शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाली कांग्रेसको पुनर्जलीय उपचार

शुक्रबार, ०८ भदौ २०८०, १५ : ५८
शुक्रबार, ०८ भदौ २०८०

साउनभरि हिन्दु धार्मिक पन्थको ‘बोलबम’ शिविर हुन्छ । शिवलिङ्गमा जल चढाउने यो मान्यताले ती धर्मावलम्बीलाई कति आध्यात्मिक फाइदा हुँदै आएको छ, तिनैले जान्ने कुरा भयो । 

यता संयोगवश नेपाली कांग्रेसको केन्द्रीय शिविर बैठक पनि साउन २ देखि १० गतेसम्म चल्यो । कांग्रेसलाई पुनर्जलीय उपचार गर्ने ठानिएको यो बैठक ‘बोलबम’ शिविरभन्दा फरक देखिएन । हिन्दु धर्मावलम्बीहरू साउनभरि शिवलिङ्गमा जल चढाएर धार्मिक आत्मरतिमा रमाउँछन्, आम कांग्रेसजनलाई भने यसले आत्मरतिमा रमाउनसम्म दिएन । यसर्थ सिङ्गो कांग्रेस पंक्तिलाई यो बैठकले पुनर्जलीय उपचार गरेको ठहरमा पुग्न बिल्कुलै सकिन्न ।

कांग्रेस किन यस्तो भयो ? किनकि बैठकमा राजनयिक छलफल भएन । महामन्त्री गगन थापाको राजनीतिक कार्यक्रम या अर्का महामन्त्री विश्वप्रकाश शर्माको क्यालेन्डरको उपादेयताको अर्थ खुट्टिएन । महामन्त्रीद्वयको प्रस्ताव संस्थापन पक्षको नियमित र आधिकारिक नै हुन सकेन । यसले के देखायो भने — सभापति एकातिर र महामन्त्रीहरू अर्कै दिशातर्फ । यसैले गगन थापाले बैठकमा १३ बुँदे फरक मत दर्ता गरे । पार्टीको मुख्य नेतृत्वमा देखिएको यो बेमेलले कांग्रेसलाई एकमना दौडमा लाने देखिन्न । बैठकपछि कांग्रेसको आधिकारिक निर्णयका रूपमा आएको १८ बुँदे प्रस्तावले पार्टीलाई पक्षघात हुनबाट जोगाउँछ वा जोगाउन्न, समयले बताउला ।

कांग्रेसको उपादेयता

राणाशासन, पञ्चायत र पछिल्लोपटक राजा ज्ञानेन्द्रको निरंकुश शासनको अन्त्य र लोकतान्त्रिक बहुदलीय संसदीय व्यवस्थाको स्थापनासँगै कांग्रेसको उपादेयता र औचित्य पुष्टि भइसकेको छ । उपर्युक्त व्यवस्थाको स्थापना कांग्रेस पार्टीको अधिकतम लक्ष्य वा कार्यक्रम हो । कांग्रेसको रणनीतिक लक्ष्य त पूरा भएका छन्, यससँगै कार्यनीतिक पतनको सुरुवात पनि कांग्रेसमा देखियो । रणनीतिक लक्ष्यको उत्कर्षमा पुगेपछि झर्नुको विकल्प रहनेछैन । कांग्रेस आरोहण सकिएर अवतरणको यात्रामा छ ।

कांग्रेसलाई अहिलेसम्म जोगाएको उसले प्रतिनिधित्व गर्ने वर्गीय आधार हो, तर यो वर्गीय आधार खण्डित हुने क्रममा छ । दक्षिणपन्थ, आर्थिक उदारीकरणमा आधारित अर्थ–राजनीतिले यो वर्ग तितरबितर हुँदै छ । राप्रपाको पुनरुदय, रास्वपाको नयाँ उदयले कांग्रेसलाई राजनीतिक रूपमा ‘बोन्साइ’ गर्दै छ । कांग्रेसको गढ यसैपटक यी दुई पार्टीले भत्काएको यसै कारण हो । कांग्रेसको काखमा बसेर घन्टी बजाउने कार्यकर्ताको नामै यसकारण ‘घन्टी कांग्रेस’ रहन गयो । एक हदसम्म एमालेको भोट बैंक पनि यही वर्गतर्फ सरेको छ ।

कांग्रेसको ‘फोर सी’

कांग्रेसी नेता मधु आचार्यले एसी (एजेन्डा कांग्रेस), बीसी (बेस कांग्रेस), सीसी (क्लिन कांग्रेस) र डीसी (डिजिटल कांग्रेस) गरी ‘फोर सी’को अवधारणा अघि सारेका थिए, यी चारवटा सी कांग्रेसको बैठकमा मनोरञ्जनपूर्ण तुरुप हुन गयो अर्थात् उनको अवधारणालाई बैठकमा रामरमिताको रूपमा लिइयो । उनले आफ्ना प्रस्तावको व्याख्या गरेनन् नै, सञ्चारमाध्यमले समेत समाचारीय भाउ दिएनन् ।

कांग्रेसलाई अहिलेसम्म जोगाएको उसले प्रतिनिधित्व गर्ने वर्गीय आधार हो, तर यो वर्गीय आधार खण्डित हुने क्रममा छ । दक्षिणपन्थ, आर्थिक उदारीकरणमा आधारित अर्थ–राजनीतिले यो वर्ग तितरबितर हुँदै छ ।

चुनावी संग्राम र परिणाममा निरुत्साहित हुँदै गएको कांग्रेसका लागि आचार्यका चार ‘सी’ रामबाण हुन नसके पनि तत्कालका लागि पुनर्जलीय उपचार हुन सक्थ्यो कि ? कांग्रेस आफ्ना एजेन्डामा आउने मेलो हुने थियो कि ? कांग्रेसको बेस वा जग ‘रेट्रो फिटिङ’ गर्ने उपाय सुझ्थ्यो कि ? क्लिन वा स्वच्छ कांग्रेस बनाउने आचारसंहिता निर्माण गर्ने वातावरण बन्थ्यो कि ? कांग्रेसीलाई ‘डिजिटलाइज’ बनाउने कार्यक्रम बन्थ्यो कि ? तत्कालका लागि यति नै गर्दा पनि कांग्रेस जम्न सक्थ्यो होला, तर बैठकले यी विषयमा तातो कान लाएन । बैठक कर्मकाण्डी रफ्तारमा दौडियो ।

प्रत्यक्ष प्रसारणको रौनक

कांग्रेस संस्थापन पक्षलाई बैठकको प्रत्यक्ष प्रसारणले रौनक दियो । लोकतान्त्रिक हुनुको भावबाट बैठकलाई प्रत्यक्ष प्रसारण गरिएको थियो, तर यसको अर्को पाटो निराशाजनक देखियो । केन्द्रीय सदस्यहरू जुन उत्साहका साथ बैठकमा कुरा राख्न उपस्थित थिए, तिनका उत्साह प्रत्यक्ष प्रसारणले विस्थापित ग¥यो । अर्थात् सबैले आफैँलाई ‘सेल्फसेन्सरसिप’ लगाए । यद्यपि सभापति शेरबहादुरको रक्षाकवचमा उभिनेहरूका लागि सुवर्ण मौका मिल्यो । तिनले भारदारी भाकामा सभापतिका देउवाको महिमामण्डन गरे । डा. शेखर कोइरालासहितका नेताले तौलीतौली बोल्नुपर्ने बाध्यता आइलाग्यो । महामन्त्री विश्वप्रकाश शर्मा प्रत्यक्ष प्रसारण प्रकरणमा परेर पूरै निरीह बने । गुरुराज घिमिरे एकजनाले मात्र बागी भाकामा टिप्पणी गरे, ‘यो भारदारीसभा हो ।’

रहलपहल

नेपाली कांग्रेसको चारतारे झन्डा राष्ट्रियता, लोकतन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताको सूचक हो, तर कांग्रेस झन्डाको यी संकेतभन्दा धेरै पर पुगिसकेको छ । कांग्रेसको राष्ट्रियतामा प्रश्नैप्रश्न छन् । राष्ट्रियताको वैज्ञानिक व्याख्या गर्ने हो भने कांग्रेसको साइनोसम्म छोडपत्र भइसकेको छ । लोकतन्त्रप्रति कांग्रेसको अमूर्त विश्वास होला, तर संसदीय व्यवस्थाभन्दा वरपरको लोकतन्त्रसँग कांग्रेसको साइनो हराइसकेको छ । पार्टीभित्र स्वतन्त्रता हुनु नै कांग्रेसको लोकतन्त्रको अर्थ हो । जनताहरूको राजनीतिक स्वतन्त्रताको अर्थमा कांग्रेसी लोकतन्त्र छैन । समाजवाद त कांग्रेसीका लागि किताबी कुरा मात्र हुन् । 

राजनीतिक रूपले पक्षघातको सिकार हुँदै गरेको कांग्रेसमा ठूलै शल्यक्रियाको खाँचो छ, तर कांग्रेसभित्र शल्यचिकित्सक अलगथलग हुँदै छन् ।

डा. प्रकाशचन्द्र लोहनीले सुरु गरेको आर्थिक उदारीकरणको पुँजीवादी व्यवस्थालाई  कांग्रेसी अर्थमन्त्री डा. रामशरण महतले संस्थागत गरे । कांग्रेसी अर्थमन्त्रीकै कारण यतिखेर दलाल पुँजीवादको एकपन्थ आसेपासे पुँजीवादले घर गरेको छ । कांग्रेसमा समाजवादको भाष्य केलाउने एक मात्र प्रदीप गिरी थिए । उनको मृत्युपछि कांग्रेसमा समाजवाद उच्चारण गर्ने कोही छैनन् । धार्मिक स्वतन्त्रताभन्दा धेरै कांग्रेसीलाई हिन्दु धर्मसापेक्ष प्रिय छ । धार्मिक स्वतन्त्रताभन्दा धेरै दक्षिण दिशामा हानिएका छन् कांग्रेसजन ।

आफ्नो परम्परागत राजनीतिक आवरणभन्दा पछि हटेको कांग्रेसले अर्को केन्द्रीय बैठक, महासमिति, नीति अधिवेशन जे गरे पनि दोहोरिने नियति यही हो । कांग्रेसमा पुनर्जलीय उपचार यसरी हुन्न । राजनीतिक रूपले पक्षघातको सिकार हुँदै गरेको कांग्रेसमा ठूलै शल्यक्रियाको खाँचो छ, तर कांग्रेसभित्र शल्यचिकित्सक अलगथलग हुँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गंगा पौडेल
गंगा पौडेल
लेखकबाट थप