एसिया कपमा नेपालको प्रतिद्वन्द्वी पाकिस्तानले पायो विश्व क्रिकेटमा पहिलो वरीयता
काठमाडौँ । तीन दिनपछि सुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तान पहिलो वरीयताप्राप्त राष्ट्रको रूपमा सहभागी हुने भएको छ । अफगानिस्तानविरुद्दको शृङ्खला ३—० ले जितेपछि पाकिस्तान एक दिवसीय क्रिकेटमा पहिलो वरीयता प्राप्त राष्ट्र बनेको हो ।
एसिया कप क्रिकेटको १६ औँ संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिकसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल आगामी बुधवार पाकिस्तान र नेपालबीच मुल्तानमा खेलिने छ । एसिया कपमा नेपालको यो पहिलो सहभागिता हो ।
अफगानिस्तानविरुद्दको एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा पाकिस्तान ५९ रनले विजयी भएको थियो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ६८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले ४८.४ ओभरमा अलआउट हुनुअघि दुई सय नौ रनमात्र बनाउन सक्यो ।
अन्तिम खेलमा नसिम शाह र ह्यारिस रउफ पाकिस्तानी टोलीमा सहभागी थिएनन् । पाकिस्तानका लागि दुई खेलाडीले अर्धशतक बनाएका थिए । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६० र विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ६७ रन बनाएका थिए ।
बलिङतर्फ पाकिस्तानका सदाब खानले तीन विकेट लिए । साहिन शाह अफ्रिदी, फाहिम असरफ र मोहम्मद नवाजले दुई—दुई विकेट लिएका थिए । एक दिवसीय वरीयताको दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा भारत रहेका छन् । एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ ।
एसिया कप खेल्ने अन्य राष्ट्रहरूमा बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, अफगानिस्तान नवौँ र नेपाल १५ औँ वरीयतामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकको कार्यालय भवन निर्माण हुँदै
-
कम्बोडियामा हुने आईक्याप सभामा भाग लिन माओवादी प्रतिनिधिहरू किन गएनन् ?
-
एमाले जग्गा विवाद : पाँचौँ पटक सुनुवाइ सर्यो, आज पनि हेर्न नभ्याइने हुँदै स्थगित
-
नेतन्याहुको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेपछि रिसायो अमेरिका
-
सौर्यमन्डल बाहिर भेटियो शिशु ग्रह
-
एमालेको र्याली सभामा परिणत, २५ तस्बिरमा हेर्नुहोस्