बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
समाचार

ड्राइभरका लागि भन्दै साउदी लगेर कुकुर, बिरालो मार्ने ड्युटी

बुधबार, ०६ भदौ २०८०, २० : ०८
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । मकवानपुर, पालुङका विकास (सांकेतिक नाम) काठमाडौँमा सार्वजनिक यातायात चलाउँथे । काठमाडौँभित्र बस चलाउँदै आएका उनको कमाई राम्रै हुन्थ्यो । उनलाई आफ्नो घरखर्च चलाउन पुगेकै थियो । केही गर्न खोजेको खण्डमा भने पैसाको जोहो गर्न गाह्रो थियो । त्यसपछि उनले विदेशतिर जाने सोच बनाए ।

साउदी अरबमा सरकारी कार्यालयको गाडी चलाउने डिमाण्ड आएको भन्दै एक जना मेनपावर व्यवसायीले भनेपछि उनी सिनामंगलमा रहेको टार्गेट कन्सल्टेन्ट ह्युमन रिसोर्सेसमा पुगे । एजेण्टमार्फत त्यहाँ पुगेका उनलाई साउदीमा नगरपालिकाको गाडी चलाउनुपर्ने, तलब मासिक १ हजार ४०० प्लस ३०० साउदी रियाल दिने भनियो ।

पासपोर्ट बुझाउने बेला भनिएको सोही प्रस्तावका आधारमा उनीसँगै सात जना साथी मेनपावरले जति भन्यो, त्यति पैसा तिर्न तयार भए । उनलाई १ लाख ८० हजार रुपैयाँ तिर्न लगाइयो ।

भिसा आएर पैसा तिरिसकेर भोलि बिहानको फ्लाइट भनेको दिन उनीहरूलाई एकाएक मेनपावरले बोलायो र भन्यो– साउदीमा नगरपालिकाको गाडी चलाउनुपर्छ, त्यसमा कुकुर मार्ने र बिरालो समाउने काम हो । त्यसका लागि तलब १००० साउदी रियाल र २०० थप खान बस्नका लागि दिन्छ ।

‘अब भोलि बिहानको टिकट छ । आज बेलुकातिर बोलाएर यस्तो काम हो, यति तलब हुन्छ भनेर भनेपछि हामी त साह्रै अप्ठ्यारोमा प¥यौं । ऋण निकालेर पैसा तिरेको थिएँ । अब जे जस्तो भए पनि जानुपर्छ भनेर गएँ,’ विकासले रातोपाटीसँग भने । उनीसँगै अन्य साथी पनि सरसापट, ऋण गरेर आएका कारण साउदी जान तयार भए ।

साउदी पुगेपछि उनीहरूले भोगेको पीडा कल्पना गर्न पनि नसकिने छ । उता पुगेपछि एउटा गाडी दिइयो । उनीहरुलाई टाढा पठाउने गरियो र त्यहाँ भेटिने कुकुर मार्ने र बिरालोहरू समातेर ल्याउनुपर्ने काम थियो ।

‘काममा पठायो । कति धेरै कुकुर । तिनीहरूलाई मार्नुपर्ने । कुकुर मारेर त्यो गाडीमा हाल्नुपर्ने हुन्थ्यो । कुकुरलाई मार्नुपर्ने र बिरालो समातेर ल्याउनुपर्ने हुन्थ्यो । बच्चा पाएका कुकुरहरू त्यति भाग्दैन थिए । ठुल्ठुला कुकुर त हामीलाई देख्दा ६ कोष टाढा भाग्थे,’ उनले भने ।

त्यस्तै बिरालोहरूलाई समात्नका लागि एउटा जाली दिइन्थ्यो । त्यसमा माछा हालेर उनीहरू खान आएको बेला समात्ने र गाडीमा हालेर कम्पनीको अस्पतालमा लैजानुपर्थ्यो ।

‘भुस्याहा कुकुरहरू समात्ने हो । पहिला मार्ने हो । एउटा पाइपजस्तै दिन्थ्यो । त्यसमा मेडिसिन लोड गर्ने र छर्किने, अनि मरेपछि गाडीमा हाल्ने । बिरालो चाहिँ जालमा हालेर छोप्ने हो । हस्पिटल हुन्छ, त्यहाँभित्र लगेर छोडिदिने हो,’ उनले भने, ‘कुकुर र बिरालो त कति हो कति ! मार्नै नसकिने ।’   

निकै गाह्रो काम भएपछि उनीहरू काम गर्न नसक्ने भए । बाध्य भएर उनीहरुले नेपाल फर्काउनुपर्ने अडान लिए । २ महिना ८ दिनमा उनीहरू सातै जना नेपाल फर्किए । त्यही कम्पनीमा काम गर्ने १५ जना नेपाली भने कुकुर मारेर बसिरहेका छन् । उनीहरू उद्धारको पर्खाइमा छन् ।

नेपाल फर्किने अडान लिएपछि कम्पनी घर फर्काउन तयार भयो । तर, ठेकेदारको कुरा सुनेर विकास र उनका साथीहरू चकित परे । ठेकेदारले ‘तिमीहरू यता आउँदा कति पैसा तिरेर आयौ’ भनेर प्रश्न गरेको थियो ।

उनीहरूले आफुले तिरेको पैसाबारे उनलाई जानकारी गराए । तर, ती ठेकेदारले ‘तिमीहरूलाई हामीले किनेको हो । तिमीहरूलाई एक जना बापत ५ हजार रियाल तिरेको हुँ’ भन्यो ।

कम्पनीले दोस्रो ठाउँमा पठाउने बताएको थियो । त्यहाँ फेरि तीन महिनासम्म तलब नदिने भन्ने थियो । त्यसो भए आफूहरूले नेपाल फर्किने अडान लिएको उनको भनाइ छ ।

नेपाल जाने अडान लिएपछि उनीहरूलाई केही दिन बन्धक बनाएर राखेको थियो । कुटपिट गर्ने, गाली गर्ने, धम्क्याउने, लछारपछार गर्ने गरेको सिन्धुलीका महेशले बताए ।

त्यसरी जानेहरू झापा, रामेछाप, सिन्धुली लगायत जिल्लाका छन् । उनीहरू सबै नेपालमा ड्राइभिङ गर्दै आएका थिए । उनीहरूले १ लाख ८० हजारदेखि २ लाख ३० हजार रुपैयाँसम्म मेनपावरलाई तिरेका थिए ।

डेढ महिना काम गर्दा कम्पनीले २०० साउदी रियाल र घर फर्किने बेला ५०० रियाल दिएको थियो । कतिपय नेपालीले नेपाल फर्किनुभन्दा भागेर अर्को ठाउँमा गएर काम गर्न सुझाव दिएका थिए । तर, त्यसरी भागेर जाँदा कम्पनीले चोरीको आरोप लगाउँदै प्रहरीमा रिपोर्ट गराउने र भोलि पक्राउ परेको खण्डमा समस्या पर्ने देखिएपछि आफूहरू भाग्न तयार नभएको महेशले बताए ।

उद्धार गरी नेपाल फर्किएका उनीहरूले तलबसमेत पाएनन् । मेनपावरकहाँ जाँदा उसले पैसा नदिने बतायो । वैदेशिक रोजगार विभागमा उजुरी गर्न जाँदा प्रमाण नपुगेको भन्दै फर्काईदियो । ‘हामीले नगद दिएका थियौं । पैसा दिएको प्रमाण चाहिन्छ भनेर उजुरी लिएन । एउटा साथीसँग प्रमाण छ । उसको पनि वैदेशिक रोजगारीको लागि पैसा दिएको भनेर उल्लेख नगरेको भन्दै उजुरी दिन नमिल्ने भनेको छ,’ विकासले भने ।

नेपाल फर्किएपछि उनीहरू मंगलबार मेनपावरको अफिस पुगेर मेनपावर व्यवसायी दिपक बस्नेतसँग कुरा गरेका थिए । तर, बस्नेतले जाँदा लागेको हवाई टिकट, अन्य खर्च गरेर ६०/७० हजार रुपैयाँ काटेर दिने बताए ।

विभागका महानिर्देशक मदन दाहालले पैसा तिरेको प्रमाण नभएकाले कारबाही गर्न गाह्रो भएको बताए । काम गरेको तलब भने उपलब्ध गराउन सकिने उनको भनाइ छ ।

‘मेनपावरलाई नगदै पैसा दिएको भनेका छन् । पैसा दिएको कुनै प्रमाण छैन । यस्तो अवस्थामा कारबाही गर्ने आधार हुने भएन । तलब नदिएको सम्बन्धमा भने त्यो उपलब्ध गराइन्छ,’ उनले भने ।

यो विषयमा बुझ्न खोज्दा मेनपावर सञ्चालकसँग भने सम्पर्क हुन सकेन । साउदीमा रहेका थप १५ जनाले समेत उद्धारका लागि अपिल गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप