मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
कविता

आकाशसँगै देश रोयो

शनिबार, ०९ भदौ २०८०, १२ : २७
शनिबार, ०९ भदौ २०८०

वैराग्यको खास्टो ओढेर 
विरहको बार्दलीमा बसी
जनतामाथि परेको
रोग, भोक र शोकको 
विकराल रूप हेर्दै
आँसुको कोशी बग्दैछ 
आँसुको सेती बग्दैछ ।
देश रुदारुँदै
भक्कानिएर घाइते भएको छ  ।

भर्खर विवाह बन्धनमा बाँधेकी 
नवदुलहीसहित
हनिमुन प्याकेज रद्द गरेर
बैंसलाई थारो बनाउँदै,
हुलका हुल युवाशक्ति लस्कर लागेर
अरब जित्न निस्कँदै गर्दा
देश दुखेर रुदैछ ।
सिमानामा बैरीको नजर लागेर
खुम्चिँदै गरेको सिमाङ्कन  
दशगजामा हेपेर गरेको रजगज
महेशपुर र सुस्ताको 
विरक्तलाग्दो सुस्केरामा 
झल्केको स्वाभिमान
सिमानामा ढलेको 
गोविन्दहरूको चित्कार
कुमारी माटोको अस्मितामाथि 
गरेको अन्याय 
खेप्दा खेप्दै, झेल्दा झेल्दै
देश बेस्सरी रोएको छ ।

मलामी र जन्ती पाउन छाडेको
गाउँघर अनि टोल बस्ती
निर्जन उराठ बनेको छ ।
सुन्दर बस्ती र गाउँहरू
वृद्धा र बाल आश्रम जस्तै बनेको छ ।
आस्थाको स्रोत देउताको देवलमा
अगरबत्ती, लाख बत्ती नबलेर होला
लाग्छ देवलको देउता पनि
बसाइँ सरेको हुनुपर्छ अन्तै कतै ।
मुकाम सरेको लाउरेनी जस्तै
भूमाफियाको चङ्गुलमा फसी
हरियाली पहाडहरू शिर मुण्डन गरेर 
लाग्छ बरखी बार्दैछ ।
थुप्रै रुख बिरुवाको मृत्युशोकमा 
सायद, त्यसैले आजभोलि 
देश नमिठोसँग रुदैछ ।
शासकले मित्रताको नाउँमा छिमेकीलाई
सन्धि र सम्झौताको वैशाखी टेकेर
खोलानाला सुम्पे, वन जंगलको अस्मिता बेचे
एउटै खोलालाई ठाउँ ठाउँमा लिलाम गरेर बेचे
हुँदा हुँदा मान्छेले मान्छे बेचे
आफ्नाले आफ्नालाई नै 
धनी सपनाको प्रलोभन देखाएर
सम्बन्धको हत्या गर्दै 
एक होइन, अनेक जिन्दगी बेचे 
बेचिएर कोही जिउँदै फर्के  
कोही बाकस बनेर फर्के
सत्य मान्छेको झूटो चित्र र चरित्र देखेर
आकाश रोयो
आकाशसँगै देश रोयो । 
आकाशसँगै देश रोयो ।।

पाँचखाल, काभ्रेपलाञ्चोक 
हालः लिमासोल,साईप्रस 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप