बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

प्रिगोजिन चढेको विमान कति सुरक्षित थियो ?

बिहीबार, ०७ भदौ २०८०, १२ : १३
बिहीबार, ०७ भदौ २०८०

रुसमा भएको निजी विमान दुर्घटनामा वाग्नर आर्मीका प्रमुख येवगेनी प्रिगोजिनको मृत्यु भएको छ । विमानमा कुल १० जना सवार थिए । 

दुर्घटनापछि यो विमान कत्तिको सुरक्षित थियो भनेर प्रश्न उठिरहेको छ । विमानबारे प्रकाशित रिपोर्टका अनुसार यो एक एम्ब्रेयर लिगेसी ६०० विमान थियो । 

ब्राजिलको एम्ब्रेयर लिगेसी ६०० एयरक्राफ्ट सन् २००२ मा बनेको थियो र अहिलेसम्म कम्पनीले यो मोडलका ३०० वटा जेट बनाइसकेको छ ।

इन्टरनेशनल एभिएसन मुख्यालयको वेबसाइट अनुसार यो मोडलको सुरक्षा रेकर्ड निकै राम्रो छ । २० भन्दा बढी वर्षमा एउटा मात्रै दुर्घटना भएको छ । 

वेबसाइटका अनुसार सन् २००६ मा एक विमान ब्राजिलमा एम्ब्रेयर फ्याक्ट्रीबाट अमेरिकाका लागि उडान भरिरहेका बेला दुर्घटना भएको थियो । त्यो दुर्घटनाको कारण पनि मानवीय त्रुटि बताइएकाे छ । 

सन् २०२० मा कम्पनीले यो जेटको उत्पादन बन्द गरेको थियो । 

रुसको उड्डयन एजेन्सीले यो विमानमा चालक दलका तीन सदस्य तथा सात यात्री रहेको र सबैको मृत्यु भएको जनाएको छ । 

रुसको आपत्कालीन सेवाका अनुसार विमान दुर्घटनामा मारिएका सबैको शव बरामद गरिएको छ ।

रुसका अनुसार प्रिगोजिनसँगै उनका नजिकका सहयोगी दिमित्री उत्किन, सर्गेई प्रोपुस्टिन, येभगेनी मकार्यान, अलेक्ज्याण्डर टोटमिन, भ्यालेरी चेकालोफ र निकोलाई मातुसेयेभ पनि विमानमा सवार थिए ।

चालक दलका सदस्यहरू क्याप्टेन एलेक्सी लेभ्सिन, को–पाइलट रुस्तम करिमोभ र उडान परिचर क्रिस्टिना रास्पोपोभा थिए ।

यस वर्ष जुनमा, प्रिगोजिनको नेतृत्वमा वाग्नर सेनाले रुसमा विद्रोह गर्ने असफल प्रयास गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप