रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘शीर्ष दश’ समाचार
आज मिति २०८० साल भदौ महिनाको ७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटिएको छ ।
विश्वासको मतसम्बन्धी विवादमा सर्वोच्च
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले पाएको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको हो
नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको दाबी गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने काम गरिरहेको बताएका हुन् ।
निर्वाचन कार्यतालिका
भदौ ११ गते हुने संसदीय समितिका सभापति चयन गर्न निर्वाचन कार्यसूची सार्वजनिक भएको छ । संसद सचिवालयले समितिका सभापतिको निर्वाचनका लागि कार्यसूची बिहीबार सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ ।
एकीकृत समाजवादीको निर्णय
पार्टी गठन भएको २ वर्षमै १० औं महाधिवेशन गर्ने भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर अचम्म मानेपनि विश्वास गर्नुपर्ने भएको छ । किनकि एमालेबाट विद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टी गठन भएको दुई वर्षमै आगामी माघ महिनामा दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ । नेपाल नेतृत्वको पार्टी २०७८ भदौ २ मा गठन भएको थियो ।
ललिता निवास प्रकरण
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४३ रोपनी ६ आना सरकारी जग्गा विभिन्न निकायका तलदेखि उपल्लो तहका सरकारी कर्मचारी र पदाधिकारीले पदीय दुरुपयोग गर्दै हिनामिना गरेको निष्कर्ष निकालेको छ ।
ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा बालुवाटारको जग्गा हिनामिनामा संलग्न २३८ जना विरुद्ध संगठित किर्ते मुद्दा चलाउन राय दिएको छ ।
भक्तपुर घटना
भक्तपुरको सानो थिमीस्थित बालसुधार गृहबाट भदौ ४ मा २ सय २१ नाबालक कैदी फरार भए । थुनामा रहेका साथिको मृत्युपछि सुधार गृहको पछाडीपट्टिको ढोका तोडेर उनीहरु भागेको प्रशासनको प्रारम्भिक छानबिन निष्कर्ष छ । भागेका मध्ये ६ जना नाबालक बन्दी अझै सम्पर्कमा आएका छैनन् ।
बजार अनुगमन गर्न सांसदको माग
जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले खाद्यान्नको मूल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद यादवले चामल, चिनी, आँटा, प्याज लगायतको मूल्यवृद्धि आकासिएको बताएकी हुन् । उनले मूल्यवृद्धि नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्नुपर्ने बताइन् । पहिले नै व्यापारिहरुले भण्डारण गरेका खाद्य सामग्रीहरुलाई बाहिर निकालेर उचित मूल्यमा बिक्री गर्नुपर्ने उनले बताइन् ।
बारा बस दुर्घटना
बाराको चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ज्यान गुमाएका सातै जनाको सनाखत भएको छ । काठमाडौँबाट भारतको मोतिहारी तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ख ७९९४ नम्बरको बस सडकबाट दायाँतर्फ करिब १५ मिटर तल खहरेमा खसेको थियो । बसमा २६ जना सवारमध्ये ७ जनाको मृत्यु भएको र अन्य १९ जना घाइते भएको प्रहरी जनाएको छ ।
गौरा पर्व
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार गौरा पर्वको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।
यो पनि....
सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि ५८ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
साउन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले युनिसेफको आयोजनामा नेदरल्याण्ड्सको हेगमा आयोजना हुने माइक्रोनुट्रेन्ट फोरमको छैटौँ ग्लोवल कन्फ्रेन्स कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छीलाई सहभागिताका लागि स्वीकृति दिने निर्णय गरेको हो ।
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् ।
६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सामाजिक सञ्जालमा सम्पर्क देखिएको भन्दै उनलाई छानबिनका लागि मन्त्रालयमा झिकाइएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।
नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य डा राजाराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले कार्कीको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारितको निर्णय गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनस्र्थापना भएको बताएका छन् । बिहीबार काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले राजसंस्था पुनः स्थापनाको एजेण्डा पार्टीले महत्त्वपूर्ण एजेण्डाको रूपमा अघि बढाउने बताएका हुन् ।
इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको भदौ ४ गतेको मन्त्रीस्तरीय निर्णयले भाडादर समायोजन गरेको हो । समायोजन भएको भाडादर शुक्रबारदेखि लागु हुने राजपत्रमा प्रशासित सूचनामा उल्लेख छ ।
साताको अन्तिम दिन नेप्से सूचक ३१ अंकले घटेर बन्द भएको छ । अघिल्लो तीन दिन लगातार बढेको नेप्से सूचक बिहीबार ३१ अंकमाथिले घटेको हो ।
ठगीधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले करिब ५० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेश कुमार यादव रहेका छन् ।
गायिका समीक्षा अधिकारीले फेरि आफ्नो बदनाम गर्न खोजिएको आरोप लगाएकी छन् । अस्ट्रेलियाले आफ्नो भिसा रद्द गरिदिएको भन्ने समाचारको खण्डन गर्दै उनले अँध्यारो छिचोलेर अगाडि बढ्न खोज्दा फेरि बदनाम गर्न खोजिएको धारणा राखेकी छन् ।
यो पनि....
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई