नेसनल आईसीटी स्कलरसिपका लागि आवेदन खुला, २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति अफर
काठमाडौँ । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विगत ३१ वर्षदेखि कार्य गर्दै आइरहेको कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ को लागी आवेदन खुला गरेको छ ।
क्यान महासङ्घले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरूको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीहरूको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो छात्रवृत्ति लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सुरु गरिएको हो । यो छात्रवृत्ति मार्फत यस वर्ष पनि ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रबृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ ।
‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ ।
विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म ११० जना विद्यार्थीहरू अध्ययनरत छन् ।
यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिने क्यानका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजबिच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटी को अध्ययन गर्न पाउनेछन् ।
नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याएका विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासङ्घले केन्द्रीय स्तरमा निवर्तमान अध्यक्ष नवराज कुँवरको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल, ठाकुर कुमार श्रेष्ठ, भूपाल दास श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय राजु कट्टेल र सरिता न्यौपाने रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?