नेपालमा भूगर्भशास्त्रको पढाइ कस्तो र जागिरको सम्भावना कति ?
अजिरकोट गाउँपालिका– ५, गोर्खाका प्रदीप देवकोटा हाल त्रिभुवन विश्वविद्यालय (त्रिवि)को भूगर्भशास्त्र केन्द्रीय विभागमा जनरल जिओलोजी (एमएससी जिओलोजी) अन्तर्गत स्नातकोत्तर फोर्थ सेमेस्टरमा अध्ययनरत छन् ।
बायोलोजी लिएर प्लस टु गरेका उनलाई एमबीबीएस पढ्ने रहर थियो, तर नाम निस्किएन । त्यही बेला देशमा भूकम्प गयो, भूगर्भशास्त्रीका भनाइ वा विचारहरू मिडियामा छाउन थाले । भूगर्भशास्त्रीको राम्रै प्रभाव देखेर उनले त्रिचन्द्र क्याम्पसबाट जीबीजेड (जिओलोजी, बोटनी र जुलोजी) अन्तर्गत जिओलोजीमा स्नातक गरेका थिए ।
एमएससी जिओलोजीको पहिलो सेमेस्टरमा आफूले पेट्रोलोजी (चट्टानको अध्ययन), मिनरलोजी (खनिजशास्त्र), स्ट्रक्चरल जिओलोजी (संरचनात्मक भूविज्ञान) र प्यालेअन्टोलोजी (जीवाश्मशास्त्र)को आधारभूत ज्ञान लिएको उनी बताउँछन् । यी विषयको अध्ययन गर्दा 'थ्यौरी' र 'प्राक्टिकल' सँगसँगै पढ्नुपर्छ । 'प्राक्टिकल'का लागि आवश्यक चट्टानदेखि साधारण खालको 'ल्याब' क्याम्पसमै उपलब्ध छन् ।
दोस्रो सेमेस्टरमा एप्लाइड जिओलोजी, माइनिङ जिओलोजी र हाइड्रोलोजी (यसमा भूमिगत पानीको बारेमा अध्ययन हुन्छ)मध्ये एउटा छान्न सकिन्छ । प्रदीपले एप्लाइड जिओलोजी रोजे । उनका अनुसार, एप्लाइड जिओलोजीमा सैद्धाान्तिक कुरालाई व्यवहारमा ल्याउन सिकाइन्छ । थर्ड सेमेस्टरमा एप्लाइड जिओलोजी अन्तर्गत 'रक स्लोप इन्जिनियरिङ’, ‘इन्जिनियरिङ जिओलोजी’ लगायत विषय पढ्नुपर्छ । खासगरी ‘रक स्लोप इन्जिनियरिङ’ विषयमा पहाडका भित्ताहरूमा भएका चट्टान, ढुंगामाटो आदिको अध्ययन हुन्छ । यस्तै, इन्जिनियरिङ जिओलोजी अन्तर्गत विकास निर्माण वा भौतिक संरचना बनाउँदा जगको बारेमा अध्ययन गरिन्छ ।
‘फोर्थ सेमेस्टरमा आएर मैले सिस्मोलोजी (भूकम्प विज्ञान) र माइक्रो टेक्टोनिक्सका बारेमा पढिरहेको छु । माइक्रो टेक्टोनिक्समा मिहीन रूपमा ढुंगाको अध्ययन गरिन्छ, यसको अध्ययनबाट हिमाल, पहाड वा जमिनको अवस्थितिको इतिहास हेरिन्छ,’ प्रदीप भन्छन्, ‘मैले माइक्रो टेक्टोनिक्समै थेसिस गर्ने सोच बनाएको छु ।’
नेपालमा भूगर्भशास्त्रसम्बन्धी पढाइ सुरु हुन थालेको आधा शताब्दी नाघ्यो । सन् १९६८ मा त्रिचन्द्र कलेजले स्नातक तहमा भूगर्भशास्त्र पढाउन थालेको थियो । यस्तै, त्रिविअन्तर्गत सन् १९७६ देखि भूगर्भशास्त्रमा स्नातकोत्तर पढाउन थालियो भने सन् १९८६ देखि कीर्तिपुरमा भूगर्भशास्त्र केन्द्रीय विभाग खुलेको थियो ।
अहिले देशभर भूगर्भशास्त्रमा स्नातक गर्ने चार वटा क्याम्पस छन् - त्रिचन्द्र क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र हात्तीसार क्याम्पस धरान ।
त्रि–चन्द्र क्याम्पसका भूगर्भशास्त्र विभागका प्रमुख डा. सुबोध ढकालका अनुसार, त्रि–चन्द्रमा भूगर्भशास्त्रसँग सम्बन्धित विद्यार्थीको संख्या अघिल्ला वर्षहरूको तुलनामा पछिल्ला दुई वर्ष घटेको देखिन्छ । गएको वर्ष एक सय २५ जनाजति र त्यसभन्दा अघिल्लो वर्ष १५० जनाजति विद्यार्थी भूगर्भशास्त्रसँग सम्बन्धित विषय पढ्नका लागि त्रि–चन्द्रमा भर्ना भएका थिए । ‘पछिल्ला दुई वर्षभन्दा अघि दुई सय ५० देखि तीन सयको हाराहारीमा विद्यार्थी भर्ना हुन्थे,’ डा. ढकाल भन्छन्, ‘भूगर्भशास्त्रसम्बन्धी अध्ययन देशका अन्य स्थान र विदेशमा पनि हुने हुँदा संख्या घटेको देखिएको हो ।’
त्रिचन्द्र लगायत चार क्याम्पसबाट भूगर्भशास्त्रमा स्नातक गरेका विद्यार्थी स्नातकोत्तरका लागि भूगर्भशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा जान्छन् । यहाँ दुई विषयमा स्नातकोत्तर गरिन्छ — एमएसी इन्जिनियरिङ जिओलोजी र एमएससी जिओलोजी ।
भूगर्भशास्त्रीले सरकारी जागिर खाने केही निकाय छन् — खानी तथा भूगर्भ विभाग, सिँचाइ विभाग, विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, जल तथा ऊर्जा आयोग, विश्वविद्यालय (भूगर्भशास्त्र पढाइ हुने क्याम्पसमा प्राध्यापकका रूपमा) । यी क्षेत्रमा त्यति धेरै दरबन्दी छैनन् । त्यसैले धेरैले निजी क्षेत्रमा काम गर्छन् ।
भूगर्भशास्त्र केन्द्रीय विभाग त्रिविका विभागीय प्रमुख प्रा.डा. खुमनारायण पौडेलका अनुसार, एमएसी इन्जिनियरिङ जिओलोजी खासगरी भूविपत् अर्थात् भूकम्प, बाढी–पहिरो, भूक्षय वा जमिन भासिनेसँग सम्बन्धित छ । यसमा केन्द्रीय विभागमा २४ जनाको मात्रै कोटा छ । यो विषय त्रिचन्द्र कलेजमा पनि २४ जनाले पढ्न पाउँछन् । कोटा नै कम भएकाले यसमा प्रायः कोटा पूर्ति हुने गर्छ ।
‘एमएसी इन्जिनियरिङ जिओलोजी विषय पढ्नेहरू इन्जिनियर कम र भूगर्भविद् बढी हुन् । यसको कोर्स यस्तो रूपमा डिजाइन गरिएको छ कि यो विषय पढेका विद्यार्थीले इन्जिनियरहरूसँग बसेर काम गर्न सकून्,’ प्रा.डा. पौडेल भन्छन्, ‘यिनीहरूले ढुंगा, चट्टान, माटो आदिको क्षमताबारे अध्ययन गर्छन् । ठूला संरचना बनाउँदा यस्तो अध्ययन अनिवार्य हुन्छ, अन्यथा पछि भासिने वा भत्कने सम्भावना रहन्छ ।’
बाँध, पुल, हाइड्रोपावर जस्ता ठुल्ठूला निर्माण कार्य गर्दा वा टनेल खन्दा सुरुमा भौगर्भिक अध्ययन गरिन्छ, कुनै ठाउँको वस्तुगत अवस्था कस्तो छ, त्यस्तो अध्ययन गर्ने व्यक्तिले एमएसी इन्जिनियरिङ जिओलोजी पढेको हुनुपर्छ ।
यस्तै, एमएससी जिओलोजी अन्तर्गत खानी तथा खनिज अन्वेषण, नक्सांकन आदिबारे अध्ययन गराइन्छ । यो विषय पढ्नका लागि केन्द्रीय विभागमा ५० जनाको कोटा छ । यस वर्ष भने पहिलो सेमेस्टरमा ३६ जना अध्ययनरत छन् ।
एमएसी इन्जिनियरिङ जिओलोजीमा प्रथम वर्ष पहिलो सेमेस्टरमा भर्ना हुन ६७ हजार पाँच सय रुपैयाँ बुझाउनुपर्छ भने एमएससी जिओलोजीमा प्रथम वर्ष पहिलो सेमेस्टरमा भर्ना हुन ५२ हजार पाँच सय रुपैयाँ शुल्क लाग्छ ।
अनुसन्धानमा विद्यार्थी र छात्रवृत्ति
भूगर्भशास्त्र केन्द्रीय विभागले आफ्ना कुल विद्यार्थीमध्ये आधालाई हरेक वर्ष फिल्ड भिजिट गरी थेसिस लेख्नका लागि आवश्यक खर्च दिँदै आएको छ ।
प्रा.डा. पौडेलका अनुसार, बढीमा ५० हजार रुपैयाँ जतिको छात्रवृत्ति दिइन्छ । ‘यसका लागि नास्ट (नेपाल एकेडेमी अफ् साइन्स एन्ड टेक्नोलोजी), विश्वविद्यालय अनुदान आयोगबाट हामीले अनुदान लिन्छौँ,’ प्रा.डा. पौडेल भन्छन्, ‘म आफैँ पालिकाहरूमा गएर सम्झौता समेत गरेको छु । तपाईंको पालिकामा खानी–खनिजको स्रोतको अवस्था के छ, हाम्रा विद्यार्थीले त्यसको अध्ययन गरी नक्सा बनाउँँछन्, यसका लागि तपाईंले केही खर्च दिनुपर्छ भनेपछि कतिपय पालिकाले मानेका पनि छन् । वास्तवमा अनुसन्धान गर्ने विश्वविद्यालयले नै हो, तर हामीलाई त्यस किसिमको सुविधा छैन । अनुसन्धानका लागि ग्रान्ट (अनुदान), छात्रवृत्ति, शोधवृत्ति हामीलाई उपलब्ध छैन ।’
पौडेलका अनुसार, हामीकहाँ खानी तथा खनिज स्रोत सम्बन्धमा गहिरो गरी सबै क्षेत्रको अनुसन्धान अहिलेसम्म हुन नसकेको छैन । हाम्रा प्रायः हिमालहरू पत्रे चट्टानले बनेका छन् भने एउटा मनास्लु हिमाल आग्नेय चट्टानले बनेको छ । सुन लगायत धातुहरू आग्नेय चट्टानमा बढी पाइने सम्भावना हुन्छ । ‘पत्रे चट्टानमा पनि धातुको सम्भावना नहुने होइन तर उच्च हिमाली भेगमा हिउँ नै खोस्रेर गरिने अनुसन्धानका लागि खास बजेटको व्यवस्था सरकारले नै गर्नुपर्छ । यसमा राज्य सधैँ विदेशीको भर पर्नु हुँदैन,’ प्रा.डा. पौडेल भन्छन्, ‘सरकारसँग पाँच वा दशवर्षे नीति तथा योजना र सोही अनुसारको लगानी हुनुपर्छ । सरकारले नेपालकै भूगर्भशास्त्रीलाई काम दिनुप¥यो — हामीसँग कहाँ, कति खनिज स्रोत छन्, त्यसबारे अनुसन्धान गरेर यति वर्षमा पत्ता लगाऊ । यसो गर्ने हो भने नहुने भन्ने भन्ने छैन । एउटा टुंंगोमा हामी पुग्न सक्छौँ ।’
उनका अनुसार, उच्च हिमाली भेगमा विज्ञ टोली गएर महिनौँ टेन्टमा बसेर अनुसन्धान गर्न महँगो पर्छ । कतिपय ठाउँमा हिमालको आरोहण पनि गर्नुपर्छ । ‘विदेशीहरू हप्ता दिन डुलेर एउटा–दुइटा स्याम्पल हेरी यस्तो–उस्तो धातुको सम्भावना छ भनेको भरमा हुँदैन,’ उनी भन्छन्, ‘हामीसँग के कति खनिज छन् भनेर पत्ता लगाउन हाम्रै भूवैज्ञानिकले वर्षौं अध्ययन गर्नुपर्ने हुन्छ ।’
जनशक्ति र रोजगारी
खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाका अनुसार, अहिले देशभर ११ सयजति भूगर्भशास्त्री छन् । भूगर्भशास्त्रीहरूको पेसागत हकहितमा काम गर्ने संस्था (नेपाल भौगर्भिक समाज)मा आबद्धलाई हेरी यो संख्या भनिएको हो ।
भूगर्भशास्त्रसम्बन्धी अध्ययन गर्न कति विद्यार्थी भर्ना हुन्छन् भन्ने एउटा पाटो भयो, कति विद्यार्थीले स्नातकोत्तर गरे भन्ने प्र्रमुख पाटो रहन्छ । भूगर्भशास्त्र केन्द्रीय विभाग र त्रिचन्द्रमा स्नातकोत्तरमा भर्ना हुने विद्यार्थी कोटा ९८ वटा मात्रै छ ।
केन्द्रीय विभागका प्रा.डा. पौडेलका अनुसार, पछिल्ला चार वर्षको तथ्यांक हेर्दा बर्सेनि स्नातकोत्तर गर्नेको संख्या ६५ देखि ७० देखिन्छ । यस वर्ष भने एमएससी जिओलोजीतर्फ भर्ना कम भएकाले विद्यार्थी घट्न सक्छन् । जेहोस्, देशभित्रैबाट बर्सेनि ७० जना भूगर्भशास्त्री तयार हुँदै आएका छन् ।
भूगर्भशास्त्रीले सरकारी जागिर खाने केही निकाय छन् — खानी तथा भूगर्भ विभाग, सिँचाइ विभाग, विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, जल तथा ऊर्जा आयोग, विश्वविद्यालय (भूगर्भशास्त्र पढाइ हुने क्याम्पसमा प्राध्यापकका रूपमा) । यी क्षेत्रमा त्यति धेरै दरबन्दी छैनन् । त्यसैले धेरैले निजी क्षेत्रमा काम गर्छन् ।
भूगर्भशास्त्री तथा त्रि–चन्द्र क्याम्पसका प्राध्यापक तारानिधि भट्टराईका अनुसार, खासगरी हाइड्रोपावर, फास्ट ट्र्याक लगायत ठूला पूर्वाधार बनाउँदा भूगर्भशास्त्रीलाई लिइन्छ । यसबाहेक कतिले आफैँ जिओटेक ल्याब खोलेर घरलगायत संरचना बनाउँदा ढुंगामाटोको परीक्षण गर्छन्, परामर्श दिन्छन् र शुल्क लिन्छन् । कतिपय पीएचडी गर्न विदेश छिर्छन्, केही पढाइ सकेर फर्कन्छन् भने अधिकांशले उतैको बजारमा काम गर्छन् । योसँगै पछिल्लो समय नेपालमै भूगर्भशास्त्रमा स्नातक गरेर स्नातकोत्तर गर्न विदेश जानेहरू बढेका छन् ।
केयुमा माइनिङ इन्जिनियरिङ कोर्स
विश्वविद्यालयले भूगर्भ वा खनिजशास्त्री त उत्पादन गरिरहेकै छ, तर हामीकहाँ ‘माइनिङ इन्जिनियरिङ’को पढाइ नै हुँदैन ।
खानी तथा खनिज यहाँ छ, यस्तो–उस्तो छ भन्ने भूगर्भशास्त्रीले पत्ता लगाइदिन्छन्, त्यसलाई उत्पादन गर्न खनिज (माइनिङ) सम्बन्धी पढेको इन्जिनियर चाहिन्छ, तर हामीकहाँ खनिज उद्योगहरू नभएकाले यो जनशक्तिले काम पाउँदैन र यसको पढाइ भइरहेको थिएन । किन ? ‘माइनिङ इन्जिनियरिङमा हामीकहाँ अहिले स्कोप त्यति छैन,’ विभागकी प्रवक्ता झा भन्छिन्, ‘किनभने खनिज उद्योग नै हामीकहाँ त्यति विकास हुन सकेका छैनन् ।’
अहिले खानी विभागमा माइनिङ इन्जिनियरिङको चार वटा दरबन्दी छ, जसमध्ये जनशक्ति नहुँदा दुईवटा खाली छ । नेपालमै माइनिङ इन्जिनियरिङको पढाइ नभए पनि पहिले नेपालबाट आइएससी गरेपछि विदेश पढ्न जाने अवसर मिल्थ्यो । यसरी जानेमध्ये केहीले माइनिङ इन्जिनियरिङ पढेर आउँथे । पछि यस्ता किसिमका छात्रवृत्ति बन्द भए र जनशक्ति घट्दै गयो ।
यो विषय त्रिविले नै पढाउन किन सकेन ? ‘यो एक त इन्जिनियरिङ विषय हो, यसलाई इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका कलेजमा पढाउनुपर्छ,’ प्रा.डा. पौडेल भन्छन्, ‘त्यसैले हामीले यसलाई पढाउन वा पाठ्यक्रम बनाउनै पाउँदैनौँ ।’
यही वर्षदेखि काठमाडौं युनिभर्सिटी (केयु)ले स्नातक तहमा माइनिङ इन्जिनियरिङ कोर्स सञ्चालन गर्दै छ । केयुको सिभिल इन्जिनियरिङ विभागका प्रमुख श्यामसुन्दर खड्काका अनुसार, माइनिङ इन्जिनियरिङ अध्ययनका लागि यही वर्षदेखि ३० विद्यार्थी भर्ना गर्ने तयारी केयुको छ । ‘अहिले हामीले भर्ना खोलिसकेका छौँ । विद्यार्थीहरूको आवेदन आइरहेको छ,’ उनले भने, ‘यसपालि हामीले भर्ना भएका सबै विद्यार्थीलाई ५० प्रतिशत शुल्क छुट दिनेछौँ ।’