मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
नाबालक बन्दी फरार प्रकरण

बालसुधार गृहबाट कसरी भागे २२१ नाबालक बन्दी ?

सोमबार, ०४ भदौ २०८०, २२ : ५५
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । ‘नाबालक बन्दी’ कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि उनका आफन्त र नातेदारले भक्तपुरको सानो थिमिस्थित बाल सुधार गृह अगाडी प्रदर्शन शुरु गरे । रामेछापको मन्थली घर भएका १८ वर्षीय बस्नेत अदालतको आदेश अनुसार २०७७ देखि बालसुधार गृहमा थिए । 

घटना छानबिन गर्न भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय समिति आइतबार नै बनेको थियो । उनको मृत्युको कारण खुलेको छैन् । प्रहरी पोष्टमार्टम रिपोर्ट पर्खेर बसेको छ । तर, बस्नेतका आफन्त सोमबार पनि १०–१२ जना सुधार केन्द्र अगाडी भेला भएका थिए । 

‘नाबालक कैदी’हरुले सुधार गृह प्रशासनलाई कमल बस्नेत बिरामी भएको कुरा समयमा भनेपनि ‘बेवास्ता’ गरेको कारण मृत्यु भएको भन्दै विवाद निकाले । सुधार गृह ब्यवस्थापन गर्ने जिम्मा लिएको संस्था युसेप नेपालको गाडी नभएर ट्याक्सीमा कमललाई अस्पताल लैजानुपरेको र मृत्यु भएको भन्दै सुधार गृहभित्रै नाबालकहरुले विवाद गर्न थालेपछि त्यहाँ खटिएका प्रहरीले थप मद्दत मागेका थिए ।

 सुधार गृहमा प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा २० जना प्रहरी खटिएका छन् । तर, ती प्रहरी सादा पोशाकमा खटिनुपर्छ, हतियार बोक्न पाउँदैनन् । उनीहरुले सुधार गृहको ‘पेरिमिटर सुरक्षा’को मात्रै जिम्मा लिएका हुन्छन् । 

कारागार व्यवस्थापन विभाग मातहत रहेको बाल सुधार गृहको व्यवस्थापन युसेप नेपाल नामको निजी संस्थाले लिएको छ । ‘विवाद’ भएको खबर आएपछि प्रहरी वृत्त थिमिका इन्स्पेक्टर सन्जिव ओली टोली लिएर सुधार गृहमा गए । सुधार गृहभित्र छिरेर इन्स्पेक्टर सन्जिव विवादबारे बुझदै थिए । अचानक ढुंगामुढा गर्दै नाबालक बन्दीहरु गेटबाट बाहिर निस्किए । 

बालबालिकालाई लाठीचार्ज गर्न र हतियार प्रयोग गर्न नपाइने हुनाले प्रहरीले कारबाही गर्न सक्ने अवस्था नै नभएको बताउँछन् भक्तपुरका एसपी प्रजित केसी । एसपी केसीले भने–‘ प्रहरी वृत्त थिमीको डीएसपी नेतृत्वको टिम पनि तत्काल पुगेको थियो तर, करिब ३ सय जना नाबालकलाई रोक्ने अवस्था नै नहुँदा उनीहरु भागेका हुन् ।’ 

युसेपले समयमा अस्पताल जान गाडीको व्यवस्था नगरेको र औषधि उपचारमा भेदभाव गरेको उनीहरुको गुनासो थियो । त्यहि गुनासोले विवादको रुप लिँदा काठमाडौँ उपत्यकामा एकैछिनमा २ सय २१ नाबालक कैदी खोज्न प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएको थियो । 

विवाद मिलाउन गएका इन्स्पेक्टर ओली सहितका १० जना प्रहरी र ८ जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् । १२ जना नाबालक बन्दी घाइते भए ।  भागेका मध्ये २३ जना नाबालक बन्दी सम्पर्कमा नआएको र खोजी भइरहेको उपत्यका प्रहरी कार्यालयका डीआइजी लालमणि आचार्यले बताए । 

बन्दीहरुले तोडफोड गरेका कारण अहिले पक्राउ गरिएकाहरुलाई त्यहाँ लगिएको छैन । सुधार गृहमा भएका २९६ जनामध्ये ७५ जनाचाहिँ भागेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप