ड्राइभरको प्रशंसा
साउने झरी वर्षिरहेको थियो । बसको सिसाको झ्यालमा पानीले बाहिरको दृश्य धमिलो देखिन्थ्यो । लोकदोहोरी घन्काउँदै बसका चालक फुर्वा गाडी हँुइक्याइरहेका थिए ।
ड्राइभरको छेउमा थिए, अधवैशे युवा त्रिलोक रत्न ।
उनले भने, ‘गुरुजीको आत्मविश्वास चाँइ मान्नै पर्छ । कस्तो स्पीड हाँक्नु भाको ।’
काठमाडौंबाट चितवनतर्फ हाइवेमा रन्केर बस गुडिरहेको थियो ।
बसको पछिल्लो सिटबाट एक बूढीआमै गाडी स्पीड कुदाएकोमा धारे हात लगाउँदै कराइरहेकी थिइन् । तर, उनको आवाज दोहोरी गीतको रन्कोमा विलिन भइरहेको थियो ।
कुदिरहेको बस एक्कासी ड्याम्म केही चिजमा ठोक्कियो र खोला किनारामा उत्तानो पर्यो ।
बच्चा बूढाबूढी चिच्याएको कारुणिक आवाज आइरहेको थियो ।
घाइते त्रिलोक रत्न बोल्न सक्ने अवस्थामा थिए । उनले सासले मधुरो बोल्दै भने, ‘गुरुजी, मलाई पानी दिनुस् न ।’ उनले यताउता हेरे । उनलाई पानी दिन सक्ने त्यहाँ कोही थिएन ।
रगतले लतपतिएका गुरुजीले जिब्रो टोकिसकेका थिए । केही क्षणपछि त्रिलोक रत्नले पनि दुर्घटनास्थलमै प्राण त्याग गरे ।