खरायो पालक किसानको बस्तीमा कर्णालीका कृषिमन्त्री
सुर्खेत । कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री भीम प्रकाश शर्मा खरायो पालक किसानहरूको बस्तीमा पुगेका छन् । जुम्लाको चन्दनाथ नगरपालिका–८ र ९ खरायो पालनका लागि ‘हब’का रूपमा चर्चित छन् ।
मन्त्री शर्मा शनिबार ती गाउँमा पुगेका थिए । त्यहाँ अंगुरा जातको खरायो पाल्ने गरिएको छ । वडा नम्बर ८ का खरायो पालक किसान पदम बहादुर रोकायाले खरायो पाल्न थालेको १७ वर्ष भयो । ‘रोकाया खरायो पालन उद्योग’ छ, उनको । अहिले उनीसँग ९० वटा खरायो छन् ।
सोही वडाका भैरव धरालाले पनि व्यावसायिक रूपमा खरायो पालन गरिरहेका छन् । उनको भुवानी कृषि तथा तथा पशुपंक्षी उद्योग छ । ८० वटा खरायो पालिरहेका उनले सरकारले अनुदान दिएपछि थप हौसला मिलेको बताए । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले उनलाई १ लाख २८ हजार रुपैयाँ अनुदान दिएको रहेछ । उनी भन्छन्, ‘खरायो पालन व्यवसायबाट आर्थिक आम्दानी पनि राम्रो हुने गरेको छ । यसलाई अझै व्यावसायिक रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ ।’
गत आर्थिक वर्षमा दुई वटा वडाका गरी ४ जना खरायो पालक किसानले १ लाख २८ हजारका रुपैयाँका दरले अनुदान प्राप्त गरेका थिए । त्यसमा १ लाख २८ हजार स्वयम् किसानको लगानी हुन्छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयले गत आर्थिक वर्ष १ सय वटा खरायो अनुदानमा वितरण गरेको थियो ।
सोही वडाका विर्ख बहादुर धराला खरायो पालन गर्दा व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन् । ‘हामीले तालिम पाएका छैनौँ, खरायो कसरी पाल्ने भन्ने विषयमा ज्ञान सबैलाई छैन ।’ उनका अनुसार व्यावसायिक रूपमा खरायो पालन गर्दा भाले र पोथीलाई फरक–फरक ठाउँमा राखेर योजनामै प्रजनन् गराइन्छ ।
सामान्यतयाः यसको गर्भास्था जम्मा ३१ दिनको हुन्छ । खरायोमा १२ महिना नै बच्चा उत्पादन गर्ने क्षमता हुन्छ । यसलाई कुनै मौसम तथा वातावरणले असर पर्दैन । खरायोले एक पटमा करिब ७ देखि १० वटासम्म बच्चा जन्माउन सक्छ भने ७ महिनामै यो वयस्क हुने गर्दछ ।
खरायो पालनको मुख्य चुनौती बजार व्यवस्थापन रहेको धराला बताउँछन् । यद्यपि अहिले सहज रूपमा बिक्री भइरहेको उनको भनाइ छ । खरायोको लागि दाना पिस्ने मेसिन र उन काट्नका लागि किसानहरूले कृषि मन्त्री शर्मा समक्ष माग राखे ।
खरायो पालनबाट जुम्लाका बासिन्दाले राम्रो आम्दानी लिन थालेका छन् । खरायोको उनबाट बनेको टोपीले जुम्लामा स्वरोजगार हुनेको सङ्ख्या बढ्दै गएको छ । खरायोको उनबाट गुणस्तरीय टोपी बन्ने र बजार राम्रो भएकाले धेरैका लागि खरायो पालन व्यवसाय उत्तम देखिएको किसानहरू बताउँछन् । ‘खरायोको मासु र टोपी दुवैबाट आम्दानी हुन्छ,’ कृषक रोकाया भन्छन् ।
यहाँका किसानहरूले बर्सेनि लाखौँ रकम खरायोको टोपीबाटै आम्दानी गर्ने गरेका छन् । जुम्लामा पुग्ने बाहिरका व्यक्तिहरूलाई खरायोको टोपीले स्वागत गर्ने गरिन्छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे जुम्लाको खरायोको टोपीको पहिचान नै बनेको बताउँछन् । जिल्लाका सरकारी कार्यालयका प्रमुखदेखि स्थानीय बासिन्दा र घुम्न आउनेहरूले मायाको चिनो स्वरूप उक्त टोपी किन्ने गरेको उनको भनाइ छ ।
दुईदेखि पाँचवटा खरायोको उन सङ्कलन गरेपछि एउटा टोपी निर्माण हुन्छ । प्रति टोपीको बजार मूल्य ३ हजारदेखि ३ हजार ५ सयसम्म रहेको किसानहरू बताउँछन् ।
वडा नम्बर ८ र ९ का केही किसानले विगतदेखि नै खरायो पालन व्यवसाय गर्दै आएका छन् भने अन्य किसानलाई पनि उक्त पेसामा आकर्षित गर्न अनुदानको व्यवस्था गरिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिं बुढथापाले बताए । उनका अनुसार ८ नम्बर वडाका प्रत्येक घरमा अहिले ५ वटादेखि २० वटासम्म खरायो पालिरहेको अवस्था छ । यद्यपि धेरैजसोले उद्योग दर्ता नगरेरै पाल्ने गरेका छन् ।
‘खरायो पालनका लागि ८ र ९ वडा प्रख्यात मानिन्छ,’ उनले भने, ‘व्यावसायिकीकरण गर्नका लागि हामी लागिरहेका छौँ ।’
बस्तीमा पुगेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले दुई वटा वडालाई खरायो पालनको ‘हब’का रूपमा विकास गर्नुपर्ने बताए । साना किसानको जीविकोपार्जनमा सुधार ल्याउनका लागि उत्पादनमा आधारित अनुदान दिइने शर्माले बताए ।