसम्म विस्तृत भएका विशाल हिमाली शृंखला र ती हिमालयका फेदीबाट निःसृत नदी खोला, झरना, तालतलैया तथा तिनको जलाधार क्षेत्र अर्थात् अनेकौँ भौगोलिक बनावटसहितको समष्टि भन्ने बुझिन्छ ।
पश्चिममा कैलाश मानसरोवरबाट प्रश्रवित सिन्धु नदी, पूर्वमा तिब्बतबाट प्रवाहित भई भारतको अरुणाचल प्रदेशबाट बङ्गलादेश हुँदै हिन्द महासागरमा मिसिने ब्रह्मपुत्र नदी (जसलाई तिब्बतमा दिहाङ्ग नदी भनिन्छ), उत्तरमा कैलाश पर्वतसँगै हिमालय पर्वत शृंखला र दक्षिणमा गङ्गा नदी तट र यस बीचमा अवस्थित सम्पूर्ण जल, जङ्गल, जमिनसहितको क्षेत्रलाई समष्टिमा हिमवत्खण्ड भनिन्छ ।
सिन्धु नदीको कुरा गर्दा, यसको किनारमा करिब पाँच हजार वर्षपहिले नै सिन्धुघाँटी सभ्यता अर्थात् पहिलो व्यवस्थित र उन्नत मानव सभ्यताको विकास भएको मानिन्छ । खोज, पुरातात्त्विक अन्वेषण तथा अनेकौँ वैज्ञानिक परीक्षणद्वारा पुष्टि भए अनुसार तत्कालीन समयमा भारतीय उपमहाद्विपको विशाल भू–भागमा फैलिएको यस सभ्यतालाई मोहनजोदाडो र हडप्पा सभ्यताको नामले चिनिन्छ । मानसरोवरबाट निःसृत भई भारतको जम्मु कास्मिर हुँदै पाकिस्तानको सिन्ध प्रान्तमा बगेर अरब सागरमा खस्ने यो नदीलाई पाकिस्तानको राष्ट्रिय नदी पनि मानिन्छ ।
हिमालयको फैलावटले पूर्व र पश्चिम दुवै दिशाका समुद्र अरब सागर र हिन्द महासागरसम्म स्पर्श गर्छन् । त्यसभन्दा पश्चिम इराक–इरानतर्फ करिब १६ सय किलोमिटर फैलिएको जाग्रोस हिम शृंखला सुरु हुन्छ ।
यो भयो, हिमवत्खण्डको भौगोलिक परिचय । अब यसको ऐतिहासिकता, नेपाल भूमि र हिमवत्खण्डको अन्तर्सम्बन्ध के हो ? किन हिमवत्खण्ड र नेपाल सँगसँगै जोडिएर आउँछन् ? किन हिमवत्खण्डमा नेपाल भूमिको अत्यन्तै महत्त्वपूर्ण स्थान छ, यसबारे केही चर्चा गरौँ ।
हिमवत्खण्ड र नेपाल भूमि
नेपाल कहाँ पर्छ ? हिमवत्खण्डमा । हिमवत्खण्ड कहाँ छ ? नेपालमा । यसो भन्नु सायद अतिशयोक्ति हँुदैन ।
भौगोलिक अवस्थितिलाई हेर्दा हाम्रो देश नेपाल लगभग समग्र हिमवत्खण्डको मध्य भागमा पर्छ । हिमवत्खण्डको सम्पूर्ण ओज थेग्न सक्ने र सिङ्गो विशेषता सादृश्य हुने सानो तर सुन्दर हिमाली देशका हामी नेपाली यसै भूखण्ड निवासी हौँ । हिमवत्खण्डका सम्पूर्ण अवयव यहाँ प्राप्य छन् । यस देशले सम्पूर्ण हिमवत्खण्डको पूर्ण प्रतिनिधित्व गर्ने क्षमता राखेको छ ।
हिमवत्खण्ड बुझ्न पहिले नेपाललाई बुझ्नुपर्छ । यस भूमिको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, आध्यात्मिक र प्राचीन महत्त्व जान्नुपर्छ । यस धरामा उत्पत्ति भएका वैदिक सनातन धर्म, संस्कार, परम्परा, मूल्य–मान्यतासँग एकाकार हुनुपर्छ । त्यसका लागि यहाँ आएर यस भूमिसँग साक्षात्कार हुन जरुरी छ ।
तपोभूमि
प्राचीन ऋषिमुनिले हिमवत्खण्डस्थित यसै पवित्र नेपाल भूमिमा रहेर तपस्या गरे । जुन कुरा हाम्रा विभिन्न तीर्थस्थल तथा ऐतिहासिक ग्रन्थमा सप्रमाण उल्लेख छन् ।
यसै पनि नेपाल विश्वभर देवभूमि, पुण्यभूमि र तपोभूमिका नामले प्रख्यात छ । यस पुण्यभूमिमा भगवान् शंकरले आफ्नी अर्धाङ्गिनी पार्वती सँगै रहेर योग तथा तपस्या गरेको हिमालय पर्वत अवस्थित छ, जहाँबाट योगको उदय भएको मानिन्छ । अनेकौँ देवी–देवताको निवास रहेको पवित्र तीर्थस्थल, नदी किनारमा अवस्थित आश्रम यसै पवित्र भूमिमा छ । वेदव्यास रचित चार वेद, गीता, महाभारत आदि (जसमा मानव समाज र सिङ्गो ब्रह्माण्डका बारेमा विज्ञानसम्मत तवरले व्याख्या गरिएको छ) पूर्वीय वाङ्मयका निधि हुन् ।
तत्त्व ज्ञानी विदेहराजा जनकले राज गरेको मिथिला नगरी र मिथिला सभ्यता, सीताजस्ती पवित्र नारी अनि एसियाका ज्योति गौतम बुद्धको जन्मभूमि, अष्टवक्र, याज्ञवल्क्य, गार्गीजस्ता प्रकाण्ड विद्वान्–विदुषीका आध्यात्मिक चिन्तनद्वारा निर्देशित समाजका हामी पूर्वीय दर्शनका मूल्य–मान्यता र यसका आदर्शलाई शिरोपर गर्दछौँ ।
हिमवत्खण्डमा करिब पाँच हजार वर्षअगाडि नै पूर्वीय दर्शन, वैदिक सनातन धर्म र संस्कृतिको प्रादुर्भाव हुन गयो । त्यसैको ज्ञानज्योतिद्वारा आलोकित, आभूषित हुने भाग्यमानी हौँ हामी । महाज्ञानी ऋषिमुनिले स्थापित गरिदिएका सामाजिक मूल्य–मान्यता, सिद्धान्त, परम्परा, संस्कार र दर्शनद्वारा निर्देशित हुने अहोभाग्य हामीले पायौँ ।
यद्यपि हाम्रा प्राचीन धर्म–संस्कृतिमा कतिपय रुढीवादी परम्परा नभएका होइनन् । मनुस्मृतिमा शुद्रलाई ब्रह्माका पाउबाट जन्मेको भनिएको छ । गरुड पुराणमा उल्लेख भएको स्वर्ग र नर्क, पितृमोक्षको सन्दर्भ, अरु अनेकौँ ग्रन्थमा उल्लेख भएका स्त्रीद्वेषी आख्यानलाई आजको समय र चेतनाको दृष्टिकोणबाट हेर्दा कदापि सहमत हुन सकिँदैन ।
भारतमा शंकराचार्यले भन्दै ‘एको ब्रह्मा द्वितीय नाश्ती’ अर्थात् दुनियाँमा एक ब्रह्मा मात्र सत्य हो बाँकी सबै मिथ्या हो, ‘अहं ब्रह्माष्मी’ अर्थात् म नै ब्रह्म हँु भन्ने अद्वैतवादी वेदान्ती दर्शनमार्फत नयाँ भाष्य स्थापित गरिदिए, यसपछि प्राचीन पूर्वीय मूल्य–मान्यता, संस्कार, परम्परा केही फरक मार्गतर्फ मोडिएर यात्रा गर्न लागेको हो ।
यसबीचमा वेदान्त दर्शन, गीता, ब्रह्मसूत्र, उपनिषद्को भाष्य लेखिए । शक्तिपीठ देवालयमा वेद, चण्डी, गीता, रुद्रीपाठ, हवन, पूजा आदिका प्रक्रिया चलाउने कार्य हुन पुगे । यसै सिलसिलामा वैदिक सनातन धर्मको पुनर्जागरण तथा वैदिक धर्मको व्यवस्था अक्षुण्ण राख्न भन्दै शंकराचार्यले सम्पूर्ण हिमवत्खण्ड क्षेत्रसहित नेपालको पशुपतिको यात्रा गरेको पाइन्छ । सम्पूर्ण वेद, उपनिषद्को ज्ञान हासिल भएका उनीमा तार्किक क्षमता, अद्वितीय विद्वता र वाक्पटुताका कारण विरोधी मतलाई शास्त्रार्थद्वारा पराजित गर्ने खुबी थियो । शंकराचार्यले नै बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा समाहित गरिदिए । यो एक प्रकारले शंकराचार्यको चलाखी थियो भन्न सकिन्छ ।
जेहोस्, विश्वमा मानव सभ्यताको ज्येष्ठ भूमि, ज्ञानोदयको आदिभूमि हुनुका नाताले र जीवन तथा ब्रह्माण्डका बारेमा खोज–अनुसन्धानका अध्येता, सुरुवातकर्ता महामानवको विशेषता, गुण र जिन बोक्दै यसै पवित्र भूमिमा जन्म लिएर उनीहरूको उपदेशद्वारा अनुप्राणित भएर बाँच्न पाउनुमा हामीलाई गर्व छ ।
हिमवत्खण्डबाटै प्रादुर्भाव भएको वैदिक वाङ्मयको विपुल ज्ञानको सम्पदा नयाँ पुस्तामा हस्तान्तरण हुन जरुरी छ । चार वेद, षड्दर्शनभित्र अन्तर्निहित विज्ञानलाई उजागर गरिनु जरुरी छ । हिमवत्खण्ड र हाम्रो देशको अन्तर्सम्बन्ध तथा यसको महत्त्वबारे सबैले बुझ्ने कोसिस गरून् । यस पवित्र भूमिमा रहेर जीवन निर्वाह गर्ने सबैले सत्यको मार्ग अनुसरण गरून् ।