नारी विद्रोहको पौराणिक कथा : लोलीगोरा
सामाजिक तथा आर्थिक हैसियतले पर्वहरूको स्वरूप निर्धारण गरेको हुन्छ । यथेष्ट आम्दानी भएको तथा विलासी जीवन बाँच्न सक्ने वर्गले मनाउने र कमजोर आर्थिक हैसियतका वर्गले मनाउने चाडपर्वहरू भिन्न प्रकारका हुन्छन् । त्यसैगरी, हिमाल, पहाड, तराई, अति गर्मी तथा अति जाडो भूगोल आदि क्षेत्रका चाडपर्वहरू पनि फरक फरक स्वरूप तथा प्रकारमा निर्माण भएका हुन्छन् ।
गौरा पर्व विशेषतः सुदूरपश्चिमका पहाडी हिन्दु किसान समुदायमा उच्च महत्वका साथ मनाइँदै आएको पर्व हो । तर पछिल्लो समय विज्ञान तथा प्रविधिको विकास, बसाइँ सराई तथा विश्वव्यापीकरणका कारण यो देशका विभिन्न स्थानमा मात्र नभई विदेशमा पनि मनाइन थालिएको छ । यद्यपि, समय परिस्थितिअनुरूप यसलाई मनाउने तरिकामा भने परिमार्जन हुँदै आएको छ ।
सुदूरपश्चिमका ग्रामीण पहाडी समुदायमा चैतदेखि साउनसम्म लगातारजसो खेतीपातीको काम हुने गर्दछ । गहुँ काट्ने, चुट्ने, खेत खनजोत गर्ने, धान रोप्ने, कोदो छर्ने, गोडमेल गर्ने, दलहन बाली रोप्ने जस्ता यावत कार्यको चटारो यो समयमा हुन्छ । यी अधिकांश काममा महिलाहरूकै सहभागिता हुन्छ । भदौ लागेसँगै महिलाहरू यी कामबाट केही मात्रामा मुक्त हुन्छन् ।
डोटेली समुदायमा एक उखान छ– “मरुँला भनी बिसुँ खानु, बाँचुला भनी ओल्के खानु !” बिसुँ पर्व (वैशाख सङ्क्रान्ति) सँगै गर्मी मौसम सुरु हुन्छ, लगत्तै वर्षात् लाग्छ । जताततै हिलोमैलो हुन्छ । निम्नवर्गीय किसान समुदायका लागि यी चार महिना निकै कष्टकर हुन्छ । विभिन्न रोगव्याधीहरूको संक्रमण, बाढी पहिरोलगायत प्राकृतिक प्रकोप आदि यिनै महिनामा अधिक हुन्छ ।
सामाजिक संस्कार र कार्यविभाजन परिपाटी हेर्दा महिलाहरू प्रकोपमा बढी पर्ने गरेका छन् । तर जब ओल्के (भाद्र सङ्क्रान्ति) आउँछ, वर्षात् सकिन्छ । पारिलो घाम लाग्छ । सेरोफेरो सफा र सुन्दर देखिन्छ । मेलापात र हिलोमैलोले खाएका ग्रामीण महिलाहरूका हात, पैताला तङ्ग्रिन थाल्छन् । यही मेलोमा मनाइन्छ गौरा पर्व । यस आयामबाट हेर्दा गौरालाई ग्रामीण किसान समुदायका महिलाहरूको उमङ्गको पर्व मान्न सकिन्छ ।
०००
गौरा पर्व विशेषतः नेपालको सुदूरपश्चिम तथा भारतको कुमाउँ क्षेत्रमा मनाइने मौलिक पर्व हो । तर वर्तमानमा भने यो पर्व तत्तत् समुदाय पुगेका देशका विभिन्न भागमा मात्र नभएर संसारका अन्य थुप्रै देशमा समेत मनाइन थालेको छ । यस पर्वलाई गौरा, गोरा, लोलीगोरा, गमरा आदि विविध नामले पुकारिन्छ ।
वैदिक मान्यताअनुरूप गौरा पर्व भाद्र कृष्ण पञ्चमीमा सुरु भएर भाद्र कृष्ण अष्टमीमा समापन हुन्छ । तर स्थानीय अनुकूलनअनुसार गौरा विसर्जन कार्य केही दिन लम्बिन सक्छ । सप्तमीका दिन महिलाहरू खेतमा गएर धान, बलु, कुस, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपामार्ग गरी नौ प्रकारका बिरुवाहरूलाई गौराको रूपमा भित्र्याउने चलन छ । आयुर्वेदको दृष्टिकोणले महत्त्वपूर्ण यी बिरुवालाई नवदूर्गाको प्रतीकको रूपमा लिने गरिन्छ ।
बिरुडा भिजाउने, बिरुडा पखाल्ने, लोलीगोरा (पानीको मुहानमा स्थापना गरिने गोरा) पुजन, गौरा भित्र्याउने, सञ्जा भित्र्याउने, गोरा मिलाउने (मूल पूजा) र गोरा विसर्जन यो पर्वका मूल कर्म हुन् । यी सबै कर्म महिलाहरूबाटै हुन्छन् । ब्रतालु महिलाले पूजामा प्रसादको रूपमा पनि बिरुडाको मात्र प्रयोग गर्छन् ।
धार्मिक मान्यताअनुसार गौरालाई महिलाहरूले गौरा–महादेवको विवाह उत्सवको रूपमा पनि मान्ने गरेको भनाई छ । महिलाहरूले गौरा व्रत बसेमा श्रीमान्को आयु बढ्ने, परिवारमा सुखशान्ति हासिल हुने मान्यता पनि छ ।
त्यस्तै, प्राचीन हैह्यवंशी राजा सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतीत्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् । र, सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुनले माफी माग्नु परेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको धार्मिक कथन पनि छ ।
उसो त यहाँका हरेक जिल्लामा गौरा मनाइने केही तौरतरिका पृथक् पनि छन् । उसै गरी, गौरा पर्व बारेका भाष्य र मिथकमा पनि एकरूपता छैन । यहाँका गर्खापिच्छे भाष्य तथा उपकथाहरू फरक फरक छन् ।
केही गर्खाहरूमा मयसरले पुरानी श्रीमती अति कालो वर्णकी भएका कारण दोस्रो बिहे गरेको कथा प्रचलनमा छ । दोस्रो बिहे गरेपछि जेठी श्रीमतीले मयसरलाई नानाथरी धाकधम्की दिएका प्रसङ्गहरू पनि छन् । त्यो अवसरमा श्रीमतीका अघिल्तिर मयसर निरीह देखिन्छन् । उनले आफ्ना गल्ती स्वीकार गर्छन् ।
गौरा र सञ्जा दुवै मिलेर बसेमा भविष्यमा आफू उनीहरूलाई कुनै प्रकारको दुःख कष्ट नदिने बरु उनीहरूका सबै आग्रह स्वीकार गर्ने वाचा गर्छन् । महिला महिला मिलेमा मात्र आफ्ना हक अधिकारका लागि पुरुषहरूसँग लड्न सकिन्छ भन्ने सन्देश पनि यसमा दिन खोजिएका छ ।
गौरा पर्वमा मुख्यतः पाँच पात्र चित्रण गरिएको छ । लोली गोरा, गोरा, सञ्जा, मयसर र बालो । यहाँ लोली गोरा भनेर विष्णुका शीरबाट बगेकी गङ्गालाई इङ्गित गरिएको छ ।
त्यस्तै, गोरा सतीदेवी, सञ्जा पार्वती, मयसर महादेव र बालो भनेर गणेशलाई मानिने लोकोक्ति छ । यद्यपि, कथामा चित्रण गरिएका चरित्र र समयावधि विश्लेषण गर्दा गोरा र सञ्जामध्ये को पार्वती र को सतीदेवी हुन् भन्ने सवालमा पनि विरोधाभास छन् ।
गौराबारे वैदिक, धार्मिक, पौराणिक लोकोक्तिहरूमा कथाहरू जे जस्ता भए पनि सबैमा महिला शक्ति र आवश्यकतालाई उच्च सम्मानका साथ केन्द्रमा राखिएको छ ।
गौरा पर्व अवधिभर महिलाहरू डेउडा गीत तथा नाचमा रमाउने गर्दछन् । दिनभरका अन्य काम सिध्याएर अक्सर रातमा महिलाहरूका डेउडा उत्सव चल्छन् । करिब हप्ता दिन यो उत्सव चल्छ । महिलाहरू मात्र सहभागी हुने डेउडामा आफ्ना दैनिकीदेखि समाज र देश परदेशका सन्दर्भहरू आउँछन् ।
घरपरिवारमा महिलाहरूले भोग्नुपरेका कष्ट, मेलापातका दुःख पिर, लैङ्गिक विभेद, श्रीमान् र सासुससुराले दिने गरेका यातना र विरहका गीतहरू डेउडामा आउँछन् । आ–आफ्नै स्थानीय संस्कृति र लोक परम्पराअनुरूप खेलिने डेउडामा नारी मुक्तिका लागि आवाजसमेत उठ्दछन् । सम्भवतः ग्रामीण महिलाहरूले नितान्त आफ्नाबारे बोल्ने सबैभन्दा ठुलो अवसर यही गौरा र त्यही डेउडा उत्सव हुन् ।
गौरा शुभारम्भदेखि विसर्जन सम्मका हरेक गतिविधिमा महिलाहरूकै जिम्मेवारी मात्र हुन्छ । पण्डित पुरुषबाहेक अन्य कुनै पनि औपचारिक प्रक्रियामा पुरुषहरूको आवश्यकता हुँदैन । यस अर्थमा गौरा नितान्त महिलाहरूको उमङ्गका लागि निर्माण गरिएको मान्न सकिन्छ । महिलाहरूकै कथा, सहभागिता, आवाज र महिलाहरूकै आधिपत्य हुने गौरा पर्वलाई महिला मुक्तिको लागि निर्माण गरिएको पौराणिक उत्सव मान्न सकिन्छ ।
उसो त गौरा उत्सवमा पुरुषहरूको सहभागिता र अपनत्व पनि कम हुँदैन । तर गौरा पूजनको मूल घेराभन्दा बाहिर । गौराको अवसरमा पुरुषहरू अलग्गै भेला भएर खेल, चैत, धमारी डेउडा आदिमा रमाउने गर्दछन् । पुरुषहरूले खेल्ने यी खेल, चैतहरूमा पनि इतिहासका कथाव्यथा समेटिएका हुन्छन् ।
उ बेला लिखित इतिहासको प्रचलन थिएन । यस्तै डेउडा, धमारी, ढुस्को आदिमा इतिहासको अभिलेख राखिएको हुन्थ्यो । प्रत्येक खेल, धमारी आदिले सबल इतिहास बोकेका हुन्छन् । तर, पुरुषहरूका यी खेल र नाचहरूको सुरुवात र विसर्जन पनि गौरा तथा दुर्गा भवानीको स्तुति गानबाटै हुन्छ । गौरा प्रसाद ग्रहण गरिन्छ ।
ओशोहरू भन्छन्, हर दिन उत्सव मनाऊ । तर विपन्न किसान समुदायका मान्छे दिनहुँ उत्सव मनाउन सक्ने अवस्थामा हुँदैनन् । अझ त्यसमा महिलाहरूलाई त झन् उत्सव पनि उत्सवजस्ता छैनन् । विशेषतः ग्रामीण पहाडी खस आर्य समुदायमा पुरुषहरूले उत्सव मनाएर बचेखुचेको चिजबिजमा महिलाहरूले रमाउनुपर्ने अवस्था आज पनि व्याप्त छ ।
नितान्त आफूलाई प्राथमिकतामा राखेर उत्सव मनाउने समय उनीहरू मुस्किलले वर्षमा कहिलेकाहीँ रमाउने अवसर भेटाउँछन् । सुदूरपश्चिमका महिलाहरूको लागि त्यो एक अवसर गौरा हो ।
समग्रमा ‘गौरा’ बहुविवाहको विरुद्ध, नारी उन्मुक्ति तथा लैङ्गिक समानताको पक्षमा निर्माण भएको सांस्कृतिक पर्व हो भन्ने कुरामा भने एकरूपता छ ।
लेखक शिक्षण पेसामा आबद्ध छन् ।