विपत्तिको सारथि नेपाल रेडक्रस किन हुँदैछ खोक्रो ?
रेडक्रस सोसाइटी विशुद्ध मानवीय सेवा र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था हो । प्राकृतिक एवं मानवीय कारणले हुने ठुला विपत्तिहरूको पहिलो साथी रेडक्रस सोसाइटीलाई मानिन्छ । यस्तो कल्याणकारी संस्थाको स्थापना स्विस नागरिक जाँ हेनरी ड्युनाले गरेका हुन् । ड्युना एक व्यापारी थिए । सन् १८५९ मा व्यापारिक प्रयोजनको सिलसिलामा नेपोलियन तृतीयलाई भेट्न उनी फ्रान्स जाँदा सल्फेरिनो भन्ने ठाउँमा अस्ट्रिया, इरान र फ्रान्सबिचमा युद्ध हुँदै थियो । त्यो युद्धको नेतृत्व नेपोलियनले गरेका थिए ।
युद्धको दृश्य, विपत्ति, शक्तिशाली सेनाहरूको अपहेलित व्यवहारका कारणले बढेको पीडा तथा सङ्कट देखेर मानवीय सेवामा समर्पित हुने योजना उनले बनाए । सोही बखत ड्युनाले स्थानीय महिलाको सहयोगमा युद्धरत दुवै पक्षका सेना तथा घाइतेलाई उद्धार र तत्काल उपचारमा केन्द्रित गरेका थिए । त्यसपछि मानवीय उद्धार राहत तथा सङ्कटमोचन गर्ने कल्याणकारी संस्थाको कल्पना गरी उनले व्यापार व्यवसाय र आफ्नो व्यक्तिगत जीवनबाट माथि उठेर संसारलाई सामाजिक सेवामार्फत सहयोग गर्ने उद्देश्यले ‘सोल्फेरिनोको एक सम्झना’ भन्ने पुस्तक १८६२ मा लेखेका थिए ।
यस पुस्तकमा घाइते सैनिकको हेरचाह तथा उपचार, विपत्तिहरूमा मानवीय सहायता र प्राथमिक उपचार तथा सामाजिक सेवाका विभिन्न अवधारणाहरूको व्याख्या गरिएको थियो । यसले हरेक देशमा सङ्कटको बखत सहयोग गर्ने स्वयंसेवकको आवश्यकता तथा त्यसलाई राष्ट्रिय मान्यता दिनुपर्ने विचारलाई जोडरूपले उठाएको थियो जुन विचारकै जगमा पहिलोपटक सन् १८६३ मा ड्युनाको नेतृत्वमा एउटा बैठक बस्यो, यसमा पाँचजना सदस्य मात्र रहेका थिए । यस बैठकको निर्णय अनुसारका १८६३ फेब्रुअरी १७ मा स्वतन्त्र रूपमा मानवीय हित, कल्याण प्रवद्र्धन तथा आपत्कालीन अवस्थाहरूमा सहयोग गर्नका लागि छुट्टै संस्थाको परिकल्पना गरी अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको स्थापना भयो । जुन परिकल्पनालाई एउटा पुस्तकले साकार रूप दिएको थियो ।
हेनरी ड्युनाको प्रयासमा १८६४ मा पहिलो जेनेभा महासन्धि भएको थियो । यसमा १२ देशहरूले सहमतिका लागि हस्ताक्षर गरेका थिए । त्यसको प्राथमिक उद्देश्य १२ देशमा संस्था खोलेर भएका वा हुन सक्ने युद्ध, द्वन्द्व, लडाइँहरूमा स्वयंसेवकका रूपमा भूमिका निर्वाह गर्ने सिपाहीको हेरविचार र उपचार गर्ने थियो । कुनै युद्ध लडाइँ नभएमा जनताको हेरचाह गर्ने, शिक्षा दिने, सहयोग गर्ने वा सामाजिक कार्य गर्ने यसको उद्देश्य थियो । स्थापनाकालमा यो संस्थाले विशुद्ध युद्ध वा विपत्मा स्वयंसेवक र प्रतिकार्यको उद्देश्य बोकेको थियो । अहिले यो संस्थाले विश्वका १९० भन्दा बढी देशमा शाखा विस्तार गरिसकेको छ । करिब दुई करोड यसका सक्रिय सदस्यहरू मानवीय सेवा तथा सहयोगार्थ परिचालित छन् । यसको प्रधान कार्यलय स्विजरल्यान्डको जेनेभामा रहेको छ ।
ब्लड बैङ्कको स्थापना
‘विश्व ब्लड बैङ्क’ पनि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीद्वारा नै स्थापित संस्था हो । सन् १९३७ मा अमेरिकामा पहिलो पटक रेडक्रस सोसाइटीले ब्लड बैङ्कको स्थापना गरेको थियो । युद्ध वा द्वन्द्व मानवीय कानुनसँग जोडिने भएकाले अन्तर्राष्ट्रिय मानवीय कानुनको निर्माण, कार्यान्वयन तथा अनुगमनमा समेत रेडक्रसको महत्त्वपूर्ण भूमिका छ । त्यसो त यस मातहत आईसीपीआर र फेडेरेसन नामक दुईवटा संस्था रहेका छन् । सामान्यतया आईसीपीआर द्वन्द्व, युद्ध तथा मानवीय कार्यसँग बढी नजिक छ भने सोबाहेकका काममा फेडेरेसन क्रियाशील छ ।
नेपाल सन्दर्भ तथा मान्यता
अन्तर्राष्ट्रिय रेडक्रस स्थापना भएको करिब एक सय वर्षपछि नेपालमा २०२० भाद्र १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो । तत्कालीन समयमा नेपालले स्थापनाका लागि गरेको प्रयास तथा जेनेभा महासन्धिमा हस्ताक्षर गरेको थियो । अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम डा. जयनारायण गिरी र तत्कालीन स्वास्थ्य मन्त्री डा. नागेश्वरप्रसाद सिंह नेतृत्वको तदर्थ समितिले स्थापना गरेको थियो ।
स्थापनाकालदेखि सेवाभाव, विपत्तिमा मानवीय सहायत गर्ने मूल मन्त्र बनाएको यस संस्थाले अहिले धेरै उचाइ लिइसकेको छ । यो मानिसभित्र भएका असल भावना र अभिव्यक्तिको रूपमा जन्मिएका एक सङ्गठन हो । नेपाल रेडक्रस सोसाइटी दुःखमा परेको मानिसको एक असल साथी बनेर उभिएको छ । ऊसँग न कुनै स्वार्थ छ न त कुनै आफ्नोपन खोज्छ, छ त केवल सेवाभाव र केवल सहायता मात्र, हरपल हरेक मानिसको दुःखमा साथ दिनको लागि अगाडि सर्छ । औषधि उपचार प्राथमिक उपचारको निमित्त सेवा दिने संस्थाका रूपमा चिनिन्छ । तसर्थ प्राकृतिक वा मानव सिर्जित विपत्तिमा अग्रसरताका कारण यसलाई विपत्तिको सारथि नेपाल रेडक्रस सोसाइटी भनिएको हो । घमसान युद्धको रणमैदानमा पनि सयपत्री र मखमलीका परोपकारी फूलहरू फुलाउने, मृत्यु अलापी रहेका घाउहरूमा मलम लगाउने एक साथी हो रेडक्रस सोसाइटी नेपाल ।
नेपालमा रेडक्रस स्थापना
नेपाल रेडक्रस सोसाइटीलाई नेपाल रेडक्रस सोसाइटीको विधान, २०२० (अठारौँ संशोधन, २०७७ सहित) को परिच्छेद १ को दफा ७ मा यसलाई दिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यतासम्बन्धी व्यवस्था छ । सोहीबमोजिम विसं २०२० भाद्र १९ गते स्थापना भई २०२१ साउन २५ गते आइतबार तत्कालीन श्री मजिस्ट्रेड अफिस काठमाडौँमा दर्ता भयो । २०२१ साउन १६ गते सरकारबाट जेनेभा अभिसन्धि अनुरूप मानवीय सेवाको क्षेत्रमा सरकारको सहयोगी निकायको रूपमा स्थापना भयो । यसले अन्तर्राष्ट्रिय रेडक्रस अभियानका आधारभूत सिद्धान्तअनुरूप कार्य गर्ने स्वयत्त, स्वयंसेवी सहायता संस्थाको हैसियतमा मान्यता दिइएको छ । त्यस्तै विसं. २०२० माघ २४ गते नेपाल सरकार जेनेभा अभिसन्धिहरूको पक्ष राष्ट्र भएको र २०२१ असोज १६ गते रेडक्रसको अन्तर्राष्ट्रिय समितिबाट मान्यता प्राप्त गरेको हो । २०२१ असोज १७ गते तत्कालीन लिग अफ रेडक्रस र रेडक्रिसेन्ट सोसाइटिज (हालको इन्टरनेसनल फिडेरेसन अफ रेडक्रस एन्ड रेडक्रिसेन्ट सोसाइटिज) सदस्यता प्राप्त संस्था भनी मान्यता प्राप्त भएको छ ।
यसले रेडक्रस अभियानका सात सिद्धान्तहरू– मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकतामा आधारित रही स्थापना भएको हो । अहिले सङ्घीय संरचना अनुकूल संस्थाको सङ्गठनात्मक ढाँचाको सुदृढीकरण तथा विस्तारद्वारा अन्य गैरसरकारी संस्था र सरकारको सहयोगमा सङ्कटासन्न मानवीय जीवनमा सुधार, मानवीय पीडामा राहत प्रदान गर्ने, आत्मनिर्भर र स्वाधीन संस्था बन्नु यसको प्रमुख लक्ष्य हो । यसले सम्बन्धित राष्ट्रको कानुनको अधीनमा रही जेनेभा सन्धिको व्यवस्थाबमोजिम आफ्ना काम गर्छ ।
रेडक्रस व्यवस्थापन तथा सञ्चालन
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको अङ्गको रूपमा नेपालमा स्थापना भएको रेडक्रसलाई नियमित, व्यवस्थित तथा सञ्चालित गर्ने काम नेपाल रेडक्रस सोसाइटीको विधान २०२० बमोजिम भइरहेको छ । त्यसमा राष्ट्रिय, प्रदेश, स्थानीय समितिका विभिन्न सर्कल, तिनको निर्वाचन तथा महाधिवेशन, निर्वाचन आयोग, यसका प्रमुखकार्यहरू, उद्देश्य लक्ष्य, सदस्यता प्राप्ति तथा वितरण, कोषहरूको व्यवस्था गरिएको छ । मानवीय सेवामा तल्लीन रेडक्रस हाल केन्द्र, सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार ६०० उपशाखा तथा ६ हजारभन्दा बढी जुनियरर युवा सर्कलमार्फत स्वयंसेवक परिचालन गरिराखेको छ भने उपशाखाको मातहतमा रहने गरी विद्यालय स्तरमा जुनियर युवा सर्कल तथा माध्यमिक तहमा समेत युवा सर्कल र सहयोगी समितिसमेत छन् ।
विपत् व्यवस्थापनमा रेडक्रसको भूमिका
नेपाल रेडक्रस सोसाइटीको उद्देश्य धर्म, वर्ण, लिङ्ग, वर्ग, जाति, भाषा, भूगोल, राष्ट्रियता वा राजनीतिक आस्थाको आधारमा भेदभाव नगरी मानवीय विपत्ति र पीडालाई रोकथाम, न्यूनीकरण, निवारण गर्ने एवं मानव जीवन र मर्यादाको संरक्षण गर्ने हो । यही मूल मन्त्रमा प्रतिबद्ध रही रेडक्रस र यस मातहतका शाखाहरूले विभिन्न कल्याणकारी कामहरू गर्दै आएका छन् ।
रेडक्रस भन्नेबित्तिकै मानवीय सोचमा आपत् विपत्, कुनै घटना जोखिम वा समस्यामा उद्धार गर्ने, राहत उपलब्ध गराउने, प्राथमिक उपचार तथा सहायता उपलब्ध गराउने संस्था भन्ने बुझिन्छ । विपत् भन्नाले बाढीपहिरो, भूकम्प, आगोलागी, हावाहुरी, सडक दुर्घटना, चट्याङ तथा प्राकृतिक वा मानवसिर्जित सङ्कटग्रस्त अवस्थालाई जनाउँछ । यस्ता विपत्का लागि पूर्वतयारी र उद्धार र राहतका रेडक्रसकर्मीहरू आफ्नो वास्ता नगरेर जनताको सेवामा लागिपरेका हुन्छन् ।
मानव जीवन सधैँ एकनास हुँदैन । कहिले के हुन्छ कसैलाई थाहा हुँदैन । कैले के आपत् विपत्् पर्छ भन्ने कुरा कसैले थाहा हुँदैन । त्यसैले आपत् विपत् र जोखिमको सामना गर्न, नियन्त्रण गर्न पूर्वतयारी र विपत्को समयमा प्रभावित व्यक्तिहरूलाई राहात वितरण, आपतकालीन प्राथमिक उपचार, एम्बुलेन्स र सञ्चार सेवा प्रदान आँखा उपचार तथा पारिवारिक पुनः स्थापना सेवा प्रदान गर्दै आएको छ ।
पछिल्लो समय ब्लड बैङ्कको स्थापनामार्फत रगत सङ्कलन तथा मानवीय जीवन बचाउन समेत रेडक्रस अग्रसर छ । यसको कामको तुलना गर्न सकिँदैन ।
स्थापनाकालमा युद्धमा घाइते भएकाहरूको उद्धार गर्ने लक्ष्य लिएर स्थापना भए पनि अहिले यसको काम त्यतिमा मात्र सीमित छैन । केही वर्षअगाडिदेखि नेपाल रेडक्रसले पनि सेवा र विकासमूलक गरी दुवै प्रकारका सेवा गर्दै आइरहेको छ । एम्बुलेन्स, रक्तसञ्चार, विपत् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, मोतियाबिन्दुको अप्रेसनलगायतका आकस्मिक सेवा प्रदान गर्दै आएको छ । समुदायमा आधारित आँखा अस्पताल, खानेपानी, आधारभूत स्वास्थ्य हेरचाह, शरणार्थी व्यवस्थापन, महिला सशक्तीकरण, समुदायको क्षमता अभिवृद्धि, एचआईभी र एड्स रोकथाम, मानवीय मूल्यको प्रदर्शन, सरसफाइ, दुव्र्यसनलगायत विभिन्न गतिविधिमार्फत् सरकारको विकास निर्माणमा सामुदायिक विकास कार्यक्रम सुरु गरेको छ ।
विसं. १९९०, २०४५ र २०६३ तथा २०७२ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमिमा रेडक्रसले ठूलो भूमिका खेलेको छ । भूकम्पमा पुनर्निर्माण, राहत तथा आर्थिक रूपमा ठूलो सहयोग गरेको रेडक्रसले सो बखत सिन्धुपाल्चोक, गोरखालगायतका अति प्रभावित क्षेत्रमा सहयोग गरेको थियो । गोर्खा भूकम्पपछि रेडक्रसले सरकारसँग तत्काल सहकार्य गरी खोज, उद्धार, राहत र पुनर्लाभका क्षेत्रमा महत्त्वपूर्ण सेवा पुर्याएको थियो । पुनर्निर्माणका क्रममा प्रभावित जिल्लामा उसले नेपालको मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) सँगको सहकार्यमा ‘भूकम्प प्रतिकार्य कार्यक्रम’ सञ्चालन गरेको थियो ।
हिमालमा हिमपहिरो होस् या तराईमा शीतलहर या पहाडको बाढीपहिरो, यस्ता प्राकृतिक विपत्ति हुन् या सशस्त्र द्वन्द्वलगायत विभिन्न द्वन्द्वमा पीडितको पहिचान तथा उद्धारका निम्ति खटिँदै आएको छ । कोरोना महामारीमा अक्सिजन उपलब्ध गराउने तथा क्षमता विकासका तालिमहरू सञ्चालन गर्ने नै किन नहुन् यी सबैमा रेडक्रसको अभियान मात्र होइन सहयोग र उद्धारसमेत जोडिएको छ ।
वर्षायामको समयमा आउने बाढीपहिरोमा धेरै मानिसको घर डुबानमा पर्ने भएकाले सतर्कता अपनाउन र यसबाट पीडित व्यक्तिलाई उद्धार गर्ने काममा रेडक्रस सोसाइटीले ठूलो भूमिका खेलेको छ । यसले विपत् व्यवस्थापनमा सहयोगी भूमिका खेलेको छ । अशक्त या बालबालिकामाथि हुने दुव्र्यवहारबाट कसरी बच्ने ? विछोड भएका आफन्तहरूसँग कसरी जानकारी लिने ? डेङ्गु कोरोना जस्ता महामारीबाट कसरी बच्ने ? बाढी पहिरोको पूर्वतयारी कसरी गर्ने ? रेडक्रस चिह्नको सदुपयोगको बारेमा, सुरक्षासम्बन्धी जानकारीलगायत विभिन्न कुरामा रेडक्रसले जनचेतना फैलाएको हुन्छ । सबै समुदाय तथा जातको भावनालाई आत्मसम्मान गर्दै विभिन्न नाम र पद्धतिबाट एउटै उद्देश्यका साथ मानवीय सेवा नाम बोकेको यस संस्था विपत्को सारथि बनेको छ ।
विपत् जोखिम न्यूनीकरण तथा प्रतिकार्य खानेपानी सरसफाइ अभियान, सडक सुरक्षा, आपत्कालीन स्वास्थ्य, विपत् जोखिम न्यूनीकरणका लागि ग्रामीण र सहरी क्षेत्रमा बलिया भवन निर्माणमा सहयोग गर्ने काम गर्दै आएको छ । विभिन्न सङ्घसंस्थाको भवन निर्माणमा सहयोग गर्ने, विपत् व्यवस्थापनसम्बन्धी आवश्यक कानुन समयसापेक्ष बनाउन सहयोग गर्ने जस्ता काम पनि रेडक्रस सोसाइटी र यस मातहतका शाखाहरूले गर्दै आइरहेका छन् ।
‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने मान्यताबमोजिम स्थापित संस्था आज कुनै पनि विपत्ति, महामारी तथा युद्धमा नजोडिएको इतिहास छैन ।
नेपाल अविकसित राष्ट्र भएकाले यहाँ दुर्गम ठाउँका मानिस बिरामी परेको समयमा उपचार त के राम्रोसँग सिटामोलसमेत पाउँदैनन् । झाडापखाला, डेङ्गुजस्ता महामारीमा पनि पूर्वतयारी तथा स्वास्थ उपचारका लागि उल्लेखनीय काम गर्दै आएको छ । अस्पतालको बेडमा घाइते बिरामी रगतको कमीले छटपटिइरहँदा रेडक्रस सोसाइटीले रगत प्रदान गरी मृत्युबाट बचाउँछ । रक्तदान अनि सहज रक्त उपलब्धताका लागि रेडक्रस अद्वितीय संस्था हो । यसका अलवा अपाङ्गताको क्षेत्रमा, अनि हराएका र बेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पुनः निर्माणमा हातेमालो सहकार्यमा समेत रेडक्रसले एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ ।
रेडक्रस मानवताको पुजारी हो । जसरी घाउलाई मलमपट्टी आवश्यकता पर्दछ त्यसरी नै मानिसको जीवनमा रेडक्रस सोसाइटीको आवश्यकता पर्छ । अहिले यो मानव जीवनको अङ्ग झैँ बनेको छ । समाजमा बस्ने सबैलाई सामाजिक प्राणी त भनिन्छ तर सबैमा मानवीय गुण हुँदैन । मानव भएर पनि अमानवीय क्रियाकलाप गर्दै हिँड्ने गर्छन् । यस्ता अमानवीय क्रियाकलापको नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्ने सङ्गठन रेडक्रस सोसाइटी हो ।
लामो इतिहास बोकेको नेपाल रेडक्रस सोसाइटी देशको सबैभन्दा ठुलो मानवीय संस्था हो । सामाजिक परोपकारी काम गर्ने मानवीय सेवाको नायक यो संस्थाले आफूलाई संसारभरि अब्बल रूपमा प्रस्तुत गर्छ । यसमा संलग्न भएका स्वयंसेवकहरू उच्चस्तरको परोपकारी भावनाले उत्प्रेरित भएका हुन्छन् । निःस्वार्थ भावले समाज सेवा गर्दागर्दै कतिले त आफ्नो सर्वस्व सकिएको समेत थाहा पाउँदैनन्, बरु रमाउँछन् र गर्व गर्छन् ।
चुनौती तथा समाधान
विश्वव्यापी रूपमा सानदार परिचय बोकेको रेडक्रस सोसाइटी नेपालमा भने विगत केही दशकदेखि हेर्दा राम्रो तर भित्र खोक्रो भइरहेको छ । कानुनबमोजिम स्थापित संस्था आफैँमा खराब हुँदैन । तर खराब नेतृत्व तथा राजनीति दलको प्रभावले अन्तर्राष्ट्रिय समुदाय समक्ष लज्जित हुनुपर्ने अवस्थाको सिर्जना भएको छ । सामाजिक सञ्जालतिर रेडक्रसको बारेमा खोजी गर्दा राम्राभन्दा भ्रष्टाचार, अनियमितता राजनीतिक स्वार्थका कार्य गरेको जस्ता तथ्यहरू भेटिन्छन् । यस्तो कार्य केन्द्रमा झैँ स्थानीय तहसम्म फैलिनु मानवीय संस्था धर्मराएको देखिन्छ । यसको उपचार खोज्नु आवश्यक छ । लामो समयसम्म नेतृत्व छनोट नहुनु, भए पनि भङ्ग हुनु, लेखापरीक्षण नहुनु, राजनीतिक रूपमा समानान्तर समितिहरू बनाउनु तथा भागबन्डामा लिप्त भएकाले अन्तर्राष्ट्रिय समुदायले समेत सहयोगका क्षेत्र घटाएका छन् । यसलाई कम आँक्न मिल्दैन ।
नेपालको रेडक्रस सोसाइटीको सङ्गठनमा राजनीतिक दलहरूले ठूलो प्रभाव पारिरहेका छन् । संस्था सङ्गठन अहिले राजनीति गर्ने थलो बनिसकेका छन् । संस्थामा अब मानवीयताको भावनाले काम गर्नेहरू पाइँदै पाइँदैनन् । तर मानवीय सङ्कटमा सबैभन्दा पहिले सम्झिने रेडक्रस हो ।
यो संस्थाभित्र मितव्ययिता, आन्तरिक सुशासन, पारदर्शिता र जवाफदेहिताकायम गर्ने, गराउने विषयमा ध्यान दिन आवश्यक छ । गुमेको विश्वास कायम गराउन तदर्थ समिति, निर्वाचित प्रतिनिधिहरूले सबै क्षेत्रसँग समन्वय गर्नुपर्छ । राजनीतिक भागबन्डाबाट मुक्त भई केवल मानवीय जीवन संरक्षण तथा विपत व्यवस्थापन जस्ता कामहरूमा केन्द्रीकृत हुन सकेमा गुमेको राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वास पुनः जगाउनु आवश्यक छ । यसले स्वतन्त्र सम्मानित, आत्मनिर्भर संस्था बन्न सक्नु पर्छ । त्यसका लागि सरकारले समेत छुट्टै कानुनको दायराभित्र रेडक्रसलाई समाहित गर्न आवश्यक छ ।
रेडक्रस सङ्गठनभित्र पनि राजनीतीकरण र पदाधिकारी चयनमा आफ्नो मान्छेको छायामा पार्ने जस्ता अनैतिक गतिविधि नियन्त्रण गर्नुपर्दछ । सबैलाई समान, विभेदरहित, समाताको आधारमा सङ्गठनका पदाधिकारी चयन गर्ने गर्नुपर्छ । जुनसुकै संस्थालाई भ्रष्टाचारीको पञ्जाबाट छुटकारा दिलाउन असल जवाफदेही र पारदर्शी सरकारसहितको नेतृत्वको आवश्यक छ । रेडक्रसका निर्वाचित पदाधिकारी तथा विभिन्न शाखाहरूको समन्वयमा ६१औँ रेडक्रस दिवसको अवसरमा विगतमा भएका कामहरूको समीक्षा गरी भ्रष्टाचार तथा भागबण्डाको राजनीतिबाट मुक्त हुने प्रतिबद्धता गरेमा अवश्य पनि रेडक्रस सोसाइटी सर्वाेकृष्ट बन्ने छ ।
ख्वप कलेज अफ ल भक्तपुर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा