शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

एउटै बोटमा चारप्रकारका आँप

शुक्रबार, ०९ चैत २०७४, १२ : ०६
शुक्रबार, ०९ चैत २०७४

दीपेन्द्र राई/सयन्द्र राई 

सल्ले (खोटाङ)– सल्लेपोखरीबाट तल्लो चिचिङ्गा लाग्यौं । हलेसी–तुवाचुङ नगरपालिका–९ सल्ले वडाअध्यक्ष काशीराज राई, वडासदस्य गणेश पौडेल, नगरपालिकाका कम्प्युटर सहायक सयन्द्र राई र पंक्तिकारलाई मोटरसाइकलमा तल्लो चिचिङ्गा पुग्न २५ मिनेट लाग्यो । 

‘त्यही हो,’ वडाअध्यक्ष राईले देखाए, ‘किराती आदिपुरुष रैछाकुलेले रोपेको आँप त्यही हो ।’ उनले त्यसो भनिरहँदा स्थानीय लीलबहादुर राई (७५) आइपुगे । ‘खै हजुर, रैछाकुलेले रोपेको आँप रे भनेको सुनेको,’ लीलबहादुरले थपे, ‘हामीले पनि पुर्खाबाट सुनेका हौं ।’

कुराकानी चलिरहेको थियो । त्यहीं भेटिए– स्थानीय रामबहादुर राई (५८) । आँपबारे रामबहादुर राईको बुझाइ लीलबहादुर राईको भन्दा फरक थिएन । रामबहादुरले सुनाए, ‘आदिपुरुषले रोपेको भनिएको आँप त्यत्तिकै अनौठो छ । एउटै आँपको उत्तरपट्टि सुपारे (सुपारीजत्रो) आँप फल्छ । दक्षिणपट्टि सिन्दुरे (सुपारीभन्दा अलि ठूलो लाम्चो आकारको) फल्छ भने पश्चिमपट्टि लोहोरे र टुप्पामा बम्बई आँप फल्छ ।’ 
स्थानीयको भनाइ सुन्दा जोकोहीलाई अचम्म लाग्छ । वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले एउटै बोटमा चारप्रकारको आँप फलेको आफूलाई थाहा नभएको बताए । 

केन्द्रीय वागबानी केन्द्र कीर्तिपुरप्रमुख वासुदेव सुवेकीका अनुसार एउटै बोटको प्रत्येक हाँगामा कलमी गरेर फरक–फरकखालका आँप फलाउन सकिन्छ । 

रैछाकुलेले रोपेको आँपमा कलमी गरिएको छैन । तर, स्थानीयले चारप्रकारका आँप खाँदै आएका छन् । पहिले–पहिले आँप बाक्लै फल्थ्यो । हिजोआज आँप पातलो फल्छ । छेउमै बाँसघारी रहेकाले आँपलाई असर पारेको स्थानीयको बुझाइ छ । आँप जोकोहीले टिपेर खाने गर्छन् । रोकतोक छैन । ‘आँपबारे सोधिखोजी गर्दै सञ्चारकर्मी तल्लो चिचिङ्गा आउन थालेपछि यसको महत्व थाहा भयो,’ रामबहादुर राईले खुसी व्यक्त गरे, ‘अब संरक्षण गर्न लाग्छौं ।’

आँपको उत्तरपट्टि रैछाकुले (कतिपयले खोक्चिलिपा भन्छन्) ले भालाले घोचेर पानी निकालेको ठाउँ छ । लामो समय पानी नपरेपछि भालाले हानेर उनले पानी निकालेको किंवदन्ती छ । ‘त्यहाँ पहिले ढुंगेधारा थियो,’ रामबहादुरले प्रस्ट्याए, ‘त्यसलाई मासेर पानी संकलन गर्ने ट्यांकी बनायौं । ट्यांकीनजिकै रहेको ढुंगेधारालाई विकसित धारा बनायौं । पछि थाहा भयो त्यसो गर्नुहुँदैनथ्यो ।’ आदिपुरुषले पानीको मुहान सिर्जना गरेकाले त्यसलाई रैछाकुले धारा भनिन्छ । कुराकानीक्रममा लीलबहादुर बोले, ‘आदिपुरुषले रोपेको आँप, बनाएको धारा र समाधि हाम्रै गाउँमा देख्दा उनी यतै कतै छन् कि जस्तो लाग्छ ।’
धाराछेउमै आहाल छ । यसलाई पोखरीमा परिणत गर्न स्थानीय कस्सिएका छन् । पोखरीवरिपरि बगैंचा बनाउने योजना छ । छेउछाउमा बिरुवा रोपिनेछ । पूर्वपट्टि वैशाखे पूर्णिमा (उँभौली) र मंसिरे पूर्णिमा (उँधौली) साकेला नाच्ने मैदान निर्माणाधीन अवस्थामा छ । 

आँप र धारा रहेको उत्तर–पश्चिममा पाँच मिनेट पैदल दूरीमा रैछाकुलेको समाधिस्थल रहेको छ । स्थानीय दलबहादुर राईको बारीमा रैछाकुलेको समाधिस्थल रहेको हो । ‘कटहरको फेदतिर संकेत गर्दै सुर्जबहादुर राई (६९) ले देखाए, ‘यहीं वरिपरि रैछाकुलेको समाधिस्थ रहेको थियो । बारी बनाउनेक्रममा समाधिस्थल पुरियो ।’

तल्लो चिचिङ्मा किराती आदिमहिला तायामा र खियामाले धान रोपेको खेत रहेको छ । धान कुटेको ओखल पनि छँदै छ । सल्लेको तल्लो चिचिङ्गामा आदिपुरुष र महिलाले छाडेको प्रतीक रहँदा स्थानीय गौरवान्वित छन् । ‘पुर्खाले छाडेको ऐतिहासिक प्रतीक संरक्षण गर्न स्थानीयसँग छलफल चलिरहेको छ,’ हलेसी–तुवाचुङ नगरपालिका–९ सल्ले वडाध्यक्ष काशीराज राईले भावी योजना सुनाए, ‘किरातीको उद्गमस्थल र ऐतिहासिक प्रतीक संरक्षण गर्दै पर्यटकीयस्थल बनाउने प्रयास भइरहेको छ । त्यसैका लागि नगरस्तरीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप