वीर अस्पतालका निर्देशकले कर्मचारीमाथि गरेको दुर्व्यवहारप्रति आपत्ति
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफी निरीक्षक द्वारिका यादवमाथि गरेको दुर्व्यवहारका विरुद्ध कर्मचारीले विरोध जनाएका छन् ।
निर्देशक पौडेलमाथि कारबाहीको माग गर्दै मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल रेडियोलोजिकल सोसाइटी, नेपाल मधेशी निजामती कर्मचारी मञ्चलगायतले विज्ञप्ति जारी गरेका छन् । साउन ३२ गते निर्देशक पौडेलले वीर अस्पतालको सिटी स्क्यान कार्यकक्ष नजिकै आफूमाथि हातपात गरी अपशब्द प्रयोग गरेको दावी द्वारिका यादवले गरेका छन् ।
ड्युटीको समयमा बिरामीलाई अस्पतालको फार्मेसीमा उपलब्ध नरहेको अल्ट्राभिस्ट ३७० एमजी बाहिरबाट किनेर ल्याउन भनेको निहुँमा निर्देशक पौडेलले आफूलाई गाली गलौज गर्नुको साथै बिरामीकै अगाडि हातपात गरेको यादवको आरोप छ ।
निर्देशक पौडेलमाथि प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, मधेशी आयोगलगायतका ठाउँमा समेत उजुरी गरेको बताउँदै उनले हालसम्म सम्बन्धित निकायबाट बेवास्त गरिएको बताए । तर निर्देशक पौडेलले आफू द्वारिकामाथि कुनै प्रकारको दुरब्यवहार तथा हातपात नगरेको दाबी गरे ।
उनले भने, ‘फर्मेसीमा उपलब्ध औषधी बाहिर किन्न पठाउने क्रममा बिरामीले मसँग गुनासो गर्न आएको कारण मैले द्वारिकाजीलाई सोधपुछ गरेको र आइन्दा यस्तो नगर्नुस् भनेर सम्झाएको मात्र हुँ ।’
घटनाका बारेमा उनीहरुले कताकता उजुरी हालेका छन्, छानबिन हुँदै होला, छानबिनबाट के कुरा आउँछ त्यसपछि मात्र थप कुरा बताउने उनले जानकारी दिए । नेपाल मधेशी निजामती कर्मचारी मञ्चले निर्देशक पौडेलले द्वारिकामाथि गरेको व्यबहार नेपालको संविधान २०७२, स्वास्थयकर्मी सुरक्षा ऐन २०६६, मुलुकी अपराध संहिता २०७४, जातीय तथा अन्य छुवाछुत र भेदभाव ऐन २०६८ प्रतिकूल रहेको ठहर गर्दै घटनाको न्यायीक छानबिन गरी प्रचलित कानुन बमोजिम दोषी उपर कडा कारबाहीको माग गरेको छ ।
मधेशी स्वास्थ्य कर्मी फोरम नेपालले निर्देशक पौडेललाई तत्काल निलम्बन गरी उक्त घटनाको छानबिन गरी प्रचलित ऐन कानुन अनुसार अविलम्ब कारबाहीको प्रक्रिया अगाडि बढाउन स्वास्थ्य मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सरोकारवालाहरुसँग आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा आदिवासी जनजातिका हक सुनिश्चित : सभामुख
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
-
मन्त्रिपरिषद् बैठक : अध्यादेशका नियमावली पारित
-
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु
-
लुम्बिनी प्रदेश स्थापना दिवस : ८ वर्षमा ६ सरकार, ७२ मन्त्री