सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

चैती छठ समापन

शनिबार, १० चैत २०७४, ०९ : ४१
शनिबार, १० चैत २०७४

वीरगंज - श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्वको शनिबार अन्तिम दिन उदाउँदो सुर्यलाई अर्घ दिएर विधिवत रुपमा समापन भएको छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने प्रचलन छ । चैती छठ पर्व बुधबारदेखि विधिवत रुपमा शुरु भएको हो ।

पहिलो दिन
चैत शुक्लपक्षमा चार दिन सम्म मनाइने चैती छठ पर्वको पहिलो दिनलाइ ‘नहाए खाएके दिन’ पनि भन्ने गरिन्छ । पहिलो दिन छठका व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भई लसुन र प्याज नहालेको चोखो साकाहारी खाना खाने गर्छन् ।

दोस्रो दिन
छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुँको रोटी प्रसादका रुपमा पकाउने गर्छन् । उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरु उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन् ।

तेस्रो दिन
छठको तेस्रो दिन हिजो अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । हिजोको दिनलाइ सँझीया घाटे पनि भनिन्छ । यस दिन ब्रतालु मलिाहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाइ र भोलि पल्ट सप्तमीका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।

पूजापाठ, अर्घ र जनविश्वास
छठपूजामा सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप