बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
अर्थ

सेयर धितो कर्जामा केन्द्रीय बैंकको निरुत्साहन नीति : तीन वर्षमा जम्मा २ खर्ब ६३ अर्ब लगानी

बुधबार, ०६ भदौ २०८०, ०९ : ५९
बुधबार, ०६ भदौ २०८०

काठमाडौं । मार्जिन लेन्डिङ अर्थात् सेयर धितो कर्जामा केन्द्रीय बैंकको निरुत्साहन नीतिले पछिल्लो तीन वर्षमा सेयर धितो राखेर कर्जा लिनेहरूको संख्यात्मक तीब्र गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको तीन वर्षमा मार्जिन प्रकृतिको कर्जामा २८ प्रतिशतको गिरावट आएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा सेयर धितोमा १ खर्ब ६० अर्ब ६६ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेका बैंकहरूले आर्थिक वर्ष २०७९/८० मा जम्मा ७६ अर्ब ३० करोड ८० लाख रुपैयाँ बराबरको मात्र लगानी गरेका छन् । 

मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले सेयर धितो कर्जामा गरेको कडाइका कारण बैंकहरूको लगानी घटेको हो । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको कर्जाको जोखिम भार १५० प्रतिशत तोकिदिएको थियो । यस्तो मार्जिन प्रकृतिको कर्जा लगानीमा बैंकहरूले न्यूनतम ४ करोड रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लगानी गर्न पाउने सीमा तोकिदिएको थियो । 

अनुत्पादक क्षेत्रमा बैंकहरूको लगानी गएको निष्कर्षसहित यस्तो व्यवस्था गरिएकोमा लगानीकर्ताहरूको तीव्र विरोधका बाबजुद केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् मार्जिन लेन्डिङको ४/१२ को तल्लो सीमा खारेज गर्दै माथिल्लो सीमा १२ करोड कायम राखेको थियो । 

तर, सेयर बजारको निरन्तरको गिरावटको एउटा प्रमुख कारण यही १२ करोडको सीमा रहेको बताउँदै लगानीकर्ताहरूले सीमारहित खुल्ला नीति अवलम्वन गर्न केन्द्रीय बैंकमाथि निरन्तर दबाब दिइरहे । र, पनि केन्द्रीय बैंकले उक्त १२ करोडको सीमा हालसम्म कायम राखेको छ । जसको प्रभाव बैंकहरूको लगानीमा देखिएको छ । 

मार्जिन लेन्डिङमा २८ प्रतिशत सम्मको गिरावट
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूको कर्जा लगानीमा गरिएको नियन्त्रणपछि गएको तीन वर्षमा मार्जिन प्रकृतिको कर्जामा २८ प्रतिशतसम्मको गिरावट आएको छ । 
आर्थिक वर्ष २०७७/७८ मा बैंकहरूले सेयर धितो कर्जामा कूल १ खर्ब ६ अर्ब २८ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेकामा २०७९/८० मा उक्त कर्जा लगानी झरेर ७६ अर्ब ३० करोड ८० लाख रुपैयाँमा झरेको छ । 
आर्थिक वर्ष २०७८/७९ यस्तो सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले ८० अर्ब ५० करोड ७० लाख रुपैयाँ लगानी गरेका थिए । 
गएको तीन वर्षमा जम्मा २ खर्ब ६३ अर्ब १० करोड रुपैयाँ सेयर धितोमा कर्जा लगानी गरेका बैंकहरूले क्रमशः २४.३ प्रतिशत र ५.२ प्रतिशतले लगानी घटाएका हुन् । 

कुन वर्गमा कति लगानी ?
आर्थिक वर्ष २०७९/८० मा बैंकहरूले चार वटा वर्गमा कूल ७६ अर्ब ३० करोड ८० लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा लगानी गरेका छन् । 
जसमध्ये २५ लाख रुपैयाँसम्म ७ अर्ब ३ करोड ५० लाख रुपैयाँ, २५ लाखदेखि ५० लाखसम्म १२ अर्ब ७८ करोड १० लाख रुपैयाँ, ५० लाखदेखि १ करोडसम्म ११ अर्ब ७७ करोड ४० लाख रुपैयाँ र १ करोडमाथि ४४ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कर्जा लगानी भएको छ । 

366751676_694664719373531_4341355718128108763_n

मार्जिन प्रकृतिको कर्जामा १५० प्रतिशतको जोखिम भार घटाउनेदेखि ४/१२ को सीमा खारेजीको माग राख्दै लगानीकर्ताहरूले निरन्तर दवाव दिएसँगै केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत् केही लगानी सहज बनाइदिएको छ । 

यसअघि २५ लाख माथिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत रहेकोमा मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले कर्जाको सीमा बढाउँदै ५० लाख रुपैयाँ सम्मको जोखिम भार १०० प्रतिशतमा झारिदिएको छ । सो भन्दा माथिको कर्जामा भने पूर्ववत् व्यवस्था १५० प्रतिशतकै जोखिम भार कायम गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप