मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आज दिनभर के–के भए ? मुख्य मुख्य घटनाक्रम एकैठाउँमा हेर्नुहोस्

शुक्रबार, ०८ भदौ २०८०, २२ : ०३
शुक्रबार, ०८ भदौ २०८०

आज मिति २०८० साल भदौ महिनाको ८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटिएको छ–

नक्कली सुन प्रकरण
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सीआईबीलाई दिएको थियो ।

असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको हो । गिरोहले सुन भारत पठाउन खोजेको ब्युरोको अनुसन्धान निष्कर्ष छ । सुनबारे अनुसन्धान गर्न ब्युरोले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’को सहयोग मागेको छ । 

संसद विकास कोषको रकमबारे 
सर्वोच्च अदालतले चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारले निर्वाचन क्षेत्रमा छुट्याएको बजेट तथा यससम्बन्धी कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सत्ता पक्षका केही सांसदहरूले विरोध जनाएका छन् ।
साउन ६ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आन्दमोदन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले संघीय सरकार र प्रदेश सरकारले सांसद विकास कोषको नाममा छुट्याएको बजेट तत्काल खर्च नगर्न नगराउन अन्तरिम आदेश दिएको थियो ।
यससम्बन्धी स्टोरीहरु

कोशीमा संकट
कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाले पछिल्लो पटक प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको सर्वोच्च अदालतको प्रारम्भिक ठहरसँगै त्यहाँको राजनीति थप अस्थिर र पेचिलो बन्ने देखिएको छ । तर कोशीमा पटक पटक दोहोरिएको समस्या समाधान गर्नतर्फ प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको ध्यान पटक्कै देखिँदैन । बरु कोशीमा मध्यवधिको भय देखिन थालेको छ । 

लगानी बोर्डको बैठक
लगानी बोर्डले चारवटा जलविद्युत् परियोजना का लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । 
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको ५५औं बैठकले चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

धरानमा निषेधाज्ञा 
सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् ।


कमल थापाको यूटर्न 
सार्वजनिक रुपमा राजसंस्थाको एजेन्डा छाडेर गणतन्त्रात्मक व्यवस्थामा पाइला चाल्न थालिसकेका राप्रपा नेपालका अध्यक्ष कमल थापा फेरि पुरानै एजेन्डामा ‘ब्याक’ भएका छन् । काठमाडौँमा आयोजित केन्द्रीय समिति बैठकमा आधिकारिक दस्ताबेज नै ल्याएर थापाले आफ्नो पुरानो एजेन्डा  ुसंवैधानिक राजसंस्थासहितको हिन्दुराष्ट्रु ब्युँताएका हुन् ।

एमाले बैठक स्थगित
सिराहामा हुने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । 
सिराहाको धनगडीमाइ नगरपालिका अम्वासमा भदौ नौ गते तय भएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने भएको छ ।

यो पनि...
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको दाबी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई नियन्त्रणमा लिएको छ । अख्तियारको इटहरी कार्यालयले उनलाई बुधबार नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीरगञ्जमा मोर्चा घोषणा गर्नुको विशेष अर्थ रहेको बताएका छन् ।   शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय मोर्चा घोषणा कार्यक्रममा बोल्दै विशिष्ठ भूमिका र रणनीतिक महत्व भएकाले मधेशबाट घोषणा कार्यक्रम सुरू गरेको उनले दाबी गरेका हुन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडकको मोर्चालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा चुनाव लड्ने छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा उठ्ने औपचारिक घोषणा गरेका हुन् ।

ग्रीसमा तीन नेपाली नागरिकलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

बिचौलियाको कब्जामा रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित दक्षिणकाली हाट बजारमा उपमहानगरपालिकाले डोजर चलाएको छ ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप