ग्रामीण पर्यटन विकासमा हाम्रा कठिनाइ
नेपालका हरेक ग्रामीण बस्ती कला, भाषा, संस्कृति र वेशभूषामा अनेकता भएकाले ग्रामीण क्षेत्र पर्यटन उद्योगको विकासको सम्भावना अत्यधिक छ । पर्यटनका माध्यबाटै आर्थिक क्रान्ति गर्न सकिनेमा कुनै शङ्का छैन । यसै माध्यबाट आर्थिक समृद्धि सरल तथा सहज रूपमा हासिल हुन सक्छ । त्यसका लागि आवश्यक पर्ने वित्त व्यवस्थापन पनि ग्रामीण क्षेत्रबाटै गर्न सकिने आधार प्रशस्त छन् ।
विश्वमा पर्यटनको इतिहासमा अठारौँ शताब्दीलाई पर्यटनको सुनौलो युग मानिन्छ । विशेष गरी सन् १९४३ देखि १९७३ सम्मको ३० वर्षको अवधिमा यात्राका क्षेत्रमा उल्लेखनीय प्रगति भएको देखिन्छ ।
नेपालमा भने प्राचीनकालमा व्यापारिक उद्देश्यले पर्यटनको विकास हुन थालेको कौटिल्यको अर्थशास्त्रमा उल्लेख छ । चिनियाँ नागरिकहरूले भारतमा आफ्ना उत्पादन बिक्री गर्न नेपालको बाटो भएर भारत जाने कुरा कौटिल्यले गरेका छन् । नेपालको पर्यटन क्षेत्र त्यो समयदेखि चलेको भए पनि पर्याप्त विकास नभएको र ग्रामीण पर्यटनले कुनै नीतिगत तथा कार्यगत प्रक्रियामा प्राथमिकता नपाएको सहजै अनुमान लगाउन सकिन्छ ।
तर आज समय फेरिएको छ । जसले गर्दा ग्रामीण पर्यटनले प्राथमिकता पाउँदै गएको छ । देशका थुप्रै ठाउँमा नमुना ग्रामीण बस्ती निर्माण तथा सञ्चालन भएका छन् । यो सकारात्मक कार्य हो । ग्रामीण क्षेत्रको गरिबी निवारण गर्न र नेपाली अर्थतन्त्रमा ग्रामीण पर्यटनलाई बढवा दिने योजना बनाइएको थियो । तर विडम्बना तत्कालीन समयमा नै देशमा राजनीतिक अस्थिरताले सोचे अनुसारको उपलब्धि भएन ।
ग्रामीण बस्तीले भरिएको देश भएकाले यहाँको आर्थिक विकासको सशक्त माध्यम ग्रामीण पर्यटन हो । यहाँ गगनचुम्बी चुचुराहरू, सांस्कृतिक र धार्मिक संयोजनको कारण विश्वका विभिन्न मुलुकहरूबाट बढ्दो मात्रामा पर्यटकहरू आकर्षित तवरले आउने गर्छन् । विश्वको सर्वाेच्च शिखर सगरमाथादेखि सन् २०१६ का लागि उत्कृष्ट प्रमुख गन्तव्य पनि ग्रामीण क्षेत्रमै पर्छ ।
नेपाल आउने पर्यटक विशेषतः हिमशिखरको आरोहण गर्न, मानसिक शान्ति प्राप्त गर्न, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल अवलोकन गर्न, एकसिङे गैँडाका बारेमा अध्ययन गर्न तथा विभिन्न कला संस्कृति, धार्मिक सांस्कृतिक स्थलका बारेमा बुझ्न, जैविक विविधताको बारेमा अध्ययन गर्न, जातजातिका बारेमा अध्ययन अनुसन्धानका लागि मुख्य रूपमा आउने गर्छन् ।
ग्रामीण पर्यटनमा अन्तर्राष्ट्रिय पर्यटक या आन्तरिक पर्यटक पर्दछन् । तर यिनले ग्रामीण क्षेत्रको भ्रमण गरी कम्तीमा एक रात बिताएकै हुनु पर्दछ । ग्रामीण समुदायको रहनसहन एवं त्यहाँको भौगोलिक वातावरणको परिचय दिने खालका योजना बनाएर यसतर्फ पर्यटकलाई आकृष्ट गर्न सकिन्छ । सबै गाउँ क्षेत्रले सबै आकर्षण दिन नसके पनि विविध ग्रामीण वातावरणले विविध कार्यक्रम दिई पर्यटकको गन्तव्य स्थल बन्न सक्छ ।
नेपालका ग्रामीण क्षेत्रले तिनको भौगोलिक अवस्थिति एवं ऐतिहासिक पृष्ठभूमि अनुसारका सांस्कृतिक र प्राकृतिक दुवैखाले आकर्षण दिन सक्छन् । त्यहाँ पर्यटकहरूले पिकनिक, क्याम्पिङ, माछा पार्ने, पौडी खेल्ने, चरा हेर्ने, प्याराग्लाडिङ, छोटाछोटा दूरीका पदयात्रा, प्राकृतिक दृश्यावलोकन, ऐतिहासिक स्थलको भ्रमण, चाडपर्व र मेलापर्व जस्ता विभिन्न क्रियाकलापमा आफूलाई सहभागी गराउन पाउँछन् ।
वास्तवमा ग्रामीण क्षेत्रमा जाने पर्यटक लामो समय बस्दैनन् । छोटै अवधिको भए पनि यसले ग्रामीण अर्थतन्त्रमा टेवा पुर्याउँछ । ढुवानीको समस्याले अलपत्र परी अनावश्यक रूपमा खपत हुने खाद्यान्न, सागसब्जी, फलफूल वा दुग्ध पदार्थको खपतमा वृद्धि हुन गई ग्रामीण समुदायले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त गर्ने यो एक सरल उपाय हो । यसका अतिरिक्त अल्प रोजगारी भएको ग्रामीण क्षेत्रमा नयाँ अवसर पनि खुल्छ ।
नेपाल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । विश्वका अन्य पर्यटकीय क्षेत्रका तुलनामा नेपालको पर्यटकीय क्षेत्र प्राकृतिक रूपमै सुन्दर छन् । तर तिनको उचित प्रचारप्रसार नहुँदा राज्यलाई बर्सेनि करोडौँ रुपैयाँको राजस्व घाटा भइराखेको छ भने वैदेशिक ऋणको भार थपिँदै गएको छ
ग्रामीण क्षेत्रका जनसङ्ख्याको मुख्य रोजगारी कृषिलाई पनि प्रवर्द्धन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहायता पुर्याउँछ । पर्यटन र यससँग सम्बन्धित क्रियाकलापले अर्थतन्त्रको विकासका लागि आवश्यक पर्ने अन्य पूर्वाधारको समेत विकास गर्न मद्दत गर्छ ।
ग्रामीण विकासका योजनाकारले पनि सहरका पाँचतारे होटलमा बसेर योजना बनाउँदा ग्रामीण क्षेत्रको विकास नहुने कुरा विकासवादी अर्थशास्त्रीले सन् १९९० देखि नै औँल्याउँदै आएका छन् ।
यसैबीच नेपालको ग्रामीण पर्यटन क्षेत्रसँग सरोकार राख्ने सम्र्पूण पूर्वाधारको विकास गर्नका पर्यटन मन्त्रालयबाट केही कदम चालिए पनि पर्याप्त नभएको कुरा सामाजिक अगुवाबाट नै बताउँदै आइएको छ । नेपालले आर्थिक अवस्थामा सुधार ल्याउन कम लगानी र सुनिश्चित तवरले उपलब्धिलाई संस्थागत गर्नसक्ने क्षेत्र भनेको नै ग्रामीण पर्यटन नै हो । यसको चौतर्फी विकास गर्न आवश्यक पर्ने जनशक्ति नेपाल आफैँले पूर्ति गर्न सक्छ ।
ग्रामीण विकास भनेको ग्रामीण क्षेत्रमा आर्थिक, सामाजिक बनावट मान्यताहरू अन्तरसम्बन्ध र प्रक्रियाको दूरगामी परिवर्तन हो । ग्रामीण पर्यटनको विकासले निम्न पक्षमा सकारात्मक परिवर्तन ल्याउँछ ।
क. ग्रामीण क्षेत्रमा रोजगारीका अवसरमा वृद्धि,
ख. स्थानीय कला, संस्कृतिको संरक्षण, संवर्धन हुने,
ग. सामाजिक, आर्थिक पूर्वाधारको विकास र विस्तार हुने,
घ. वैदेशिक मुद्राको आर्जन हुने,
ङ. नयाँ नयाँ प्रविधिको आदान प्रदान हुने,
च. मानिसहरूमा बढ्दै गएको व्यक्तिगत स्वार्थीपनामा कमी आउने,
छ. बढ्दो प्रतिभा पलायन तथा पुँजी पलायन केही हदसम्म रोकिने
ज. नयाँ नयाँ लगानीका अवसरको सिर्जना हुने,
झ. आय वितरणमा रहेको असमानतालाई कम गर्न सकिने,
ञ. स्थानीय तहमा रहेको वित्त अभावको समस्याको दीर्घकालीन समाधान गर्न सकिने ।
प्राकृतिक सौन्दर्य, अनुपम संस्कृति, अतुलनीय सांस्कृतिक सम्पदा र अनगन्ती विशिष्टतायुक्त पर्यटकीय स्थलहरूका कारणले नेपाल पर्यटनका लागि प्रमुख गन्तव्य रूपमा विश्वभर परिचित छ । नेपालको ग्रामीण क्षेत्रको पर्यटनमा प्रशस्त सम्भावनाहरू रहेका छन् । तिनको पहिचान गरी समयमै उचित तथा दीर्घकालीन योजना बनाई सफलतापूर्वक कार्यान्वयन गराउनबाट नेपाल सरकार तथा मातहतका कार्यालयहरू नचुकेको खण्डमा नेपाली ग्रामीण पर्यटनले नेपालीहरूको जीवनस्तरमा उल्लेख्य मात्रामा सकारात्मक परिवर्तन ल्याउनेछ । यो कुरालाई विकासवादी अर्थशास्त्रीहरूले प्रस्ट पारेका छन् । तर विडम्बना नेपाली राजनीतिक दलका नेताहरूले स्वदेशको विकासभन्दा विदेशी दाता मुलुकको हितलाई केन्द्रमा राखेर नेपाली युवा पुस्तालाई वैदेशिक रोजगारीमा पठाइरहेका छन् ।
नेपाली ग्रामीण इलाकाहरूलाई हरेक किसिमका पूर्वाधारबाट विकसित र सुविधा सम्पन्न राख्न सकेको अवस्थामा यस क्षेत्रले देशको अर्थतन्त्रमा सकारात्मक तथा दीर्घकालीन प्रभाव पार्न सक्छ । त्यसको प्रत्यक्ष फाइदा स्थानीय स्तरका बासिन्दालाई पर्दछ । यसले स्थानीयस्तरको कला संस्कृति, वेशभूषा संरक्षणमा सचेतना प्रदान गर्दछ । यसबाट महिला तथा पिछडिएका वर्गले समेत प्रत्यक्ष लाभ लिन सक्छन् ।
नेपालमा पर्यटन उद्योगको विकासका लागि ठूलो सम्भावना छ । नेपालमा आफ्नै किसिमको एक अनौठो र विलक्षण भौगोलिक विशेषता पाइन्छ । यस देशमा प्राचीन संस्कृति, कला र कौशलका अनुपम नमुना यत्रतत्र देख्न पाइन्छन् ।
नेपाल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । विश्वका अन्य पर्यटकीय क्षेत्रका तुलनामा नेपालको पर्यटकीय क्षेत्र प्राकृतिक रूपमै सुन्दर छन् । तर तिनको उचित प्रचारप्रसार नहुँदा राज्यलाई बर्सेनि करोडौँ रुपियाँको राजस्व घाटा भइराखेको छ भने वैदेशिक ऋणको भार थपिँदै गएको छ । सन् १७३७ को वर्ष नेपालमा युरोपियनहरू भ्रमणमा आएको इतिहास हाम्रासामु छ । तत्कालीन समयमा उनीहरूले नेपालको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्नका लागि नेपालको भ्रमण गरेको पाइन्छ । नेपाली पर्यटन क्षेत्रको विकासमा १०४ वर्ष जहानियाँ शासन व्यवस्था सञ्चालन गरेका राणाहरूबाट कुनै कदम अगाडि नबढाइएको कुरालाई इतिहासले नै प्रमाणित गरिदिएको छ । त्यसपछि देशमा चलेको सशस्त्र द्वन्द्वले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभावित पर्यो ।
वास्तवमा ग्रामीण पर्यटनलाई उकास्न त्यति सजिलो छैन । त्यहाँ व्याप्त अभाव वा असुविधालाई सम्झेर नै मानिस जाने मन गर्दैनन् । त्यसको लागि यातायात, आवास र खानेकुरा त मूलभूत रूपमै नभई नहुने कुरा हुन् । सुविधायुक्त आवास स्वादिष्ट खाना योजनालाई केही समयको लागि थाँती राखेर भए पनि यातायातको विकास भई नसकेको क्षेत्रमा छरिएर रहेका ग्रामीण क्षेत्रमा पदयात्राका रूपमा पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । त्यहाँको आकर्षणहरूको व्यापक प्रचारप्रसार गर्न सके क्रमिक रूपमा आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक बढाउन सकिन्छ ।
पर्यटन क्षेत्रबाट नेपालमा सन् २०१८ सम्ममा करिब १ लाख ६० हजार मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी पाएका थिए । तर कोभिड १९ का कारण यो क्षेत्र अहिलेसम्म पनि लयमा आउन सकेको छैन ।
ग्रामीण पर्यटकले विभिन्न प्रकारका घरेलु तथा साना उद्योगको विकासमा टेवा पुग्छ । त्यस्ता उद्योगबाट उत्पादित हस्तकलाका सामाग्रीहरू आन्तरिक तथा बाह्य पर्यटकहरूले खरिद गर्छन् । ग्रामीण गरिबी, असमानता, बेरोजगारी, प्राविधिक तथा आर्थिक पछौटेपन जस्ता समस्या समाधान गर्न यसले सहयोग गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन