शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

आँखा गगनमा नियालिरहन्छन्

शनिबार, ०९ भदौ २०८०, ११ : ४७
शनिबार, ०९ भदौ २०८०

यो  मधुरो
अँध्यारो रात 
फगत एक्लो म
त्यो दुर गगन नियाल्छु,
थाहा छैन, किन नियालिरहेछु ?

निकै बेरसम्म्
कालो बादल मडारीरहेका
लुक्दै छिप्दै चन्द्रमा
बिस्तारै लुकामारी खेलीरहेकी
चन्द्रमाको लुकाछिपीसंगै
मेरा आँखा पनि 
बादलभित्र लुकाछिपी खेल्न पुग्छन्
कहिले चन्द्रमाभित्र 
कहिले बादलभित्र 
म एकोहोरो पछ्याइ रहन्छु
थाहा छैन, किन पछ्याइरहेछु ?

किन किन मलाई पनि चन्द्रमाझैँ  
तिमीसँग लुकामारी 
खेलुझैँ लाग्छ
कहिले भित्र 
कहिले बाहिर 
बादलको घुम्टो ओड्दै
कहिले लुकिदिन मन लाग्छ
कहिले, झुल्किदिन रहर लाग्छ
थाहा छैन, किन यी रहरहरु लाग्छ ?

रहर रहरै त हो नि 
कहाँ पुरा हुन्छन् र ?
चन्द्रमा र बादलको 
लुकाछिपी हेर्दा हेर्दै 
भावमा बग्नु
नौलो पनि त हैन 
शायद, रातहरु 
यसरी नै बितेर होला
चन्द्रमा अनि बादल
बादल अनि तिमी
तिमी अनि भावना
भावना अनि म
बग्नु छ मलाई 
बगी दिन्छु
बुँद बँुद हुँदै नदी
अनि, सागरसम्म
अस्तित्व गुमाउनु छ
विशाल सागरमै हराउनु छ
थाहा छैन, विशाल सागर कहाँ छ ?
 
एक बुँदको पनि अस्तित्व हुन्छ र ?
म आफैभित्र प्रश्न गर्छु
बुँद आफै आफ्नो अस्तित्व हैन र ?
भित्रै साँगुरिन्छु म
शायद, 
रात निक्कै छिप्पिसकेकोले होला
पर अँध्यारो गल्लीबाट 
कुकुरहरु एकोहोरो भुकिरहन्छन्
म झसङ्ग हुन्छु 
भावबाट अभावमा फर्कन्छु
अभाव शुन्यताको 
अभाव रिक्तताको
तर पनि 
मृत्युको बोध
प्रेमको आभास 
एकान्तको आनन्द
रमाइलो लाग्छ
अनयासै मुस्कुराउँछन् आँखाहरु
थाहा छैन, किन मुस्कुराउँछन् आँखाहरु ?
 
चारैतिर हेर्छु
पर दुर गाउँमा
कतै कतै 
टिलपिल टिल 
मधुरो बत्ती टिल्पिलाई रहेको
सोच्छु,
किन यिनीहरु नसुतेका
कोही बिरामी पो भए कि ?
के भयो ?
कि म जस्तै 
आकाशका तारा गन्दै छन् कि ?
कि चन्द्रमाको लुकामारी हेर्दैछन् ?
कि भावभित्र अभाव खोज्दै छन् ?
कि बुँद सागरमा हराउँदै छन् ?
थाहा छैन, किन सागरमा बुँद हराउँछन् ? 

अस्तित्वसँग मेटिनु पनि
यो मधुरो कालो रातजस्तै
चेतनाको पराकाष्ठा हो
आफैलाई त्यागी एकान्त हुनु पनि त,
तिमी भित्रको तिमीसँग
प्राप्तिको कैवल्य हो 
तर पनि,
मेरा आँखा अझै दुर गगनमा 
नियालिरहन्छन् । 
नियालिरहन्छन् ।।
 भक्तपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप