शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
माओवादी मधेसमा अन्तरविरोध

मधेसमा मात्रिका र गिरिराजमणिको ‘वार’ ले अझै बनेन प्रदेश कमिटी, माओवादीलाई धक्कैधक्का

विशेष अभियानभर पुराना विवाद बाहिर नल्याउने सहमति
बिहीबार, ०७ भदौ २०८०, १५ : १८
बिहीबार, ०७ भदौ २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशन सकिएको एक वर्ष आठ महिनासम्म पनि मधेस प्रदेश कमिटी गठन गर्न सकेको छैन ।

२०७८ मंसिर २५ मा जनकपुरधाममा भएको अधिवेशनलाई अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । अधिवेशनमा १३६ पालिकाबाट ६ सय, आयोजक र मनोनीत गरी एक हजार प्रतिनिधि सहभागी थिए । तर अधिवेशनमा सहभागी प्रतिनिधिलाई लिएर उपमहासचिवद्वय मात्रिका यादव र गिरिराजमणि पोखरेलबीच देखिएको आन्तरिक द्वन्द्वका कारण बन्दसत्र नै बस्न सकेन । त्यतिबेला एक सय पालिकामा विवाद सुल्झिए पनि ३६ पालिकामा विवाद कायमै थियो ।

अधिवेशनबाट ९ जना पदाधिकारीसहित २७१ जनाको प्रदेश समिति चयन गर्नुपर्ने हुन्छ । उक्त समितिमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव, १ कोषाध्यक्ष र बाँकी सदस्य रहने प्रावधान थियो ।

पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेपछि केन्द्रले नै हस्तक्षेप गर्नुपरेको थियो । विवाद मिलाउनका लागि अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पहल गरेका थिए । सहमतिपश्चात् पुस ३ मा सर्लाहीको लालबन्दीमा बस्ने भनिएको बन्दसत्र बस्दै नबसी स्थगित भयो । ६ वटा भौगोलिक र तीन वटा गैर भौगोलिक प्रदेश रहेको माओवादी केन्द्रमा मधेस प्रदेशबाहेक सबै प्रदेशमा कमिटी गठन भइसकेको छ ।

यादव र पोखरेलबीच अस्तित्वको लडाइँ

माओवादी केन्द्रको प्रभावशाली नेता रहेका मात्रिका यादव र गिरिराजमणि पोखरेल मधेस प्रदेशमा मात्र नभइ राष्ट्रियस्तरमै स्थापित नेता हुन् । यादव १० वर्ष जनयुद्ध लडेर आएका नेता हुन् । पोखरेल माओवादी शान्ति प्रक्रियामा आएपछि २०६५ मा एकता केन्द्रबाट आएका नेता हुन् ।

यी दुई नेताबीच मधेस राजनीतिमा आफ्नो प्रभाव जमाउने होडबाजी र शक्ति संघर्षका कारण पार्टी कमजोर भएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । दुई वर्षअघि नै अधिवेशनबाट कमिटी गठन गर्ने प्रयास भए पनि आन्तरिक विवादका कारण असफल भएको ती नेताले स्वीकारे ।

‘त्यतिबेलै हामीले कि निर्वाचन, कि त सर्वसम्मत रूपमा कमिटी गठन गरौँ भनेर नेतृत्वलाई सुझाव दिएका थियौँ । न निर्वाचन भयो, न त सर्वसम्मत कमिटी गठन भयो । आन्तरिक विवादका कारण डेडलक त्यत्तिकै रह्यो’, उनले भने, ‘हारे पनि जिते पनि पार्टीकै हो । डेडलक बनाएर राख्न भएन । अब नयाँ इन्चार्ज आउनुभएको छ । डेडलक खोल्नुहुन्छ भन्ने आशा छ ।’

विवाद यति चर्किएको कि गतवर्ष स्थानीय तहको निर्वाचनका लागि प्रशिक्षण कार्यक्रममा भाग लिन प्रचण्ड र नारायणकाजी श्रेष्ठ जनकपुरधाम पुग्दा मात्रिका यादवले बहिस्कार गरे । प्रशिक्षण कार्यक्रममा श्रेष्ठ सहभागी भएकोमा असन्तुष्टि जनाउँदै यादवले कार्यक्रम बहिस्कार गरेका थिए ।

पोखरेल शिक्षामन्त्री हुँदा धनुषामा रहेको सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्न लागेको अरोप लगाउँदै आठौँ महाधिवेशनमा पोखरेलमाथि कारबाही गर्न सत्यनारायण भगत समूहले माग गरेको थियो । बन्दसत्रमा आफूमाथि कारबाहीको माग गरेपछि अध्यक्षमण्डलमा रहेका पोखरेलसहितका नेताहरूले बन्दसत्र नै बहिस्कार गरेपछि हंगामा भएको थियो ।

विवाद सुल्झाउन स्थायी कमिटी बैठकले हस्तक्षेप गर्नुपरेको थियो । दुई नेताबीचको शक्ति संघर्षका कारण २०७८ फागुन २३ मा बसेको माओवादी स्थायी कमिटी बैठकले मध्यस्तताका लागि गणेश साहलाई मधेशको इन्चार्ज बनायो । साह इन्चार्ज भएर गएपछि विवाद मिलाएर अधिवेशन गर्ने प्रयास गरे पनि असफल भए ।

डेढ वर्ष इन्चार्ज भएका उनलाई राजधानीमा साउन(१७–२१) मा बसेको बैठकले बिदा दियो । लीलामणि पोखरेलले नयाँ इन्चार्जको जिम्मेवारी पाएका छन् ।

आन्तरिक विवाद काबुबाहिर गएकाले आफूले विवाद मिलाउन नसकेको साहले स्वीकारे । विगतमा विवाद भए पनि केन्द्रीय समितिको निर्णयपछि विगतको जस्तो स्थिति नरहेको उनको जिकिर छ ।

‘मधेस कमिटी गठन नहुनुमा आन्तरिक र बाह्य फ्याक्टरको प्रभाव थियो । म इन्चार्ज  भएर जाँदा आन्तरिक विवाद काबुबाहिर रहेकाले पार्टी नेतृत्वबाहेक अन्यले मिलाउन सक्ने स्थिति थिएन’, उनले भने, ‘आन्तरिक विवादकाबीच मलाई पार्टीले मधेसको इन्चार्ज बनाएर पठाएको हो । मैले विवाद सुल्झाएर मधेस कमिटी गठन गर्न निकै प्रयास गरेँ तर सकिएन । मधेस विशेष प्रदेशजस्तै भयो । त्यहाँ विशेष तरिकाले चल्छ ।’

विशेष अभियानभर पुराना विवाद बाहिर नल्याउने सहमति

भदौ १६ देखि ७५३ वटै पालिकामा ‘जनतासँग माओवादी विशेष  रूपान्तरण’ तीन महिने अभियान सञ्चालनका लागि आन्तरिक तयारीमा माओवादी केन्द्र व्यस्त छ । केन्द्रीय पदाधिकारीदेखि पालिका इन्चार्जसमेत फेरबदल भइसकेको छ । विगतमा आफ्नै क्षेत्रको इन्चार्ज बनाए पठाउँदा उत्कृष्ट नतिजा ल्याउन नसकेको निष्कर्ष निकाल्दै योपटक अन्तरजिल्ला हेर्ने गरी नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

नेताहरूको कार्यविभाजन सबै प्रदेशमा टुङ्गिए पनि मधेस प्रदेशमा टुङ्गिएको छैन । मधेसमा भदौ ९ गते कार्यविभाजन टुङ्ग्याउने इन्चार्ज पोखरेलले जानकारी दिए ।

‘कार्यविभाजनको खाका तयार भइसकेको छ । भदौ ९ गते रौतहटको चपुरमा बस्ने केन्द्रीय सदस्यहरूको बैठकले कार्यविभाजन टुङ्गो लगाउँछ’, उनले भने, ‘विवाद भएर ढिला भएको होइन । अभियान अवधिभर आन्तरिक विवाद बाहिर नल्याउने समझदारी भइसकेको छ । अब हामी एकताबद्ध भएर अभियान सफल बनाउन लाग्छौँ ।’

उनले अभियानपछि मात्र मधेस कमिटी गठन गर्ने जानकारी दिँदै अभियान अवधिभर कुनै विवाद आए आपसी समझदारीमा समस्याको हल गर्ने बताए ।

अर्का नेता विश्वनाथ साहले केन्द्रीय समितिको बैठकपछि पार्टी एकताबद्ध भएको जानकारी दिँदै पुराना अन्तरविरोधका कुरा बाहिर नल्याउने सहमति भएको जिकिर गरे । ‘सहिद रामवृक्ष यादवको शालिक व्यवस्थापनको विषयमा मात्रिकाजी र गिरिराजजीबीच अन्तरसंघर्ष चलेको थियो । आपसी सहमतिमै ती विषय अहिले हल भइसकेको छ । अहिले आन्तरिक विवाद केही छैन’, उनले भने ।

आन्तरिक विवादले पार्टीलाई क्षति

दुई नेताबीच  देखिएको आन्तरिक द्वन्द्वका कारण मधेस प्रदेशमा पार्टी निकै कमजोर भएको छ । गएको स्थानीय तह निर्वाचनमा मधेसका १३६ पालिकामध्ये माओवादीले ९९ स्थानमा एकल उम्मेदवारी दिएको थियो । तीमध्ये जम्मा ७ पालिका प्रमुख मात्रै माओवादीले जित्यो ।  गठबन्धन गरेको स्थानमा थप २ पालिका जित्यो । अघिल्लो निर्वाचनमा माओवादी एक्लैले २१ पालिका जितेको थियो ।

त्यस्तै प्रदेश सभामा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक गरी चार/चार सिटमात्र जित्न सफल भयो । संघमा पाँच दलीय गठबन्धनको कोटाबाट मधेस प्रदेशमा ७ सिट पाएको माओवादी केन्द्रले ६ सिटमा उम्मेदवारी दिए पनि एक सिट पनि जित्न सकेन । माओवादी केन्द्रको चिह्नबाट चुनाव लडेको नेपाल समाजवादी पार्टीको उम्मेदवार महेन्द्रराय यादवले मात्र चुनाव जित्न सफल भए । मधेसमा नेसपाले मात्र माओवादीको साख जोगायो । अघिल्ला निर्वाचनमा महोत्तरी–१ बाट लगातार चुनाव जित्दै आएका पोखरेलले आन्तरिक विवादकै कारण पराजित भए । २०७४ को निर्वाचनमा माओवादीले सिरहा–२, धनुषा–१, महोत्तरी–१, सर्लाही–३ र रौतहट–३ मा जित हात पारेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप