मिलन नेपाली कहिलेसम्म बेखबर ?
२०५६ जेठ २१ गते सविता बस्नेतलाई अपरिचित व्यक्तिबाट फोन आयो — तपाईंको श्रीमान् (मिलन नेपाली)लाई नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा राखिएको छ ।
परैबाट भए पनि श्रीमान्लाई देख्न पाउँछु कि भनी सविता हतार–हतार प्रहरी प्रधान कार्यालय पुगिन् । कार्यालयको नजिकैको खाली जग्गाबाट उनले हतकडी लगाइएका श्रीमान्लाई देखिन्, तर प्रहरीले नजिक जान र भेट्न दिएन । हरेक दिनजसो भेट्न जाँदा समेत नक्सालस्थित प्रहरी मुख्यालयले उनको अनुरोध अस्वीकार ग¥यो । एकपटक भने उनले लगिदिएको केही सफा लुगा मिलनलाई दिन प्रहरीले अनुमति दिएको थियो । त्यसयता सविताले आफ्ना श्रीमान्को अत्तोपत्तो पाएकी छैनन् ।
दशवर्षे जनयुद्धका बेला सत्ता र विद्रोही दुवै पक्षबाट कैयौँ नेपाली बेपत्ता पारिए । बेपत्ता पारिएकामध्ये एक हुन् — सञ्चारकर्मी मिलन नेपाली ।
जनयुद्ध चलिरहेका बेला जनपक्षीय पत्रकारिता चुनौतीपूर्ण थियो । त्यो कठिन समयमा मिलन जनादेश साप्ताहिकमा प्रबन्ध सम्पादकको भूमिकामा थिए । जनादेशमा सावधानीपूर्वक सूचना सम्प्रेषण तथा सम्पादन गर्ने मिलन काठमाडौं केन्द्रित भएर रिर्पोटिङ गर्दै आएका थिए । समसामयिक विषयमा कलम चलाउने उनी माओवादीका सक्रिय सदस्य समेत थिए, पार्टीका गतिविधिमा नियमित सहभागी हुन्थे ।
ललितपुरको भट्टेडाँडामा प्रहरी चौकीमाथिको आक्रमण र त्यसबारे सचित्र समाचार लेखेपछि उनीलगायत जनादेश पत्रिकाको टिममाथि तत्कालीन राज्यपक्षबाट चर्काे दमन भयो । त्यसपछि उनी भूमिगत रूपमा पत्रकारिता गर्न बाध्य भए ।
जनयुद्धको नेतृत्व गरेको माओवादीको विचार, गतिविधि र समाचार प्रकाशित गर्ने आधिकारिक पत्रिका भएकाले जनादेश साप्ताहिक त्यतिबेला ७५ हजारप्रति भन्दा बढी प्रकाशित हुने तत्कालीन सम्पादक महेश्वर दाहालको दाबी छ । कतिपय ठाउँमा पत्रिका बेच्न अघोषित प्रतिबन्ध लगाएकाले त्यसलाई पार्टीको भूमिगत च्यानलबाट पठाउनुपथ्र्यो । त्यो कार्यमा मिलनले नै मुख्यतः संयोजन गरे ।
कलम चलाएकै कारण मिलन तत्कालीन राज्यसत्ताद्वारा २०५३ सालमा पक्राउ परेका थिए । त्यतिबेला १९ दिनसम्म उनलाई हनुमानढोकाको कस्टडीमा राखिँदा उनकी पत्नी सविताले उनका लागि दिनहुँ खाना पु¥याउन जानुपथ्र्यो । २०५४ सालमा मिलन, ओम शर्मालगायत गिरफ्तार हुँदा नेपाल पत्रकार महासंघले आन्दोलन नै गर्नुप¥यो । गोपाल बुढाथोकीको नेतृत्वमा भएको आन्दोलनका कारण तत्कालीन राज्यपक्षले उनीहरूलाई गिरफ्तारीको एक महिनापछि रिहा गर्न बाध्य भएको थियो ।
तत्कालीन समयमा सरकार र माओवादीबीच चर्किएको द्वन्द्वबारे मिलनले खुलेर पैरवी गरेका थिएनन्, तर पनि माओवादीमा आस्था राख्ने र सरकारका सूचना बाहिर ल्याउने आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । सविताका अनुसार, २०५६ भदौ ७ गतेदेखि उनलाई सम्पर्कविहीन बनाइयो । उनको ‘अपराध’ यही थियो कि उनले उत्पीडित वर्ग तथा समुदायको पक्षमा पत्रकारिता गर्थे ।
खोजी
गिरफ्तारीपछि मिलनलाई परिवारले धेरै खोज्यो । श्रीमान्को खोजीमा सविता काठमाडौंका हरेक प्रहरी चौकी र सबस्टेसनमा धाइन् ।
२०५६ जेठ १२ गते अशोक महरियमले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए, सोही वर्षको असार २८ गते उक्त रिट खारेज भयो । सविता सहसंस्थापक रहेको ‘बेपत्ता पीडित परिवार संघ’ले मिलनको अवस्था अवगत गराउन २०५६ असार ३ गते प्रधानमन्त्रीसमक्ष लिखित दरखास्त पेस गरेको थियो । सविता स्वयंले दायर गरेको रिट समेत २०५६ असार २८ गते खारेज भयो ।
मिलनको अवस्था जानकारी गराउन ६ असार २०५६ मा संसद्मा लिखित दरखास्त दिइयोे । यस्तै, २०५६ असार ३० गते पत्रकार सम्मेलन गरी मिलन बेपत्ता भएको जानकारी समेत गराइएको थियो । यही दिन सविताले ‘एम्नेस्टी इन्टरनेसनल’लाई सम्पर्क गरी मिलन बेपत्ता रहेको जानकारी गराएकी थिइन् ।
मिलनलाई बेपत्ता पारेको भन्दै सविताले ट्रायल इन्टरनेसनलमार्फत २०६९ जेठ ८ गते संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार समितिमा व्यक्तिगत उजुरी पेस गरेकी थिइन् । समितिले २०७२ पुस २७ गते जारी गरेको निर्णयमा मिलनलाई जबर्जस्ती बेपत्ता पारिएको उल्लेख गरिएको थियो ।
जनयुद्धको नेतृत्व गर्ने थुप्रै नेताहरू सरकारमा पुगे, अहिले पनि माओवादीकै नेतृत्वको सरकार छ, तर आजसम्म मिलनको कुनै अत्तोपत्तो नहुनु विडम्बना हो । मिलन नेपाली मात्र होइन, तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका सम्पूर्णको अवस्था सार्वजनिक गरिनुपर्छ ।
पुरस्कार स्थापना
तत्कालीन क्रान्तिकार पत्रकार संघ ललितपुरले २०७२ सालमा मिलनको नाममा ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार’ स्थापना गरेको थियो । २०७३ सालदेखि हरेक वर्ष जनपक्षीय पत्रकारितामा कमल चलाउने एक पत्रकारलाई नगदसहित प्रेस सेन्टर ललितपुरले पुरस्कृत गर्दै आइरहेको छ ।
पहिलोपटक समयबोध मासिकका प्रधानसम्पादक तथा जनपक्षीय पत्रकार लेखनाथ न्यौपाने पुरस्कृत भए । यस्तै, २०७४ मा आस्था केसी, २०७५ मा सागर न्यौपाने पुरस्कृत भए ।
नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीच भएको पार्टी एकीकरणको प्रभाव प्रेस सेन्टरमा पनि प¥यो । जनवर्गीय संगठन पनि एकीकरणको चरणमा रहेकाले २०७६ र २०७७ को पुरस्कार वितरण हुन सकेन ।
सर्वोच्च अदालतको फैसलापछि दुई पार्टी पूर्ववत रूपमा फर्किएपछि प्रेस चौतारी र प्रेस सेन्टर पनि अलग हुन पुगे । सोही अनुसार प्रेस सेन्टर ललितपुरले २०७८ को मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कारबाट रातोपार्टीकर्मी राजकुमार सिग्देल पुरस्कृत ग¥यो । यस्तै, २०७९ को पुरस्कार देखापढीकर्मी रोजिना थापा र नयाँ पत्रिकाका पत्रकार शिवहरि घिमिरेले पाए ।