शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

अब आर्थिक क्रान्तिको बेला आयो : नेता सिंह

बिहीबार, ०७ भदौ २०८०, १२ : ०२
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन् । पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको  भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने बताए ।

बिहीबार नेपाली कांग्रेस काठमाडौं – ३ मा आयोजित एक कार्यक्रममा नेता सिंहले अब आर्थिक क्रान्तिको बेला भएको बताए ।

पार्टी र सरकारले त्यसैअनुसारको योजना तथा कार्यक्रम लिएर जनतामाझ जानुपर्ने उनको भनाइ छ । राजनीतिक रुपमा धेरै उपलब्धि हासिल भएको भन्दै अब आर्थिक क्रान्ति र समतामूलक विकास मूल एजेन्डा हुनुपर्ने उनले बताए ।

केही भएन र पुराना पार्टीहरुले काम गरेनन् भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘२०४६ साल पछिको विकास र प्रगतिलाई ख्याल नठान्नुस् ।’  हालसम्मका उपलिब्ध कांग्रेसकै नेतृत्वमा भएको उनको दाबी थियो ।

कांग्रेसले इतिहास बनाउन सकेकाले इतिहासका कुरा गर्ने उनले बताए । खाली इतिहासको मात्र कुरा गर्छ भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘कांग्रेसको इतिहास छ, इतिहासको कुरा गर्छ र जनचाहना अनुरुप बदलिएको समय अनुसारको कार्यक्रम पनि लिएर जनतामाझ जान्छ,’ उनले भने, ‘जुन पार्टीको इतिहास नै छैन, उसले के कुरा गर्छ ?’

सोही कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेस निर्वाचित जनप्रतिनिधिले गर्ने कामले कांग्रेसलाई हेर्ने धारणा तय गर्ने भएकाले जिम्मेवारपूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्ने बताइन् ।

यसैगरी कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, काठमाडौं जिल्ला सभापति सबुझ बानियाँ र प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे लगायतले पार्टीका हरेक नेता-कार्यकर्ताहरुले आ–आफ्नो स्थानबाट संगठन मजबुत बनाउन लाग्नुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप