राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिमा ‘इन्ट्री’ गरेलगत्तै सांसद बनेकी इन्दिरा रानाले प्रतिनिधिसभाको उपसभामुख पद प्राप्त गरिन् । तर, उनलाई संसद् सही बाटोमा हिँडेको छजस्तो लागेको छैन । आफू सभामुखको अनुपस्थितिमा कहिलेकाहिँ कामचलाउको रूपमा मात्रै जिम्मेवारीमा रहनु परेकाले संसदको गाह्रो साँगुरो फुकाउने जिम्मेवारी सभामुखकै हुने उनको जिकिर छ ।
साथसाथै राना नियमावलीमा उपसभामुखलाई आवासको व्यवस्था गरिने उल्लेख भए पनि त्यो अहिलेसम्म पाउन नसकेको बताउँछिन् । त्यो सुविधा आफ्ना लागि लागिभन्दा पनि सुरक्षाकर्मीका लागि मागेको उनको भनाइ छ । ‘कहाँ राख्नु त सुरक्षाकर्मी ? सडकमा राखौँ बालेनले राख्न दिँदैनन्, कोठामा ठाउँ छैन । हो, त्यही भनेको हो मैले,’ उनको भनाइ थियो ।
यद्यपि उनले आफू सुविधाभोगी भने नरहेको स्पष्ट पारिन् । उनले भनिन्, ‘म त साइकलमा संसद् जान खोजेकी थिएँ तर प्रोटोकलले त्यस्तो गर्न मिल्दैन भनियो ।’ सबैको सुविधा काटिएको खण्डमा आफू पनि त्यसका लागि तयार रहेको रानाको भनाइ छ । उनै उपसभामुख रानासँग रातोपाटीले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंशः
सामाजिक काममा हुँदा सबैको हुनुहुन्थ्यो । एक्कासि एउटा दलको मात्र हुन किन मन लाग्यो ?
अन्तिम अवस्थामा राजनीतिमा गएको हो । जाने इच्छा पनि खासै थिएन तर राष्ट्रिय स्वतन्त्र पार्टीमा मैले देशको सपना देखेँ र राजनीतिमा लागेँ ।
रास्वपामा कसरी जोडिनुभयो ?
कसैले बोलाएर गएको होइन । रविजीले त मलाई बोलाएकै होइन । ‘टुर दि लुम्बिनी’ कार्यक्रमले मलाई यो पार्टीसँग जोड्यो ।
अनि कसरी सांसद हुनुभयो त ?
रास्वपामा सबै नै नयाँ मान्छे सांसद छन् । मैले पनि समानुपातिकमा नाम लेखाएँ । मेरो नाम आठौँ नम्बरमा थियो । सांसद हुने निश्चित पनि थियो तर मन थिएन । पछि रविजीको आग्रहपछि सांसद भएँ ।
सांसद हुन त मन नगरेको व्यक्ति एक्कासि उपसभामुख कसरी नि ?
पहिलो कुरा त पार्टीभित्रै सर्वसम्मत भएँ म । त्यसमा पनि पार्टी अध्यक्ष रवि लामिछानेले सम्झाउनु भयो । दिदीजस्तो मान्छे आइदिनुस्, बसिदिनुस् भन्नुभयो ।
सोविता गौतमलाई पन्छाएर उपसभामुखमा कसरी बाजी मार्नुभयो ?
आन्तरिक निर्वाचनमा अरुभन्दा म अघि भएँ । अर्को कुरा जनजाति, उमेरमा सिनियर भएकोले पनि बन्न सजिलो भयो ।
उपसभामुखको आठ महिनाको अनुभव कस्तो रह्यो ?
सांसद अनुभव पहिलो, उपसभामुख अनुभव पनि पहिलो भएकाले धेरै कुरा सिक्ने मौका पाएँ ।
जे सम्झिनु भएको थियो, संसद् त्यस्तै रैछ ?
त्यो भन्दा धेरै फरक पाएँ । संसद् सही बाटोमा हिँडेको छैन ।
संसदको नेता तपाई पनि हो । सही बाटोमा कसले हिँडाउने त ?
संसदको नेता म होइन, सभामुख हो । तर पनि मुख्य कुरा कार्य व्यवस्था समितिको बैठकमा भएका सहमति दलहरूले संसद् बैठकमा पालना नगर्दा संसद् नचल्ने रहेछ । दलहरूले चाहेनन् भने संसद् नचल्ने रहेछ ।
भनेपछि सभामुख, उपसभामुख रबरस्टाम्प मात्र हुने रहेछ ?
रबरस्टाम्प त होइन तर हाम्रो अभ्यास नै गलत बसेको रहेछ । एउटा सांसद विरोधमा उभियो कि संसद् नचलाउने अभ्यास रहेछ । हामीले पनि त्यसैलाई मान्दै आएका छौं ।
तपाईँहरू आएपछि संसद् बढी समय अवरुद्ध भएको छ । यसको मतलब सभामुख, उपसभामुख असफल हुनुभएको हो ?
हामी असफल भन्दा पनि कार्य व्यवस्था समितिमा भएको सहमति दलहरूले पालना नगर्दा समस्या आउने गरेको छ ।
तपाई र सभामुख बीचको सम्बन्ध पनि त्यति सौहार्दपूर्ण छैन भनिन्छ नि ?
म सभामुखले बोलाएको बेला गएकै छु । अब उहाँले बोलाउनु हुन्न त म कसरी जाने ? फेरि सभामुखले नचाहँदा बोलाउनु नपर्ने नियमावलीमै छ । त्यही नियमावली पालना गर्नुभएको होला, कहिलेकाहीँ सभामुखले ।
उपसभामुख पदको गरिमा कायम राख्न सक्नु भएन भन्ने आरोप पनि छ तपाईँलाई । उदाहरणको रूपमा सार्वजनिक रूपमै नियमले दिएको सेवा सुविधा पनि मैले पाइनँ भनेर गुनासो गर्नुभयो ।
नियमावलीमा उपसभामुखलाई आवासको व्यवस्था गरिने भन्ने छ । त्यो पाएको छैन अहिलेसम्म । फेरि त्यो सुविधा मैले मेरा लागिभन्दा पनि सुरक्षाकर्मीका लागि मागेकी हुँ । कहाँ राख्नु त सुरक्षाकर्मी ? सडकमा राखौँ बालेनले राख्न दिँदैनन्, कोठामा ठाउँ छैन । हो, त्यही भनेको हो मैले ।
तपाईँको पार्टीले त हामी पुराना दल र तिनका नेताजस्ता सुविधाभोगी होइनौँ । सुरक्षा दस्ता अघि पछि लगाएर हिँड्दैनौ भन्छ क्यार, होइन ? अनि त्यतिका सुरक्षाकर्मी किन चाहियो तपाईँलाई ?
म त साइकलमा संसद जान खोजेकी थिएँ तर प्रोटोकलले त्यस्तो गर्न मिल्दैन भनियो । तर, सबैको सुविधा काटिन्छ भने त्यसका लागि म तयारै छु ।
तपाईलाइ त्यत्रो सुरक्षा खतरा छ र ?
खतरा छ, छैन आफ्नो ठाउँमा छ । तर पनि नेपाल, भारत, बङ्गलादेशजस्ता देशमा यसै भन्न सकिँदैन । यी मुलुकमा क्यानडाको प्रधानमन्त्रीजस्तो हिँड्न सकिँदैन ।
उपसभामुखको दिनचर्या चाहिँ के गरेर बित्ने रहेछ ?
पहिलो त संसद् र संसद् सचिवालयकै काम बढी हुन्छ । अनि जनता भेट्न आउँछन्, उनीहरूको काम गरिदिने, भनिदिने हुन्छ ।
जनताको काम पनि गर्नुहुन्छ तपाई ?
जनताको काम नगरी म कसरी जनताको प्रतिनिधि भएँ त ?
प्रत्यक्ष निर्वाचित प्रतिनिधि त होइन नि तपाई ?
प्रत्यक्ष निर्वाचित सांसदको एउटा निर्वाचन क्षेत्र हुन्छ, मलाई त देशै भरीकाले भोट हालेर जिताएका हुन् ।
मानवीय कमजोरी हो गल्ती जो कोहीबाट पनि हुन्छ । तर, तपाई गल्ती गरिरहने तर सच्याउन तयार नै हुनुहुन्न रे ? कतिपय संसद् सञ्चालनका क्रममा पनि गल्ती देखिएका छन् तपाईँका...।
मैले गल्ती गरेको हुँदैन । सचिवालयका कर्मचारीले जे लेखेर दिन्छन्, हामीले त्यही पढ्ने हो ।
सभामुख र उपसभामुखले आफू निकट दलका सांसद र अरू दलका सांसदलाई बोल्ने क्रममै विभेद गर्छन् भन्ने छ नि ?
मेरा हकमा शतप्रतिशत झूट हो । मैले सभा चलाएको सबै सांसदहरूले प्रशंसा गर्नु भएको छ । उपसभामुखले निष्पक्ष ढङ्गले सभा चलाउँछ भन्ने छ । मैले समय सकिएपछि रवि लामिछानेदेखि विनोद चौधरीसम्मको माइक काटेको छु । विनोद चौधरीको माइक काट्दा त फोनै आयो ।
के सभामुखले चाहिँ कमजोरी गर्नुभएको छ भन्न खोज्नुभएको हो ?
सभामुखले जे जे गल्ती गर्नुहुन्छ, मैले जिम्मा लिने हो र ? उहाँले गरेको गल्तीको जिम्मा उहाँ आफैले लिनुपर्छ ।
तपाईँ मर्यादाको पनि सारै ख्याल राख्नुहुन्छ रे अर्थात् सम्मान धेरै खोज्नुहुन्छ रे ?
तपाईँले कसरी उल्टो उल्टो मात्र सुन्नुहुन्छ, थाहा भएन । संविधान, नियमावलीले गरेको व्यवस्था अनुसार चल्ने हो ।
उपसभामुखको कार्यकाल सकेपछि त राजनीतिमा टिक्नु हुन्न कि के हो ?
किन ? कडा बोल्यो भनेर हो कि के हो ? राजनीतिमा के झुटै मात्र बोल्नुपर्छ र ?
उपसभामुख हुनुभएको आठ महिना भयो । यस अवधिमा आफै सन्तुष्ट हुने एउटा केही काम गर्नुभएको छ ?
आफूलाई भेट्न आउने सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा सहज बनाएको छु । जनताका काम पनि गरिरहेकी छु । आफ्नो कामबाट सन्तुष्ट छु अहिलेसम्म ।
तपाईँहरू आएपछि संसद् सचिवालयको खर्च बढ्यो भन्ने छ । यसमा तपाईँको प्रतिक्रिया के छ ?
के त्यो मैले बढाएको हो र ? मैले गरेको हो त ? ज–जसले गरेको छ, उसैलाई भन्नुस् । मैले त यति ठुलो खर्च गरेर चन्द्रागिरिमा कार्यक्रम नगरौँ भनेको थिएँ तर सुनुवाइ भएन ।
सभामुख र तपाईँले जिम्मा लिनुपर्ने होइन र ?
सभामुखले जिम्मा लिनुपर्छ । मैले त उहाँको अनुपस्थितिमा काम गर्ने मात्र हो ।
प्रतिक्रिया