दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले गरे एमएलएसमा ‘डेब्यू’ गोल

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले मेजर लिग सकर (एमएलएस) मा ‘डेब्यू’ गोल गरेका छन् । मेस्सीको ‘डेब्यू’ गोलसँगै उनको क्लब इन्टर मियामीले एमएलएसको आइतबार सम्पन्न खेलमा न्यू योर्क रेड बुल्सलाई २—० गोलले हराएको छ ।
खेलको पहिलो हाफमा बेञ्चमा बसेको मेस्सी दोस्रो हाफको ६०औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि टोलीका लागि गोल गरेका हुन् । उनले जोर्डी अल्बाको कलात्मक पासमा गोल गरेका थिए । अल्बा र मेस्सीले लामो समय बार्सिलोनाबाट एकसाथ ब्यवसायीक फुटबल खेलेका थिए ।
त्यसअघि इन्टर मियामीले पहिलो हाफमै अग्रता लिएको थियो । इन्टर मियामीका लागि पहिलो गोल ३७औं मिनेटमा डिएगो गोमेजले गरेका थिए । मेस्सीकै उत्कृष्ट प्रदर्शनमा यसअघि इन्टर मियामीले लिग्स कपको उपाधि चुमेको थियो । इन्टर मियामीले जितेको त्यो एतिहासिक उपाधि थियो । त्यसअघि इन्टर मियामीले कुनै पनि उपाधि जित्न सकेको थिएन ।
इन्टर मियामी यो सिजन यूएस ओपनको फाइनलमा पनि पुगेको छ । न्यू योर्क रेड बुल्सविरुद्घको खेलको पहिलो हाफमा इन्टर मियामीका प्रशिक्षक जेरार्ड ‘टाटा’ मार्टिनोले मेस्सीलाई आराम दिएका थिए । प्रशिक्षक मार्टिनोले दोस्रो हाफमा मेस्सीसँगै सर्जियो बुस्केट्सलाई पनि मैदानमा प्रवेश गराएका थिए ।
अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि चुमाउने कप्तान मेस्सी र स्पेनिस मिडफिल्डर बुस्केट्सले लामो समय बार्सिलोनाबाट एकसाथ ब्यवसायीक फुटबल खेलेका थिए । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामा १५ वर्ष बिताएका ३५ वर्षीय बुस्केट्स आफ्ना मित्र मेस्सीलाई पछ्याउँदै यही सिजन इन्टर मियामीमा आबद्ध भएका हुन् ।
सातपटकका बालोन डी’ओर विजेता मेस्सीले इन्टर मियामीका लागि गरेको गोल सँख्या भने ११ पुगेका छ । इन्टर मियामीका लागि आफूले खेलेका हरेकजसो खेलमा मेस्सीले गोल गरेका छन् । ‘उनी अद्भूत खेलाडी हुन् । हरेक खेलमा उनी कुनै न कुनै नयाँ प्रयोग गरिरहेका हुन्छन्,’ इन्टर मियामीमा १९ वर्षीय डिफेन्डर नोआह एलन भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
किट विश्वविद्यालय फर्किन मानेनन् नेपाली विद्यार्थी, विकल्प खोज्दै सरकार
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
प्रेम विवाहको विवाद झडपमा परिणत, प्रहरीको गाडी जलाइयो