आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
अदालत

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भदौ १० गते हुने, सोही दिन पाकिस्तान जाने तयारी

बुधबार, ०६ भदौ २०८०, २२ : २०
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ ।  सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आगामी भदौ १० गते हुने भएको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार आगामी आइतबारका लागि पेसी तोकिएको हो । 

यसअघि काठमाडौँ जिल्ला अदालतबाट माग भएको कागजात अदालतमा प्राप्त भइसकेको भन्दै अदालतले आगामी आइतबारका लागि पेसीमा राखेको हो । यद्यपि साप्ताहिक पेसी भने शुक्रवार मात्रै प्रकाशन हुनेछ । 

अदालतले आदेश गरे बमोजिम स्थानीय तहबाट पीडित गौशाला २६, उनका परिवारका सदस्यहरूको जन्म मिति खुल्ने कागजात र बसाइसराई गरी जाँदा पेस गरेको कागजातको प्रमाणित प्रतिलिपि स्थानीय तहबाट प्राप्त भइसकेको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार कागजात प्राप्त भए पनि सिलबन्दी रहेको उक्त कागजात भने इजलासमै खोल्ने तयारी गरिएको छ । 

सन्दीपले भने, ‘मलाई दर्ताको किताब शुभचिन्तकले दिएका हुन्’

काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार अदालतले प्रतिवादी सन्दीप लामिछानेसँग पनि पुनः सोधपुछ गरेको छ । लामिछानेले बयानका क्रममा पीडित गौशाला २६ को भनी पेस गरेको जन्म दर्ता किताबको फोटोकपी कहाँबाट प्राप्त गरेको भनी अदालतले लिखितरुपमा सोधेको थियो ।

जवाफमा लामिछानेले उक्त कागजात आफूलाई कुनै शुभेच्छुकले दिएको तर कसले दिएको याद नभएको बयान दिएका छन् । सन्दीपको तर्फबाट अदालतमा पेस भएको जन्मदर्ताको किताबमा पीडित गौशाला २६ को जन्म मिति २०६१ जेठ १८ गते उल्लेख रहेको छ । यद्यपि पीडितको बसाइसराइँ भएको स्थानको स्थानीय तहले भने आफ्नो स्थानीय तहमा त्यस्तो दर्ता किताब नै नरहेको भनी यसअघि नै जवाफ पठाइसकेको छ ।

आइतबार नै लामिछाने पाकिस्तान जाने तयारीमा

यसैबीच प्रतिवादी सन्दीप लामिछानेले सफाई पाएको अवस्था वा उक्त दिन मुद्दाको टुङ्गो नलागेमा भदौ १० गते आइतबार राति नै पाकिस्तान जाने तयारी गरेका छन् । लामिछानेका एक कानुन व्यवसायीका अनुसार फैसला भई सफाई पाएमा वा सुनुवाइ नभएमा सोही दिन सन्दीप एशिया कप खेल्न पाकिस्तान जाने तयारी गरेका हुन् । त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान) र अदालतसँग कुराकानी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप