कर्फ्युका बाबजुद ८२ घरमा आगजनी...
धनगढी । २०७२ भदौ ७ गते १ नाबालकसहित ८ प्रहरीको ज्यान जाने गरी टीकापुरमा भएको त्रासदीपूर्ण घटना लगत्तै स्थानीय प्रशासनले टीकापुर क्षेत्रमा कर्फ्यु जारी गर्यो । संविधान लेखन चलिरहँदा थरुहट/थारूवान आन्दोलनकारी र प्रहरीबिच कैलालीको टीकापुरमा भएको झडप हिंसात्मक भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी र सेना परिचालन गरियो ।
त्यसको भोलिपल्ट अर्थात् भदौ ८ गते कर्फ्युकाबिच सेना र प्रहरीकै उपस्थितिमा थारू समुदायका घर, पसल, एफएम, कार्यालयमा आगजनी भयो । तर आगजनी संलग्नमाथि हालसम्म कुनै कारबाही भएको छैन ।
घटनाका पीडितसमेत रहेका जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप चौधरीले आगजनी भइसकेपछि आफूहरु इलाका प्रशासन कार्यालय टीकापुरमा किटानी जाहेरी दिन गएको बताउँछन् । तर, प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि हुलाकमार्फत् जाहेरी दिन खोजेको, त्यो पनि दर्ता गर्न नसकेको उनको भनाइ छ ।
उनले भने, ‘२०७२ भदौ ७ र ८ गतेको आगजनीको घटना एकदमै संवेदनशील छ । हामी उक्त घटनामा संलग्न सबैलाई चिन्छौँ । तर, प्रहरीले अज्ञात समूहबाट आगजनी भएको ब्यहोरा उल्लेख गरेर जाहेरी दर्ता गर्न दबाब दिएको थियो । हामीले त्यसो गर्न मानेनौँ । त्यस बेलाको पीडा कसलाई सुनाउने ?’
आगजनीको घटनामा ३/४ थरीका व्यक्तिको संलग्नता रहेको बताउँदै उनले कोही योजनाकार, कोही सहयोगी तथा कोही प्रत्यक्ष गरी ३० जनाभन्दा बढी मानिस संलग्न रहेको सुनाउँछन् । तर राज्य नै अपराधी जोगाउन लागेपछि आफूहरु निरीह भएको उनको भनाइ छ ।
उनले अगाडि थपे, ‘हामीले सत्यतथ्य पत्ता लगाउन सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको टोलीलाई बतायौँ । टोलीलाई प्रत्येक पीडितको घर–घरमा समेत मैले आफैँले लगेको छु । त्यस्तै, देवीराम शर्मा नेतृत्वको छानबिन समिति, संसदीय समितिलाई पनि मैले लगेको छु । यसका बाबजुद कुनै पनि समितिको प्रतिवेदन सार्वजनिक गरिँदैन भने हामीले कहाँ र कसरी न्याय पाउन सक्छौँ ?’
पीडित चौधरी हाल नागरिक उन्मुक्ति पार्टीका कैलाली जिल्ला अध्यक्ष पनि हुन् । नागरिक उन्मुक्ति पार्टी हाल प्रदेश र केन्द्र सरकारमा छ । पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाइपछि सो पार्टी पनि टीकापुर घटनाका सम्बन्धमा मौनप्रायः बनेको छ ।
पौने ११ करोड क्षतिपूर्ति
२०७४ असारमा सरकारले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत आगजनी पीडितहरुलाई क्षतिपूर्ति रकम दिएको थियो ।
त्यसबेला पीडितहरुलाई १० करोड ८३ लाख ४८ हजार ८ सय १६ रुपैयाँ वितरण गरिएको थियो । घटनामा सबैभन्दा बढी क्षति व्यहोरेका रेशमलाल चौधरीले १ करोड ७४ लाख क्षतिपूर्ति पाएका थिए । निरु ट्रेडर्सका सञ्चालक शिवनारायण चौधरीले एक करोड ५० लाख र प्रदीप चौधरीले १ करोड ३९ लाख क्षतिपूर्ति रकम बुझेका थिए ।
एक करोड रुपैयाँसम्म क्षति भएकालाई ८० प्रतिशत, १ करोडदेखि २ करोड रुपैयाँसम्म क्षति भएकालाई ७० प्रतिशत र २ करोडदेखि माथिकालाई ६० प्रतिशत क्षतिपूर्ति प्रदान गर्ने मापदण्ड बनाइएको थियो ।
आगजनी पीडितको बेहाल
राज्यबाट केही आंशिक क्षतिपूर्ति पाए पनि आजसम्म पूर्ववत् अवस्थामा आउन नसकेको आगजनी पीडितहरुले बताएका छन् । घटनामा संलग्नहरुलाई कारबाही हुन त परै जावस्, आफ्नै अगाडि खुलेआम घुमेको देख्दा मन पोल्ने गरेको उनीहरुको दुःखेसो छ ।
टीकापुर नगरपालिका–१, कान्छीबजारका परशुराम चौधरीको पसलमा २०७२ भदौ ७ गतेकै साँझ आगजनी भएको थियो । उनी भन्छन्, ‘आगो लगाउने समूहका मान्छे चिन्छौँ तर कसले आवाज उठाउने ? केही बोल्दा फेरि केही हुने हो कि भन्ने डर छ ।’
छोराका किताब, कापीसँगै आठ वर्षदेखि चलाउँदै आएको पसल जलेको परशुरामकी पत्नी हिरादेवी बताउँछिन् । ‘प्रहरीकै आडमा ठूलो समूह आएर आगो लगाएको हो’, हिरादेवी भन्छिन्, ‘अनुगमन टोली आउँदा प्रहरीले घर–पसल जलेको घटनाबारे भन्नसमेत दिँदैनथे ।’
अब त केही न्याय पाइन्छ कि भनेर अचेल सबैको नजर नागरिक उन्मुक्ति पार्टीतर्फ सोझिएको छ । टीकापुर घटनाबाट राजनीतिक शक्ति आर्जन गरेर नागरिक उन्मुक्ति पार्टी प्रदेश र संघीय सरकारमा गए पनि आफूहरुले न्याय पाउन नसकेको उनी सुनाउँछिन् ।
अर्का आगजनी पीडित पवित्रा चौधरीको गुनासो पनि उस्तै छ । हिरादेवीसँगै उनी पनि तरकारी पसल सञ्चालन गर्दै आएकी छन् ।
पवित्राले भनिन्, ‘रञ्जिता (रेशमकी पत्नी)लाई जिताउँदा आफ्ना आवाज राज्यको उपल्लो तहसम्म पुग्ने र न्याय पाउने आश्वासन दिएका थिए । पसल बन्द गरेरै चुनाव प्रचारमा पनि लागियो । उनी अहिले मन्त्री भइन् । तर, उनीहरूकै परिवारलाई मात्र न्याय भएछ । बाँकीको अवस्था उस्तै छ ।’
उतिबेला कान्छी बजारमै होटल र तरकारी पसल थियो पवित्राको । ५ वर्ष लगाएर जोडेको त्यो सम्पत्ति क्षणमै खरानी भएको थियो । त्यसमाथि ऋणमा भर्खरै नयाँ घर बनाएका थिए । गरिखाने पसल नै जलेपछि आर्थिक स्थिति पूरै खस्कियो उनको ।
उनी भन्छिन्, ‘अझै पहिलेको अवस्थामा फर्कन सकेका छैनौँ । कारोबार केही छैन । सरकारले २ वर्षपछि क्षतिपूर्ति त दियो तर क्षतिको ५० प्रतिशत पनि पाएनौँ ।’
टीकापुर–१ को कान्छी बजारका ममित्रा चौधरी र उनका पति कालुराम चौधरी मिलेर दुई वटा पसल सञ्चालन गरेका थिए । कालुराम तरकारी पसल र ममित्रा खाजा नास्ता पसल चलाउँथिन् ।
तर, प्रहरीकै सामुन्ने दुई वटै पसल क्षणभरमै खरानी भएको आफ्नै आँखाले देख्नुपरेको ममित्रा बताउँछिन् । उनी भन्छिन्, ‘५–७ लाख बराबरको सामान आँखा अगाडि नै खरानी हुँदासमेत केही गर्न सकेनौँ ।’ उनीहरुले मुस्किलले १ लाख क्षतिपूर्ति पाए ।
भदौ ८ गते सबैभन्दा बढी आगजनी फूलबारी एफएममा भएको थियो । त्यसपछि बढी क्षति निरू ट्रेडर्समा भएको थियो ।
घटनामै विश्राम कुश्मीको एग्रोभेट र नर्सरी पसल पनि जलाइयो । सुरक्षाकर्मीको हत्या गरेको आरोपमा उनलाई पनि पक्राउ गरियो । उनी करिब तीन वर्षपछि निर्दोष साबित भएर छुटे ।
थरुहट आन्दोलनका क्रममा सुरक्षाकर्मी मारिएपछि थारू भएकै आधारमा थुप्रैलाई धरपकड गरिएको र कर्फ्यूको बिचमा छानीछानी थारू समुदायको घर–पसल तोडफोड गरिएको विश्रामको भनाइ छ ।
उनी भन्छन्, ‘हामीले कारबाहीको माग गर्दै निवेदन दियौँ । तर, कसैलाई पक्राउ गर्नु त परको कुरा, अहिलेसम्म अनुसन्धान नै भएको छैन । आगजनी र तोडफोडमा स्थानीयले बेहोरेको क्षतिको विवरणसम्म प्रहरीसँग छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले खोस्यो रास्वपाको आन्दोलनमा माइकिङ गर्ने गाडीको चाबी
-
रक्सी पिएपछि किन ‘ब्ल्याकआउट’ हुन्छ मानिस, मस्तिष्कमा कस्तो असर गर्छ ?
-
चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद
-
१० महिनामा ९ लाख ४० हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण
-
शरीरमा देखिने यी ८ लक्षण हुन् खतराको घण्टी
-
वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ