रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०८० भदौ १० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा ललिता निवास प्रकरणमा मुद्दा दर्ता, संसदीय समितिको सभापतिमा विपक्षीलाई पनि भागबण्डा, एसिया कप खेल्न सन्दीप पाकिस्तान जाने, विद्या भण्डारी राजनीतिमा आउन चाहे नरोक्ने ओलीको प्रस्टोक्ति, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास हस्तान्तरण, कलाकार सानु ताम्राकारको अन्त्येष्टि, ‘गो ब्याक एमसीसी’ भन्दै प्रदर्शन लगायत छन् ।
१. ललिता निवास प्रकरणमा मुद्दा दर्ता
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौं जिल्ला ललिता निवास प्रकरणमा २३९ प्रतिवादीबाट ७५ अर्बभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दर्ता गराएको छ । कुल २८९ जनालाई प्रतिवादी बनाइनुका साथै मृत्यु भइसकेका २१ जनालाई समेत प्रतिवादी बनाइए पनि बिगोसहितको मागदाबी भने २३९ जनासँग माग भएको हो । ।
२. संसदीय समितिको सभापतिमा विपक्षीलाई पनि भागबण्डा
संसदीय समितिको सभापति चयनका लागि सत्तारुढ गठबन्धनले विपक्षी दललाई पनि भागबण्डा गरेको छ । एउटाबाहेक सबै समितिका सभापतिमा भागबण्डाकै कारण एकल उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनले भागबण्डामा नसमेटेको रास्वपाले भने एउटा समितिको सभापतिमा उम्मेदवारी दिएको छ ।
३. एसिया कप खेल्न सन्दीप पाकिस्तान जाने
नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् । सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने जानकारी उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिए । काठमाडौं जिल्ला अदालतमा उनीविरुद्धको मुद्दा सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
४. विद्या भण्डारी राजनीतिमा आउन चाहे नरोक्ने ओलीको प्रस्टोक्ति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारी पुनः एमाले राजनीतिमा आउन चाहे नरोक्ने प्रस्टीकरण दिएका छन् । यसअघि ओलीले साउन अन्तिम साता पूर्व राष्ट्रपति भण्डारी सम्मानित भएर बस्नुपर्ने भन्दै राजनीतिमा आउने चर्चा एमाले विरोधीहरूले विभाजित गर्ने षडयन्त्रअनुसार चलाएको बताएका थिए ।
५. प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास हस्तान्तरण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि तयार आवास गृह हस्तान्तरण गरेका छन् । आइतबार प्रधानमन्त्री प्रचण्डले ललितपुरको भैंसेपाटीमा तयार आवास गृह हस्तान्तरण गरेका हुन् ।
६. कलाकार सानु ताम्राकारको अन्त्येष्टि
शनिबार निधन भएका कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा केही घण्टा राखिएको थियो ।
७. तीन महिने अभियानका क्रममा माओवादीले मधेसको विवाद थाँती राख्ने
मधेसमा देखिएको विवादलाई थाँती राखेर माओवादी केन्द्रले मधेस प्रदेशमा तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । मधेसमा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव मातृका यादवबीचको द्वन्द्वका कारण संगठन निर्माण भइरहेको थिएन । त्यहाँ दुई नेताबिचको गुटमात्र होइन, नेतापिच्छे गुट भएका कारण संगठन निर्माणमा समस्या भइरहेको थियो ।
८. ‘गो ब्याक एमसीसी’ भन्दै प्रदर्शन
विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनविरूद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । संसद्बाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमासमेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।
९. एमाले सचिवालय बैठक सिरहामै बस्ने
नेकपा एमालेको भदौ ९ गतेलाई तय भएर अन्तिम अवस्थामा स्थगित भएको केन्द्रीय सचिवालय बैठक १३ गतेबाट सिराहामै बस्ने भएको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको ९ गतेको बैठक निरन्तरको वर्षाका कारण भदौ १३ गतेलाई सारिएको नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए ।
१०. धोबीखोला छेउमा महानगरको डोजर
काठमाडौं महानगरपालिकाले नगर क्षेत्रमा नक्सा विपरीत बनेका संरचनाहरू भत्काउने कामलाई कायम राखेको छ । सोहीअनुसार अनामनगर क्षेत्रको धोबी खोला छेउमा रहेका घरहरूको नक्साविपरीतका संरचनामा आइतबार महानगरले डोजर चलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई